श्रीमतीको नागरिकता नभएकाले विवाह दर्ता, छोराछोरीको जन्म दर्ता भएको छैन् । गाउँबाट बाह्रबिसे झरेर बन्देउ हुँदै चौतारा जाँदाआउँदा बसभाडा, खानपान यताउति गर्दा कम्तीमा २ हजार खर्च हुन्छ । त्यही जुटाउन गाह्रो छ ।
What you should know
सिन्धुपाल्चोक — अभाव र अनेकथरी समस्याले कहिल्यै छाडेनन्। समस्यासित मेरो गाढा साइनो नै गाँसिएको जस्तो लाग्छ। एकपछि अर्को समस्याले पछ्याइरहँदा कहिलेकाँही जिन्दगी सम्झिएर पनि वाक्क दिक्क लाग्छ।
फेरि यसो सम्झिन्छु, मेरो मात्र यस्तो दःखी जीवन छैन । हामी दलित समुदायले परम्परादेखि हेलोहोचो सहनुपर्ने बाध्यता छ।
सानैबाट गाउँघरमा छिमेकीको घाँसपात र भारी बोकेर जिन्दगी चलिरहेको छ । यसरी अरुको पालो पर्म गरेर जम्मा हुने अन्नपातले नै मेरो परिवार चलिरहेको छ। मैले मात्र होइन श्रीमती जानकीले पनि गाउँको मल र दाउराका भारी बोक्ने काम गर्छिन् । कहिलेकाँही घाँसपातमा सघाउन जाने गर्छिन् । स्कुल त गएको हुँ । आठ कक्षाको अन्तिम परीक्षा नदिएर पढाइ छाडे । त्यसपछि त मजदुरी गरेर जिन्दगी बितिरहेको छ । पढेको भए बरु केही बन्थे कि ।
मेरो घर ठ्याक्कै बाह्रबिसे नगरपालिका–९ राम्चेको मानेडाँडा जाने बाटोमूनि दमै टोलमा रहेको छ । अहिले म ३७ वर्ष पार गर्न लागे । उमेर बढ्दै गएपछि शक्ति र जाँगर भने घट्दो रहेछ । भूकम्प र त्यसपछि गएका पराकम्पनका कारण भत्कियो । अहिले त्यही ठाउँमा सानो घर बनाएको छु । त्यो घर खासमा हजुर आमाको नाममा छ । दुई वटा खेतका गरा छन् । जसमा उत्पादन भएको अन्नपातले बिहान–बेलुकीको छाक टार्न महाभारत हुन्छ । जाबो टुक्रे बारीमा लगाएको अन्नपात कति पो हुनु र । हाम्रो त केही छैन् । संघर्ष र पीडा याद गरेर पीरमा परेका बेला अलि अलि मदिरा पिउँथे ।
मेरो हालत देखेर छिमेकी रमेश पौड्याल सर र अरुले हौसला दिएर मलाई सम्झाए । त्यसपछि मन हल्का सम्हालिएको छ । गाउँमा भारी, पर्म र दायाँबायाँ गरेर महिनामा २ देखि ३ हजार कमाउँछु । त्यसबाहेक आम्दानीको बाटो केही पनि छैन् । नगरपालिकाले दिने काममा पनि मजदुरी पाउन गाह्रो हुन्छ । अरु काम त धेरै परको कुरा भयो हामीजस्ता भूँइमान्छे लाई कसैले वास्ता नगर्दा रहेछन् । नौ वर्षको एक छोरा र चार वर्षको छोरी छन् । यिनीहरुको चिन्ता लागिरहन्छ।
महिनाभर कमाएको २/३ हजारले तिउन ताउन पनि पुग्दैन । दुःख लुकाएर नलुक्ने रहेछ । आर्थिक समस्या र अभाव सम्झिएर एकान्तमा बसेर रुन मन लाग्छ । बिहे गरेको १० वर्ष भयो । मसित पैसा नभएकाले यहाँबाट सदरमुकाम चौतारा गएर श्रीमतीको नागरिकता बनाउने हिम्मत जुटाउन सकेको छैन् ।
श्रीमतीको नागरिकता नभएकाले विवाह दर्ता, छोराछोरीको जन्म दर्ता भएको छैन् । गाउँबाट बाह्रबिसे झरेर बन्देउ हुँदै चौतारा जाँदाआउँदा बसभाडा, खानपान यताउति गर्दा कम्तीमा २ हजार खर्च हुन्छ । त्यही जुटाउन गाह्रो छ। स्कुलमा बालबच्चा पढाउन नगरपालिकाले निःशुल्क गराएको छ। तर गास टार्न हम्मे छ । आर्थिक अभावका कारण उपचार र स्वास्थ्य परीक्षण जेजे भने पनि स्वास्थ्य चौकी र बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रमा गर्ने हो । ठूलो रोग लागे हामीसँग मर्नुबाहेक विकल्प हुन्न ।
बासको ठेगान सहज भए पनि गास र उपचारका लागि समस्या हुन्छ। यस्ता खर्च फेरि नभइ हुन्न। आफूसित नभएका बेला सरसापट गरेर काम चलाउँछु। तर, सापटी लिएपछि पैसा तिर्नु पर्छ। तिर्ने पैसा जम्मा गर्न फेरि मजदुरी खोज्न दौडिनुपर्छ। रासन पानीमा चार जनाको परिवारलाई ३/४ खर्च चाहिन्छ । कमाएको सबै खानामा खर्च भएपछि मिठो खाने र राम्रो लाउने सपना पूरा हुँदैन । अलि राम्रो उपचार गर्न काठमाडौं जानुपर्छ । तर, घाँटी हेरेर हाड निल्नुपर्ने अवस्था छ । पैसा नभएपछि कतै जाने आँट पनि आउँदैन रैछ । अनि ठूलो सपना पनि नहुने रहेछ ।
प्रस्तुति: अनिश तिवारी
