मेरो पसलमा दिनहुँ सबै प्रकारका चियानास्ता खाने ग्राहाक आउँछन् । व्यवसायले मेरो आर्थिक अवस्था मात्रै सुधार गरेको छैन, जिल्लामा परिचय पनि बनएको छ । परिचय पनि एक प्रकारको सम्पत्ति रहेछ ।
What you should know
बैतडी — बजारनजिक भए पनि मैले सञ्चालन गर्दै आएको चियानास्ता पसल रहेको छाप्रो आफ्नो हैन । यसको मासिक १ हजार ५ सय रुपैयाँ भाडा तिर्ने गरेको छु । अलिकति भए पनि घर खर्च चलाउन पर्यो भनेर चियानास्ता पसल खोलेको हुँ । पक्की घरमा पसल राख्दा पनि भाडा महंगो हुन्छ ।
कमाएको सबै भाडामा खर्च भए आफूले के खाने–के लाउने अवस्था हुन्छ । त्यसैले टिनको छाप्रो रोजेको हुा । अहिले म ५० वर्षको भएँ । मेरो घर दशरथचन्द नगरपालिका–५ रिचपला हो । मैले ६ कक्षा पढ्दादेखि नै चियानास्ता पसल सञ्चालन गरेको हुँ । घरको आर्थिक अवस्थाले गर्दा मैले पढ्दादेखि नै चिया पसल गर्न बाध्य भएको हुँ । मेरो घर धानिएको भनेकै यही सानोतिनो व्यवसायले हो ।
कक्षा १० सम्म त मैले यही गोठलापानी पढेको हुँ । इच्छा हुँदाहुँदै पनि मैले धेरै पढ्न पाएन । परिवारको आर्थिक अवस्था नाजुक भएकाले पढ्ने धोको अधुरै रहृयो । हाम्रो संस्कार अनुसार मैले समयमै बिहे पनि गरे । बिहे गरेर घर धन्दा चलाउन मैले आटा मिल (चक्की) सञ्चालन गरे । मैले लामो समयसम्म आटा मिल चलाए । मलाई सबैले मायाले चक्कीवाला भन्थे । अहिले म चक्कीवालाबाट चायवाला भएको छु । यो मेरो पहिचान यही हो । मलाई कसैले चायवाला भन्दा दुःख लाग्दैन । झन् खुसी हुन्छु ।
मैले पनि समय अनुसार व्यवसाय बदलेको छु । अहिले घरघरमा सानो आटामिल राखेका छन् । बाँदरले गर्दा खेतीपाती गर्नै छाडिसके । खेतीपाती नगरेपछि आटामिलमा के पिसाई गर्ने हुन् कुन्नी । त्यसैले चार वर्षदेखि आटामिलको काम छाडेर नास्ता पसल सञ्चालन गरेको हुँ । यसबाट मजदुरी गरे जत्तिकै कमाई भइरहन्छ । म मेरो व्यवसायबाट पूर्ण सन्तुष्ट छु ।
यसैबाट भएको कमाईले छोराछोरीलाई उच्चशिक्षा पढाएको छु । म सँगैका साथीहरु कोही कमाउन भारत गए। कोही नेपालको सुरक्षा निकायतिर पनि भर्ती भए । म भने आफ्नै ठाउँमा केही गरेर सम्मान साथ बस्नुपर्छ भनेर जागिरको लोभमा कतै गइन् । मेरा दुई छोरा र एक छोरी छन् । एक छोरो आइएस्सी पास गरेर विदेश गइसक्यो । अर्को छोरा र छोरी पढाइसँगै लोकसेवाको तयारी गरिरहेका छन् । म उनीहरुलाई जसरी हुन्छ पढाई पूरा गर्नुपर्छ भन्छु । मलाई पढाइको महत्त्व थाहा छ । भविष्यमा जस्तोसुकै पेसा व्यवसाय गर्न पनि पढाइ चााहिदो रहेछ ।
मलाई सम्पत्ति नै शिक्षा हो जस्तो लाग्छ । त्यसैले मैले कमाइ गरेको सबै छोराछोरीको शिक्षामा लगानी गरेको छु । जेठो छोरालाई पनि पढाई पूरा गर, विदेश नजाउ भनेको मानेन । मेरो पसलमा दिनहुँ सबै प्रकारका चियानास्ता खाने ग्राहाक आउँछन् । व्यवसायले मेरो आर्थिक अवस्था मात्रै सुधार गरेको छैन, जिल्लामा परिचय पनि बनएको छ । परिचय पनि एक प्रकारको सम्पत्ति रहेछ । परिचयबाट धेरै काम बन्न सक्छन् । मेरो पसलको नाम काका चिया पसल हो । मेरो उमेर काका भन्ने भइसकेकाले मैले पसलको नाम पनि यस्तै राखेको हुँ ।
चिया पसलमा धेरै कुराको ज्ञान पनि पाइन्छ । चियानास्ता खाने ग्राहक सबै प्रकारका हुने भएकाले उनीहरु आफु आवद्ध भएको पेसा व्यवसायबारे छलफल गर्छन् । सबैभन्दा बढी छलफल र कुराकानी राजनीतिको हुने गर्दछ । आजभोली त सबै निर्वाचनकै कुरा गर्ने आउाछन् । मैले सबै प्रकारका परिर्वतन देखेँ ।
निर्वाचनको समयमा त राजनीतिक दलका नेताका कुरा सुन्दा लाग्छ अब त हामी जस्ता भूँइ मान्छेका पनि दिन फर्किन्छन् की भन्ने लाग्छ । जब निर्वाचन सकिन्छ त्यसपछि नेता गाउँ फर्किँदैनन् । फर्के पनि बोल्न खोज्दैनन्। हामी सानोतिनो व्यवसाय गर्ने मान्छेलाई पनि विभिन्न प्रकारको कर लागाएर कमाएको पनि कर तिर्नमै ठिक्क बनाइदिन्छन् ।
केही सहुलियत दिए पनि हुने खानेले मात्रै पाउाछन् । हामी जस्तोले पाउादैन । उल्टै नगरपालिका, वडा, घरेलु र आन्तरिक राजस्व कार्यालयमा कर तिर्नु पर्छ । अब त मलाई मतदान गर्न पनि मन लाग्दैन् । मैले आर्थिक जुटाउन सके यसै ठाउामा एक ठूलो होटल खोल्ने थिए । ऋण निकाल्न डर लाग्छ । ऋण गरेर खोलेको होटल चलेन भने ब्याज पनि कहाँबाट तिरौला भनेर डराउँछु । मेरो पसलमा नास्ता र चियामात्र पाइन्छ । अहिलेको बजार पनि चिया नास्ताकै छ ।
