कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

स्वास्थ्य सेवा सुधार्न खटेका खरेल

अमेरिकाको ब्राउन विश्वविद्यालयका इमर्जेन्सी मेडिसिनका सहप्राध्यापक रामु खरेल २०७२ को भूकम्प र कोभिड महामारीका बेला स्वास्थ्य क्षेत्रमा निकै खटे । गुल्मीको आँपचौरमा जन्मिएका खरेल त्यसयता नेपालको ग्रामीण स्वास्थ्य सेवा सुधार्ने अभियानमा निकै सक्रिय छन् ।

काठमाडौँ — गुल्मीको आँपचौरका रामु खरेल त्यतिबेला मात्र सात वर्षका थिए । कुरा २०५३ सालको हो, गाउँमा चिठी बाँड्दै आएका हुलाकीले कराउँदै भने, ‘खरेल तिम्रा बुबालाई डीभी पर्‍यो । अब तिमीहरू पनि अमेरिका जान पाउँछौं ।’ त्यतिबेला डीभी त परै जाओस्, अमेरिका पनि सुनेका थिएनन् खरेलले । त्यसैले उनलाई हुलाकीका कुरामा चासो हुने कुरै भएन । 

स्वास्थ्य सेवा सुधार्न खटेका खरेल

साथीहरूसँगै घुम्दै, डुल्दै घर पुगे उनी । उनका बुबा गुल्मीकै माध्यमिक विद्यालयका शिक्षक थिए । विद्यालयका शिक्षकहरूले त्यतिबेला सामूहिक रूपमा पोस्टल (हुलाकमार्फत) डीभी भरेका थिए । उनका बुबा अमेरिका गए, तर परिवारका सदस्यहरूको विवरण नभरेका कारण परिवारका अन्य सदस्य भने उतिबेला अमेरिका जान पाएनन् । बुबा अमेरिका गएको एक वर्षपछि खरेलकी आमा निकै बिरामी परिन् । उपचारका लागि पाल्पा लगे पनि उनी फर्किनन् ।

आँपचौरमा २०४६ मा जन्मिएका खरेलले केही समय तम्घासमै पढे । पछि बुबाले परिवारका सबैलाई अमेरिका लैजाने तयारी गरेपछि काठमाडौं आएर पढे । पछि अमेरिका पुगेर पढ्न थाले, ९ कक्षामा । सपना भने सानैदेखि डाक्टर बन्ने देखेका थिए खरेलले । त्यसमाथि बुबाले सानैदेखि उनलाई डाक्टर बन्ने हौसला दिन्थे । त्यसैले उनलाई जसरी पनि डाक्टर बन्नु थियो । अमेरिका गएपछि सुरुमा अंग्रेजी सिक्न निकै गाह्रो भयो उनलाई । तर पनि जसोतसो विद्यालय सकेर कलेज भर्ना भए । अंग्रेजी पनि सिक्दै गए ।

‘जसरी पनि मेजर बायोलोजी गर्छु भनेर कलेज भर्ना भएका थिएँ,’ उनी भन्छन्, ‘तर उर्दू विषयले मलाई यसरी तान्यो कि मूल विषय नै उर्दू रोजे ।’ उर्दूको पढाइसकेपछि फेरि उनी मेडिकल साइन्समा भर्ना भए । मेडिकल पढ्दापढ्दै केही समय ब्रेक लिएर हार्वार्ड विश्वविद्यालयबाट पब्लिक हेल्थमा स्नातकोत्तर पनि सके । त्यसपछि पुनः मेडिकल साइन्सलाई निरन्तरता दिएका उनले अध्ययन पूरा गरे ।

अध्ययन सकेलगत्तै नेपालमा भूकम्प गयो । मातृभूमिलाई दुखेका बेला खरेलको मन अमेरिकामा अडिइरहन सकेन । ‘त्यसपछि म नेपाल आएँ र भूकम्प प्रभावितहरूको उद्धारमा जुटें,’ उनी भन्छन्, ‘त्यसयता भने म वर्षको दुई/तीन पटक नेपाल आएर स्वास्थ्य क्षेत्रमै जुटिरहेको हुन्छु ।’ त्यही समयमा उनले ‘हाप्सा नेपाल’ नामक गैरनाफामूलक संस्था सुरु गरे । भूकम्पअघि पनि उनी नेपालको स्वास्थ्य क्षेत्रमा क्रियाशील थिए । भूकम्पले साँखुको बज्रयोगिनी मन्दिरमाथि घुमारचोक गाउँको तामाङ बस्तीका घरहरू ध्वस्त भएका थिए । गाउँमा खरेलले भूकम्पको दुई वर्षअघि नै हात धुने अभियान चलाएका थिए । पछि त्यहाँ पुगेर खरेलसहितको टोलीले राहत तथा पुनःस्थापनामा सहयोग गर्‍यो ।


