साइकल मर्मत गर्न आउनेको कमी छैन । तर, आवश्यक सामान अभाव भएपनि साइकल बनाएर गुजारा चलाएको ४० वर्ष भइसक्यो ।
What you should know
कपिलवस्तु — बुढ्यौली लागेपछि जवानीमा जस्तो नहुँदो रहेछ । ९ जना नातिनातिनाको हजुरबुबा हुँ । अहिले पनि जोसका साथ काम गरिरहेको छु । छोराले पढ्न सकेनन् । बल गरेर पढाउने मेरो हैसियत पनि भएन । त्यसैले त हात पाउ नचलाएसम्म एक छाक खान पनि मुस्किल छ ।
कृष्णनगर नगरपालिका–११, रामनगरमा बसोबास छ । अहिले म ६१ वर्षको भएँ । तनले आराम खोजे पनि मनले काम नगरी बस्न मान्दैन । बिहान उज्यालो भएदेखि साँझसम्म काममै खटिन्छु । मैले जानेको भनेको साइकल मर्मत गर्न मात्रै हो । यही काम गरेर परिवारका २१ जनाको रेखदेख गरेको छु ।
कृष्णनगर नगरपालिकाको झिङहा चौराहामा मेरो साइकल मर्मत गर्ने पसल छ । बहादुरगन्ज–मधुनगरा हुलाकी सडक र कृष्णनगर–शिवगढी आरटीओ कालोपत्रे सडकमामा चौराहा रहेको छ । कपिलवस्तुको पश्चिमी क्षेत्रमा चल्तीको चौराहा हो । साइकल मर्मत गर्न आउने ग्राहकको कमी छैन । तर, साइकलका लागि आवश्यक सामानको अभाव छ । तैपनि साइकल बनाएर गुजारा चलाएको पनि ४० वर्ष भइसक्यो ।
३०/४० हजार बराबरका साइकलका समान मौज्दात राख्न सकेको छैन । काठको टंकी छ । त्यसैमा पेचकस, पिलास, रिन्ची र हथौडा लगायत मर्मत उपकरण राखेको छु । धेरथोर टायर, ट्युब, रिङ, चेन, स्ट्यान्ड र पाइडल लगायतका सामान राख्छु । त्यसैबाट दिनभरि काम गरेर अलिकति रकम जोहो गर्छु । नुन–तेल किन्छु । बचेको रकमले तत्काल चाहिने समान किन्छु । दैनिक ८ सयदेखि एक हजारसम्म कमाइ हुन्छ । कहिलेकाहीँ दिनकै दुई हजारसम्म पनि कमाइ हुन्छ । त्यसबेला खुसी हुन्छु ।
महिनाको १८/२० हजार जति कमाउँछु । त्यसले २१ जनालाई खर्च पुर्याउँछु । कहिलेकाहीँ त दुई चार हजार बचत हुन्छ । मेरा ६ छोरा छन् । पढ्न सकेनन् । एउटाले १२ कक्षा पढेर छाड्यो । चार जनाको विवाह भइसक्यो । अहिले ७ नाति र २ नातिनी छन् । ५ जनालाई सौनहवा स्कुलमा पढाइरहेको छु । उनीहरू २ देखि ७ कक्षासम्म पढ्छन् । छोराहरूले नपढे पनि नातिनातिनालाई पढाउने अठोट गरेको छु । दुई छोरा शिवकुमार र अर्जुनले साइकल बनाउन सघाउँछन् । हामी २१ जना सगोलमा छौं ।
२० वर्षको उमेरबाट साइकल बनाउँदै आएको हुँ । दत्तपुरका एक जना आफन्तसँग झिङहा चौराहामा साइकल बनाउन सिकेको हुँ । अहिले साइकल बनाउने मिस्त्रीका रूपमा मेरो नाम चलेको छ । मलाई साइकल बनाउन सिकाउने व्यक्तिचाहिँ २/३ वर्षपछि नै साइकल बनाउन छाडेर ट्युबवेल गाड्ने कामतिर लागे । सिक्दै, जान्दै काम गरिरहँदा अहिले सजिलो–गाह्रो सबै काम आफैं गर्छु । समय धेरै परिवर्तन भयो । तीन दशकअघि एउटा पन्चर टालेको एक रुपैयाँ लिन्थेँ । अहिले २५ रुपैयाँ लिन्छु ।
नयाँ ट्युबको १६ रुपैयाँ मूल्य थियो । अहिले २ सय २० रुपैयाँ पुग्यो । टायरको ४५ रुपैयाँ लिन्थेँ । अहिले ४ सय ५० रुपैयाँ भइसक्यो । समानको मूल्य बढेपनि मेरा दुःख पीडा भने ज्युँका त्युँ छन् । कुनै परिवर्तन आएको छैन । अभाव, समस्या र गरिबीले छाडेको छैन । अरू इलम जानेको छैन । लगानी थपेर पसल ठूलो बनाउने इच्छा छ । ठूलो परिवार हुँदा आफूसँग भएको एक बिघा खेतको अन्नपातले पुग्दैन । थप एक बिघा खेत बटैयामा गरेको छु । धान र गहुँ किन्न पर्दैन ।
तीन/चार वर्ष भयो, दुई छोरा कमाइ गर्न सक्ने भएका छन् । एउटा छोरा गाउँतिर पेन्टरको कम गर्छ । अर्को मजदुरी गर्न मुम्बई पुगेको छ । छोराको कमाइमा आफ्नो पनि धेरथोर थपेर ५ कोठाको पक्की घर बनाएपछि खुसीको सीमा छैन । झन्डै १० लाख खर्च गरेर पक्की घर बनाएको हुँ । गास काटेर, परिवार पालेर यहाँसम्म आएँ । कहिल्यै राम्रो लुगा लगाउन पाइनँ । संघर्षको फल मिठो हुन्छ भनेजस्तै अहिले राहत महसुस गरेको छु ।
प्रस्तुतिः मनोज पौडेल
