श्रीमान् र मेरो मिहनेतले एक जनाको बचत गर्न सक्दा ऋणधन गरेर घडेरी किन्ने, सानो भए पनि बास बनाउन सफल भइयो । यो सफलताले बिहान ७ देखि बेलुकी ७ बजेसम्म काममा खटिनुपर्दाको दुःख बिर्साउने गर्छ ।
What you should know
पाल्पा — तानसेन आएको पनि दश वर्ष भइसक्यो । हाम्रा लागि सहर भनेकै रिडी बजार थियो । तानसेन आएर बस्ने बन्दोबस्त श्रीमान् प्रेम कुमालले मिलाउनु भयो ।
श्रीमान्ले जहाँ लग्यो त्यही जानुपर्ने हुन्थ्यो । तानसेन आउनु पनि बाध्यता थियो । रिब्दीकोट गाउँपालिका–१, ख्याहाको जोगीथुम घर हो । गाउँमा पेशा व्यवसाय गरेर प्रगति हुने अवस्था थिएन ।
श्रीमान्सँगै तानसेन आए । मेरा एक छोरा र एक छोरी छन् । छोराले १२ कक्षा पास गरेको छ । छोरी पनि १० कक्षामा पढिरहेकी छन् । सानैमा बिहे भयो । तानसेनमा श्रीमान्ले सवारी (मोटरसाइकल र साना जीप कार) धुने ठाउँ व्यवस्था गरेपछि काम गरेर खान सहज भएको हो ।
बिहानदेखि बेलुकीसम्म सवारी साधन धुने काम गरेँ । तानसेन होलाङ्दीमा सवारी साधन धुने ठाउँ बनाइयो । यहाँ बस्दाबस्दै तानसेन नगरपालिका–५ धरमपानीमा (२ किलोमिटर टाढा) घडेरी जोड्न सफल भए । पछि त्यसैमा सानो टहरो बनाइयो । श्रीमान् र मैले मिलेर सवारी साधन धोइन्थ्यो । चाप बढ्दै गएपछि अन्य केहीलाइसमेत काम दिन सफल भइयो ।
कहिलेकाँही यतिधेरै भिड बढ्थ्यो कि धुनलाई फुर्सद नहुने अवस्था आयो । ग्राहकलाई धेरै समय रोकिनु पर्ने बाध्यता हटाउन कामदारसमेत राखियो । त्यसपछि तीनदेखि ५ जनासम्म मिलेर समेत सवारीसाधन धुनु पर्ने अवस्था आयो । धेरै चर्चा भएकाले होला धुनका लागि धेरै आउन थाले । अनि छिट्टै सफलता हासिल गर्न सकियो ।
हामीले काम सुरु गर्दा अर्थात् १० वर्षअघि एउटा मोटरसाइकल धोएको ७० रुपैयाँ थियो । बिस्तारै ८० रुपैयाँ अनि १०० बनाइयो । अहिले एउटा मोटरसाइकल, स्कुटी धोएको १२० रुपैयाँ लिन्छौं । दैनिक कम्तीमा ३० वटा मोटरसाइकल धुने गर्छु । काम पाइयो भने दुई तीन वटा कार, जीपलगायत साना सवारी साधन पनि धुने गर्छु ।
श्रीमान् र मैले सवारीसाधन धोएको पैसा बचत गर्न थालियो । छोराछोरीलाई पढाएर पनि बचेको पैसाले घडेरी किनियो । बंगुर पाल्न सुरु गरियो । कमाई बचत हुँदै गयो । मासिक कम्तीमा १८ देखि २० हजार मैले बचत गर्थे ।
श्रीमान्ले पनि सवारी नै धुने हो । मैले धोएको सवारीको मलाई नै हिसाब राखेर पैसा दिने भएकाले बचत गर्न सहज भयो । श्रीमान्लाई घरखर्च मात्र नभएर बचतमासमेत सघाए । मैले जाडो, गर्मी भनिन । अहिले पनि मिहनेत गर्न छाडेकी छैन । छोराछोरीले पढे हुन्थ्यो भन्ने लाग्छ । घरखर्च चलाउन निकै समस्या छ । तै पनि मिहनेत गर्ने हो भने हुन्छ भन्ने लाग्छ । पहिले पहिलेजस्तो कमाइ हुँदैन । बजारमा प्रतिस्पर्धा धेरै छ । यसबाट आत्तिन पर्ने केही छैन । धेरै नियमित ग्राहक हुन थालिसके । बजारमा सामान किनिसक्नु छैन । विपन्न, सर्वसाधारणलाई दैनिक गुजारा कसरी गर्ने भन्ने भएको छ । बजार भाउले आकास छोएको छ ।