भूकम्पपछि पनि उनको टिमले लाकुरीभन्ज्याङमा स्थानीयलाई अग्रसर गराएर स्वास्थ्य सुधारसम्बन्धी काम गरे । करिब पाँच वर्षसम्म उनले यी दुई समुदायका स्वास्थ्य केन्द्र र स्वास्थ्य विकास कार्यक्रमहरू सञ्चालन गर्न आफ्नै अग्रसरतामा रकम संकलन गरी सहयोग गरे । हाप्साले स्वास्थ्य शिविर, वृद्धवृद्धालाई मोतियाबिन्दुको शल्यक्रिया लगायतका कार्यक्रम गर्‍यो । त्यसका साथै खरेलको अगुवाइमा स्थानीय समुदायलाई स्वास्थ्य सेवासम्बन्धी नीति निर्माणमा संलग्न गराइयो ।

अमेरिकाको रोड आइल्यान्डस्थित ब्राउन विश्वविद्यालयका इमर्जेन्सी मेडिसिनका सहप्राध्यापक खरेलको बुझाइमा विपत्ति एउटा अवसर पनि हो । ‘विगतमा नभएका काम नयाँ र व्यवस्थित ढंगले सुरु गर्न पनि सकिन्छ,’ उनी भन्छन्, ‘हामीले त्यहाँ भूकम्पअघिको स्वास्थ्य समस्या कस्तो थियो अहिले के छ भन्नेसमेत अध्ययन गर्‍यौं । स्वास्थ्य चौकीमा स्थानीय थिएनन् । त्यसलाई सम्बोधन गर्न पाइयो ।×’ कोभिड महामारीको समयमा पनि निकै खटे खरेल । कोभिडको तेस्रो लहरका बेला उनी इमर्जेन्सी डाक्टरका रूपमा नेपालमै थिए । महामारी र लकडाउनका बेला सामाजिक सञ्जाल टिकटकबाट ‘नमस्ते डाक्टर’ का नाममा कोभिडबाट बच्ने उपायबारे जानकारी दिन पनि उत्तिकै सक्रिय रहे ।

त्यतिबेला खरेल र सुमना श्रेष्ठ (वर्तमान शिक्षामन्त्री) लगायतको टोलीले ‘कोभिड अलायन्स नेपाल’ गठन गरेर काम गरेका थिए । यसबाहेक उक्त टोलीले सीसीएमसीसी लगायतसँग पनि मिलेर काम गरेका थिए । खरेलले विभिन्न स्थानीय सरकारका प्रमुख, स्वास्थ्य सेवा प्रदायक र सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई कोभिड–१९ व्यवस्थापनबारे आवश्यक तालिम दिए । कोभिडको समयमा खरेल र हाप्सा टोलीले नेपालभरका समुदायलाई सक्रिय रूपमा सहयोग गरेको थियो । नेपालमा मात्र नभई उनले आफ्नो विश्वविद्यालयमार्फत करिब ५५ देशका स्वास्थ्य सेवा प्रमुखहरूलाई कोभिडबारे विभिन्न विषयमा तालिम दिएका थिए । त्यही बेला, हाप्सामार्फत उनले नेपालका ३० भन्दा बढी नगरपालिकामा कोभिड संक्रमित बिरामीलाई होम आइसोलेसन किट पठाउन पनि सफल भएका थिए ।

खरेल नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि हालसम्म निरन्तर खटिइरहेका छन् । खासगरी दुर्गम गाउँको स्वास्थ्य अवस्था सुधार्ने कार्यमा उनको क्रियाशीलता बढी छ । केही समयअघि जाजरकोटमा भूकम्प जाँदा पनि निःशुल्क स्वास्थ्य सेवासँगै राहत तथा पुनःस्थापना खटिएका थिए उनी । समग्रमा नेपालको स्वास्थ्य सेवा सुधारका लागि खटिरहेका छन् खरेल । खासगरी कोभिडपछि उनीसहितको टोलीले तीन किसिमले काम गरिरहेको खरेलले बताए । कोभिड महामारीका बेला खरेल नेतृत्वको टिमले हटलाइन सञ्चालनमा ल्याएको थियो । ‘त्यसलाई बन्द गर्नुभन्दा अन्य कुनै क्षेत्रमा प्रयोगमा ल्याउनेबारे छलफल भयो,’ खरेलले भने, ‘नेपालमा विष सेवनका कारण धेरैले मृत्युवरण गरिरहेका छन् । यससम्बन्धी खासै अनुसन्धानहरू पनि भएका रहेनछन् ।’

त्यो थाहा भएपछि भने उनीहरू नेपालमा ‘पोइजन सेन्टर’ स्थापना गर्ने निर्क्योलमा पुगे । ‘त्यसपछि करिब दुई वर्षअघि टिचिङ अस्पतालमा नेपाल ‘पोइजन सेन्टर’ स्थापना गरेर हटलाइन सञ्चालनमा ल्याइयो,’ खरेल भन्छन्, ‘२०२३ अक्टोबरमा सुरु गरिएको सेन्टरमा फोन गरेर विष सेवन गरेकालाई बचाउने उपायबारे सल्लाह लिन सकिन्छ ।’ कल सेन्टरमा देशभरबाटै फोन आउने गरेको र त्यसपछि तत्कालै समस्या समाधान गर्ने उपायबारे जानकारी दिने गरिएको खरेलले बताए । ‘अहिले हामीले अनुदान तथा सहयोग लिएर यसलाई सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘तर अब सरकारले नै बजेट छुट्याएर अघि बढाउनुपर्छ भन्ने लाग्छ ।’

