कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०१

पर्यटनमन्त्री तामाङद्वारा जहाज मर्मतमा भएको लापरबाही छानबिन गर्न समिति गठन

सुरज कुँवर

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको वाइडबडी जहाजको सी–चेक (विस्तृत मर्मत) र अर्को न्यारोबडी जहाजको इन्जिन मर्मतमा भएको लापरबाही छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशकको नेतृत्वमा बुधबार छानबिन समिति गठन गरेका छन् ।

पर्यटनमन्त्री तामाङद्वारा जहाज मर्मतमा भएको लापरबाही छानबिन गर्न समिति गठन

मन्त्रीको सचिवालयका अनुसार, मन्त्री तामाङले पूर्वमहानिर्देशक त्रिरत्न मानन्धर नेतृत्वको छानबिन समितिलाई २४ घण्टाभित्र दुवै जहाज मर्मतसँग सम्बन्धित कागजात उपलब्ध गराउन बुधबार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पत्र पठाएका छन् । समितिलाई मन्त्रालयले नेपाल वायुसेवा निगमले आफ्नो एयरबस ए–३२० वायुयानको इन्जिन मर्मत सम्भार गर्न इजरायल पठाउँदा भएको ढिलाई र केही दिनअघि प्राधिकरणको अनुमतिबिना सीचेकका लागि इटली पठाइएको वाइडबडी विमानबारे विस्तृत प्राविधिक पक्षहरु छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । यस छानबिनमा निगमलाई मन्त्रालयले जहाजहरु मर्मतका लागि बाहिर पठाउँदा अपनाइएका कानुनी प्रक्रिया, निर्णय, इमेल, पत्राचार र संलग्न कर्मचारीहरुको सम्पूर्ण विवरण पठाउन भनेको छ ।

संयोजक तथा प्राधिकरणका पूर्वमहानिर्देशक मानन्धरका अनुसार, यस समितिमा प्राधिकरणका अर्का पूर्वमहानिर्देशक रतिशचन्द्र लाल, चार्टर्ड एकाउन्टेन्ट, कानुनविज्ञ सदस्य छन् भने मन्त्रालयका अधिकृत सुवर्णराज भट्टराई सदस्य सचिव छन् ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमान इटालीको नेपल्स पुगेको घटनामा कागजी प्रक्रिया नमिलाएको, अनुमति प्राप्त नगरेको जहाज मर्मत संस्था (एमआरओ) मा पुर्‍याएको अभियोगमा नियमनकारी निकाय प्राधिकरणले त्यो विमान दुबईबाट उडाएर लैजाने पाइलटहरु महेश्वरमान डंगोल र रमण घिमिरेलाई प्राधिकरणले ग्राउन्डेड गरेको छ । पाइलटहरुमात्रै होइन प्राधिकरणले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई जिम्मेवार भूमिका (एकाउन्टेवल म्यानेजर) को काम गर्न रोक लगाइदिएको छ । त्यस्तै प्राधिकरणले निगमका इन्जिनियर ज्ञानबहादुर कुँवर, अपरेशन विभागका निर्देशक दिपुराज ज्वारचनलाई पनि उड्डयनसम्बन्धी काम गर्न रोक लगाएको छ ।

प्राधिकरणले यो घटनाबारे छानबिन गर्न उता नागरिक उड्डयन विज्ञ भेषराज सुवेदीको संयोजकत्वमा बेग्लै चार सदस्यीय छानबिन समितिसमेत गठन गरेको छ ।

प्रकाशित : असार १९, २०८१ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×