‘कृषि विकास बैंकको १५ हजार रिनले उद्योगी बनायो’

जिमिजग्गा जोड्न नसके पनि छोराछोरी पढाउन पाएको छु । आफूलाई केही खान मन लागेमा किनेर खान पाएको छु । छोराछारीको इच्छा पूरा गर्न पाएको छु ।

माघ २३, २०८२

गेदलाल सार्की

'15,000 rins from the Agricultural Development Bank made an industrialist'

What you should know

सल्यान — सानैदेखि पढाईमा रुची थियो । मन भएर के गर्नु, धनले साथ दिएन । मैले ५ कक्षा भन्दा धेरै पढ्न पाइनँ । गुजारा चलाउन बुवाले घरमै छालाका जुत्ता सिलाउने काम गर्नुहुन्थ्यो । स्कुल टुटेपछि मैले पनि बुवालाई सघाउन थाले ।

अलिअलि गर्दागर्दै जुत्ता सिलाउने काम सिके । बुवाले जसोतसो निर्वाह गर्नुभएको थियो । त्यसरी धेरै कमाई हुन्थेन । त्यसैले आर्थिक अवस्था सुधार्न जुत्ता पसल खोल्न चाहन्थे । मनले चाहेर मात्र भएन । लगानी गर्न आफूसित पैसा थिए । सघाउने कोही भएन । 

घरमै बसेर आम्दानी नहुने भएपछि पैसा कमाउन १८ वर्षको उमेरमा ०३२ सालमा भारतको शिमला गए । त्यहाँ १० वर्ष बसे । छालाको जुत्ता सिलाउने कामसँगै मजदुरी गरे । धेरै कमाउन सकिनँ । खान बस्न ठिक्क भयो । त्यसपछि घर फर्के । गाउँ आएपछि त्यसबेलाका कृषि विकास बैंकका हाकिमले मेहनती रहेछौ, व्यवसाय गर्ने भए बैंकबाट ऋण लैजाउ भनेर १५ हजार रुपैयाँ दिनुभयो । त्यही पैसाले ०३८ सालमा सामान्य पसल सुरु गरे। पुर्ख्यौली पेसालाई व्यावसायिक रुपमा अगाडि बढाउन ०४५ सालतिर बालकृष्ण छालाजुत्ता उद्योग दर्ता गरे । अलिअलि गर्दा गर्दै त्यही पसलले मलाई व्यवसायीका साथै उद्योगी बनाएको हो। 

०३८ सालबाट सुरु गरेको व्यवसायलाई अहिले एक्लै निरन्तरता दिइरहेको छु । उद्योग सञ्चालन गरेपछि अहिले पनि महिनामा १ लाख २० देखि १ लाख ५० हजार रुपैयाँका जुत्ता चप्पल बिक्रि गर्दै आएको छु । अहिले म ६८ वर्षको भएँ । ८ जनाको परिवार छ । उद्योगबाटै कमाएको रकमले परिवारलाई खर्चपर्च पुगेको छ ।  पुरानो ऋण तिरिरहेको छु । उद्योगमा अहिले एक जनालाई पनि रोजगारी पनि दिएको छु । 

परिवारलाई ५ हजार बराबरको ५० किलो चामल, ३ हजारको तरकारी, एक हजारको नुन, तेल किन्न, ४ हजारको मासु, औषधि उपचार, टेलिफोनलगायतमा ७ हजार गरी महिनामा २० हजार खर्च लाग्छ । उद्योगमा एक जना मजदुर राखेको छु । जसलाई महिनामा १८ हजार पारिश्रमिक दिँदै आएको छु । महिनामा ३ हजार  कोठा भाडा तिर्छु । उद्योगमा प्रयोग हुने सामान, विजुलीलगायत अन्य गरी महिनामा ४० हजार जति बचाउँदै आएको छु । उद्योग संचालन गर्दा १५ लाख बराबरको ऋण लिएको थिए । उद्योगबाट कमाएको रकमले बैंकको ऋण समेत तिर्दै आएको छु । 

हुन त मेरो उमेर घरमा बसेर आराम गर्ने हो । छोरीहरुको बिहे भइसक्यो । छोरा–बुहारी आफ्नै काममा लागेका छन् । उनीहरुले पुर्ख्यौली पेसालाई बेवास्ता गरेकाले अहिले म एक्लै बिहानदेखि खटिएर उद्योगमा जुत्ताचप्पल सिलाउने काम गरिरहेको छु । विगतमा परम्परागत विधिबाट जुत्ताचप्पल सिलाउने गर्थे ।

अहिले आधुनिक मेसिनबाट सिलाउने गर्छु । विगतमा एउटा जुत्ता सिलाउन तीन दिनसम्म लाग्ने गर्थ्यो । अहिले एकै दिनमा मेसिनको प्रयोग गरेर दुई वटा बढी सजिलै सिलाउन सकिन्छ । तर, सदरमुकाम खलंगामा बाहिरबाट आउनेको संख्या हवात्तै घटेको र सर्वसाधारण आधुनिक जुत्ता, चप्पलमा उत्साहित भएकाले पहिलाको तुलनामा ब्यवसाय खस्केकाले सोचे अनुसार कमाई गर्न सकिएको छैन ।  

विगतमा घरको आर्थिक अवस्था कमजोर हुँदा आफुले पढन पाइनँ । मासु खान, नयाँ लुगा लगाउन चाडपर्व कुर्नुपर्थ्यो । केही किनेर खाउ भने पैसा हुँदैनथ्यो । अभावै अभावमा जीवन विताउनु पर्‍यो । जिमिजग्गा जोड्न नसके पनि आफुले जुत्ता चप्पल उद्योग गरेपछि छोराछोरी पढाउन पाएको छु । आफूलाई केही खान मन लागेमा किनेर खान पाएको छु । छोराछारीको इच्छा चाहना पूरा गर्न पाएको छु । धेरै कमाउन नसके पनि घरपरिवारको आवश्यकता पूर्ति गर्न सकेकोमा यसमै खुसी छु ।   

०७० सम्म व्यवसाय राम्रै थियो । उद्योगमा चार जनासम्म मजदुर राखेको थिएँ । संघीयता पश्चात खलंगामा मानिस आउन छाडे । कोरोना महामारीले गर्दा उद्योगमा धेरै असर परेको छ ।     विगतको तुलनामा कमाई ठयाक्कै आधा व्यापारा घटेको छ । आफू उमेरले ६८ वर्ष पुगे पनि पुर्ख्यौली पेसालाई ब्यवसायमा परिणत गरे घरमै रोजगारी पाउन सकिने मात्र नभई राम्रो कमाई गर्न सकिन्छ र रोजगारीको लागि विदेश जानु पर्दैन भन्ने देखाउन ब्यवसायलाई निरन्तरता दिइरहेको छु।

   प्रस्तुति: विप्लव महर्जन

गेदलाल सार्की

Link copied successfully