‘यो गर्छु, त्यो गर्छु भन्ने नेताका अनुहार देख्दा उदेक लाग्छ’

आफू बाँच्न राम्रोसँग काम गर्न पाए हुने जस्तो लाग्छ । तर, दम र शरीरका कारण धेरै हिँडडुल गर्न सक्दिन् । चिसो सहन पनि गाह्रो भइहाल्छ ।

माघ २५, २०८२

नरबहादुर दर्जी

”It's amazing to see the faces of leaders who say 'I'll do this, I'll do that'”

What you should know

सिन्धुपाल्चोक — लामो समयदेखि मलाई दमको समस्या छ । धेरै हिँडडुल गर्न पनि मुस्किल पर्छ । जसोतसो शरीर घिसारिरहेको छु । राम्रोसँग आँखा देख्दिन् । अब त बुढेसकाल पनि लाग्यो । बस्नलाई पुरानै भए पनि एउटा घर छ । भूकम्प र पराकम्पनका कारण घर हल्लिएकाले कमजोर छ ।

कच्ची घर बनाए पनि त्यस्तो डरमर्नु अवस्था छैन । सम्पतिका नाउँमा दुई वटा कल र केही थान कपडा छन् । गाउँघरबाट कपडा सिलाउन आइरहन्छन् । तिनै कपडा सिलाए वापत अलिकति कमाई हुन्छ । त्यसमाथि भत्ताले भरथेग हुन्छ । 

बलेफी गाउँपालिका जलविरे पुरानो बजारमा मेरो घर छ । अहिले म ८१ वर्ष लाग्न लागे । बुवा–आमाबाट कल चलाएर कपडा काट्न र चलाउन सिके । सिलाइ बुनाइको काम पनि सिके । अनि यही जिन्दगी जिउने सहारा बनेको छ । आहिलेसम्म यसलाई छाड्न पनि सकेको छैन् । तर, पहिलेजस्तो जाँगर र उत्साह छैन् । पुर्ख्यौंली पेशा भएकाले सिलाइको कामबाहेक जानिएन । आर्थिक अभाव बीच हुर्किएका हाम्रा लागि त्यतिबेला पढाइ त धेरै परको कुरा भइहाल्यो । पहिले पहिले त धेरै अभाव वेर्होनु पर्थ्यो । भात खान दसैं कुर्नुपर्थ्यो । अनि त पढने कुरा त परको विषय भइहाल्यो । अहिले त्यस्तो छैन् । 

उ बेला दाजुभाईले थिचोमिचो गरे । त्यो कुरा सम्झिँदा मन दुख्छ ।  छोरा–बुहारी खेती किसानी गर्छन् । उनीहरुको कमाइ पनि गतिलो छैन् । घर चलाइरहेका उनीहरुको कमाइमा कति दिन बाँच्ने होला भनेर कहिलेकाँही दिक्क लाग्छ । आफू बाँच्न राम्रोसँग काम गर्न पाए हुने जस्तो लाग्छ । तर, मेरो भाग्य दम र शरीरका कारण धेरै हिँडडुल गर्न सक्दिन् । धेरै चिसो सहन पनि सक्दिन गाह्रो भइहाल्छ, के गर्ने ? यही घरमा भए पनि चिसोले कठ्यांग्रिदो चिस्यान केन्द्र जस्तै बनाउँछ । सातामा एक जोर कोट, दौरा सुरुवाल सिउँछु ।

कपडा सिलाए वापत दिनमा चारदेखि पाँच सय कमाउँछु । अनि त्यसबाहेक सामाजिक सुरक्षा भत्ता पनि मिलिरहेको छ । दम रोगी भएकाले नियमित औषधि खानुपर्छ । तीन महिनामा २/३ हजार त औषधि खर्च हुन्छ। बत्ती र पानीको बिल पनि तिर्नुपर्यो । यो भन्दा पनि ठूलो रोग लाग्यो भने के गर्ने होला भनेर मन खिन्न हुन्छ । त्यस्तो खान नपाउने अवस्था पनि छैन् तर उल्का सुख पनि छैन् । महिनाभर रासनपानी दायाँबायाँ चार हजार जति खर्च हुन्छ । 

मेरो पनि अरुको जस्तै मन त छ नि । काठमाडौंको अस्पतालमा गएर नियमित स्वास्थ्य जचाउन मन लाग्छ । उमेर अनुसार तीर्थ ब्रत पनि गर्ने बेला हो । यी सबै गर्नलाई पैसाको कुरा आउँछ । सपना भएर मात्रै नहुने रहेछ। देखेको नहुने रैछ लेखेको चाहिने रहेछ । अहिले प्रतिनिधिसभाको चुनाव चलिरहेको छ । अनेक नेता भोट माग्न घरमा आइपुग्छन् । उनीहरुको अनुहार देखेर उदेक लाग्छ । नेताहरु सबै फटाहा मात्रै हुनजस्तो लाग्छ, यो गछुै त्यो गर्छु भन्छन् । अनि जितेपछि नाकमुख देख्न पाइन्न । आफ्नो दुःख आफैसँग छ कस्लाई सुनाउनु र । जसले हामीजस्ता गरिब गुरुवालाई हेर्छ त्यसलाई भोट दिने हो ।

प्रस्तुति: अनिश तिवारी 

नरबहादुर

Link copied successfully