‘हरेक दिन तीन सय रुपैयाँ कमाई नगरे घर चल्दैन’

दिनभरि बुढीले खोलाबाट बालुवा थुपार्ने र मैले बोरामा हालेर बोकेर बाटोमा पुर्‍याउँछु । एक बोराको ठेकेदारले ४० रुपैयाँ मात्र दिन्छन् । त्यही बालुवा बेचेको पैसाले बेलुका र बिहानको खाना पाक्छ । कहिलेकाँही बिरामी पर्छु । बालुवा उठाउन सकिन भने बुढाबुढीलाई खाने खर्च हुँदैन ।

फाल्गुन ५, २०८२

जीतबहादुर रेगामी

'If you don't earn three hundred rupees every day, you won't be able to run your house'

What you should know

बुटवल — उमेर त ठ्याक्कै थाहा छैन् । अन्दाजी ६४/६५ वर्षको भए हुँला । पुर्ख्यौली घर पाल्पा हो । अहिले बुटवलको रंगशाला पछाडि एमजी टोलमा बसिरहेको छु । मेरा दुई छोरा थिए । उनीहरुले छाडेर गए । हामी बुढा–बुढीलाई हेरेनन् ।

श्रीमती सुन्तली ५७ वर्षकी भइन् । सुन्तली पनि बिरामी छन् । सधैं काम गर्न सक्दिनन् । कहिले कांही सँगै पनि गर्छौं ।  दिनभरी तिनाउ खोलामा बालुवा बटुलेर चाल्ने गरेको छु । बालुवा चालेर सफा भएपछि बोरामा हालेर बिक्री गर्छु । यसैबाट दुई जनाको घर खर्च चलिरहेको छ । 

श्रीमती दम रोगी भएकाले बालुवा उठाउन सक्दिनन् । त्यसैले साँझ–बिहान खाना पकाउने दाउरा बटुल्छिन् । धेरै चिसो भयो भने मेरो अनुहार पनि पूरै फुलिन्छ । तैपनि काम नगरे बिहान–बेलुका बुढाबुढी भोकै बस्नु पर्छ । बस्ने बास छैन् । पुराना टिनले छाएको र फाटेका सिमेन्टका बोराले बारेर बनाएको छाप्रो छ । गहिरिएपछि खोलाले नै छाडेको थुप्रोमा टिन र बोरा हालेर बस्न त्यही छाप्रो बस्न लायक बनाएका छौं ।

हाम्रो संसार भनेकै त्यही छाप्रो हो । दिनभरि बुढीले खोलाबाट बालुवा थुपार्ने र मैले बोरामा हालेर बोकेर बाटोमा पुर्‍याउँछु । ट्याक्टरवाला र ठेकेदार आएर किनेर लैजान्छन् । दिनमा ५ देखि ७ बोरासम्म बिक्री गर्छु । एक बोराको ५० रुपैयाँ पर्छ । त्यही पनि ठेकेदारले ४० रुपैयाँ मात्र दिन्छन् । त्यही बालुवा बेचेको पैसाले बेलुका र बिहानको खाना पाक्छ । अहिले चामल पनि महंगो हुँदै गएको छ । कहिलेकाँही बिरामी पर्छु । बालुवा उठाउन सकिन भने बुढाबुढीलाई खाने खर्च हुँदैन । श्रीमतीले दमको दवाई खुवाउनु पर्छ । पैसा नहुँदा दुवैले आफ्नै जिन्दगी धिक्कार्छौं ।

पाल्पाको रैनादेवी छहराबाट बुटवल आएको पनि ४३ वर्ष भइसक्यो । दुई छोरालाई दुःख गरेर हुर्कायौं । एउटा छोरो ड्राइभर भएको छ । अर्को इन्डियातिर गएको छ । दुवैले बिहे गरेपछि हामीलाई हेरेनन् । अहिले त भेट्न पनि आउँदैनन् । पहिला सुकुम्बासीमा जग्गा बारेर बसेका थियौं । जेठो छोरा रमेशले हटायो । अनि रंगशालामा आएर दुई महिना प्रतिक्षालयमा बस्यौं । पछि मैले टिन खोजेर ल्याउने र बुढीले खाँबो गाडेर बारबेर गरिकन बस्न थाल्यौं । यसरी बस्न थालेको पनि १३ वर्ष भयो । नगरपालिकाबाट पुलिस आएर छोड भन्छन् । त्यो ठाउँ छाडेर कहाँ अन्त कहाँ जानू ? बरु हामीलाई नै लैजानुस् भन्छौं अनि जान्छन् । 

बिहान ११ बजेदेखि नै बालुवा उठाउँछु । पहिला त बालुवा पनि अलि धेरै निस्किन्थ्यो । अहिले त दिनमा ५ बोरा पुर्‍याउनै मुस्किल हुन्छ । दिनमा कहिलेकाँही ५ सय हुन्छ । नभए तीन/चार सय मात्र हो । त्यही पैसाले एक माना चामल किन्छु । अलिकति तरकारी, नुन, बेसार, मसला किनेर पकाएर खान्छौं । कहिलकाँही बचेको पैसा पनि केटाहरु आएर खोसेर लैजान्छन् । हामी बुढाबुढी केही गर्नै सक्दैनौं । हरेक दिन ३ सय रुपैयाँ भए घर खर्च चल्छ । केटाहरुले खोस्न थालेपछि बचेको पैसा नजिकै होटल गरेकी सीतालाई राख्न दिन्छु । अहिलेसम्म ६ हजार पुगेको छ । बिरामीपर्दा डाक्टरलाई दिने र बुढीको दमको औषधि किन्न बचत गरेको हुँ । मलाई मेरो भन्दा पनि बुढीको चिन्ता लाग्छ । पहिला मैले भन्दा धेरै दुःख गरेकी हो । 

पोहोर साल यसरी नै उठाएको बालुवा एउटा होटल वालाले ५० बोरा उठाएर लग्यो । पैसा भोलि दिन्छु भनेको थियो । तर, अहिलेसम्म पनि दिएको छैन् । मगरघाट नजिकैको शान्तिचोकमा खाजा नास्ता होटल छ भनेको थियो । मैले खोज्न गए भेटाइन् । अहिलेसम्म पनि ५० बोरा बालुवा लगेको पैसा नदिएर दुःख लागेको छ । अब खोज्न कहाँ जाने देखे पनि चिन्दैन होला । अब अरु गर्न पनि सक्दैनौं । बालुवा बेचेरै खाने हो । मर्ने बेला दुःख नपाए हुन्थ्यो । 

प्रस्तुति: घनश्याम गौतम

जीतबहादुर रेगामी

Link copied successfully