सुरुमा तानसेन आउँदा १ हजार ५ सयमा आउने चामलको बोरालाई अहिले २ हजार ७ सय भन्छन् । तरकारी उस्तै महंगो छ । नुन, तेल, मसला, खाद्यान्न सबै उस्तै महंगो भएको छ । १ हजार ७ सयमा किनेको खाने तेल अहिले २ हजार ८०० भएको छ । २ सयमा किन्ने मसला ४ सय भएको छ । यी केही उदाहरण भनेको हो । सबै सामान महंगो भएको छ । बजार भाउलाई नियन्त्रण कसले गर्छ ? घरखर्च चलाउन १० वर्ष अघि जति सहज थियो त्यति अहिले दुःख छ । कमाएको पैसा पहिले अलि धेरै बचत गर्न सकिन्थ्यो । तर अहिले पहिलाजस्तो बचत गर्न सकिँदैन ।
श्रीमान् र मेरो मिहनेतले एक जनाको बचत गर्न सक्दा ऋणधन गरेर घडेरी किन्ने, सानो भए पनि बास बनाउन सफल भइयो । यो हाम्रो लागि ठूलो सफलता हो । त्यसैले बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म काममा खटिनुपर्दाको दुःख बिर्साउने गर्छ । हामीले दुःख गर्न सक्छौं । तर दुःख गरे अनुसारको सफलता प्राप्त गर्न सबै क्षेत्रबाट साथ भने पाउन समस्या छ ।
आगामी फागुन २१ गते चुनाव आउने भनेका छन् । हामीलाई चुनाव लाग्नेभन्दा पनि काम गर्न फुर्सद छैन । यो वा त्यो पार्टीले जितेर गएर हामीलाई केही हुनेवाला छैन । तै पनि आफ्नो मतदानको अधिकार बुझेका छौं । गोप्य मतदान हो जो कोहीलाई दिउँला तर भोट माग्न आउनेहरु देखेर मलाई हाँसो लाग्छ । हामीले गाउँमै गएर मतदान गर्ने हो । क्षेत्र २ पर्छ । नेताहरु चुनाव जित्नु अघि धेरै बाचा गरेको सुनियो ।
पहिला पनि धेरै चुनाव देखेकी छु । बजारमा महंगी बढेको छ । छोरालाई अब के जागिर लगाउने हो भन्ने भइसक्यो । विदेश पठाउने कि भारततिर काम गर्न पठाउने भन्ने भैसक्यो । एउटा छोरा पाएर पनि यही संगै राख्न सक्ने अवस्था छैन । यो कुरा नेताहरुले कहिले बुझ्ने हुन् ? सीपमूलक तालिम संचालन गर्नुपर्ने हो । हामीले आफैले सानै भए पनि काम गरेका छौं ।
हामीले पढिएन । यही काम गर्न पनि लाज लागेको छैन । तर छोराले अहिले यस्तो काम गर्न अप्ठ्यारो मान्छ । तर हामीले यही काम गर्न प्रेरित पनि गरेका छौं । छोराले मानेन । छोरी पनि ठूली भएकी छ । उसले पनि यो काम गर्न मान्दिन । काम गर्न कामदार ल्याएर धेरैलाई पुग्नेगरी काम दिन सकिँदैन । अधिकांश श्रीमान् र आफैले धुन्छौं । यही धुने काम गर्न भन्दा छोराछोरीले अप्ठ्यारो मान्छन् ।
अब त नेतालाई भोट दिएर पनि के हुने हो र ? भन्ने हुन थालेको छ । बजारको महंगी नियन्त्रण गर्न सक्दैनन् । उत्पादन गरेको सामग्रीलाई बजारसम्म लैजाँदा भाउ पाउन सकेको छैन । रोजगार केही दिलाउन सकेका छैनन् । त्यसैले अब नेताहरुले सोच्नुपर्ने बेला आएको छ । चुनावअघि तपाइँको एक भोटको महत्व छ भनेर भाषण गर्नुहुन्छ । अनि चुनाव जितेर गएर विपन्न तथा सर्वसाधारण जनताका लागि के गर्नुभयो ?
प्रस्तुति: माधव अर्याल