उनका अनुसार सेन्टर सञ्चालनका लागि हाल वार्षिक कम्तीमा ३० लाख रुपैयाँ खर्च भइरहेको छ । सरकारले वार्षिक एक करोड रुपैयाँ लगानी गरेको खण्डमा यसको सेवा निकै प्रभावकारी हुने खरेल बताउँछन् ।


‘पोइजन सेन्टर’ सँगै खरेल ग्रामीण स्वास्थ्य सेवामा पनि उत्तिकै सक्रिय छन् । खासगरी नेपालका ग्रामीण भेगमा विभिन्न किसिमका दुर्घटना भइरहेका हुन्छ । ती दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या पनि निकै ठूलो छ । ‘अब त्यसलाई कसरी न्यूनीकरण गर्ने भन्नेमा हामी जुटिरहेका छौं,’ उनी भन्छन्, ‘अछाममा कम्युनिटी हेल्थ नेटवर्क सञ्चालन गरेका छौं ।’ गाउँमा हुने गरेका दुर्घटनाका पीडितको उद्धार गर्नका लागि स्थानीयलाई नै परिचालन गर्न उनीहरूले सिकाइरहेका छन् ।

दुर्घटना स्थलमा प्रहरी तथा स्वास्थ्यकर्मी तत्काल पुग्न सम्भव नहुने भएकाले यो प्रभावकारी हुने खरेल बताउँछन् । यस विषयमा अछामको बयलपाटा अस्पतालमा स्थानीयलाई सिकाएर एक अध्ययनसमेत गरिएको छ । अध्ययनअनुसार दुर्घटना, भूकम्प, बाढीपहिरो वा अन्य आपत्कालीन अवस्थामा स्थानीयबाटै उद्धार गर्ने विषयमा गरिएको प्रयोग ६० प्रतिशत सफल भएको पाइएको छ ।

‘स्थानीयलाई नै सिकाउने र परिचालन गर्ने कार्य केही गाउँपालिकामा विस्तार गर्ने र सफल देखिए क्रमशः देशका अन्य गाउँमा सुरु गर्ने योजना छ’ उनले भने, ‘यसमा खासगरी स्थानीय राजनीतिक नेताहरूलाई परिचालन गर्न सकिन्छ ।’

त्यसैगरी, खरेल ‘बेसिक लाइफ सपोर्ट’ का निम्ति पनि क्रियाशील छन् । उनका अनुसार ‘ब्रेन डेथ’ बाट रोक्नका लागि ‘बेसिक लाइफ सपोर्ट’ निकै महत्त्वपूर्ण छ । ‘यदि तपाईंको अगाडि कुनै व्यक्ति निसासिन्छ वा ढल्छ भने कसरी उसलाई बचाउने र थप उपचारका लागि लैजाने भन्नेबारे सबै नागरिकले जान्न जरुरी छ,’ उनी भन्छन् ।

हाप्सा नेपालले हालै नेपाल प्रहरीसँग जीवन बचाउने यी महत्त्वपूर्ण सीपसम्बन्धी तालिम दिन साझेदारी गरेको छ । खरेलका अनुसार डोटीमा सेना र प्रहरीलाई यसबारे प्रशिक्षण दिइसकिएको छ भने काठमाडौं महानगरपालिकामा पनि यो कार्यक्रम सुरु भइसकेको छ । कुनै पनि आपत्कालीन अवस्था वा दुर्घटनाबारे पहिले खटिने भएकाले पनि यसबारे नेपाल प्रहरीलाई जानकारी हुनुपर्ने उनको भनाइ छ ।

खरेलका अुनसार संयुक्त राष्ट्रसंघका अनुसार नेपाल जलवायुजन्य जोखिमका हिसाबले विश्वमै चौथो र भूकम्पको जोखिमका हिसाबले एघारौं स्थानमा छ । त्यसकारण नेपालमा सबैभन्दा पहिलो आकस्मिक सेवा सुधार्न आवश्यक रहेको उनले बताए ।

लामो समयदेखि विदेश (खासगरी अमेरिका, पेरु र रुवान्डा) र नेपालको स्वास्थ्य सेवामा क्रियाशील खरेल नेपालको स्वास्थ्य सेवाको अवस्था कस्तो देख्छन् त ? उनको सिधा उत्तर छ– नेपालको सेवामा निकै विभेद छ । देश एउटै भएपछि तपाईं जहाँ भए पनि स्वास्थ्य समस्या सुधार्ने एउटै व्यवस्था हुनुपर्छ । ‘तर त्यस्तो भइरहेको छैन । खासमा हामीहरूको प्रयास नै स्वास्थ्य सेवामा सबैको पहुँच हुनुपर्छ र यो सर्वसुलभ हुनुपर्छ भन्ने नै हो ।’


प्रकाशित : असार २२, २०८१ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×