जापानी सुसी नेपाली सिप
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
लन्डन — डेढ दशकअघि बेलायत सरकारले अध्यागमन नीति निकै खुकुलो पारेपछि विद्यार्थीको बाढी नै आयो । त्यही मेसोमा नेपालबाट पनि ओइरिए हजारौं विद्यार्थी । त्यसैमध्येका एक हुन् दोलखाका छोङ नोर्बु शेर्पा ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![जापानी सुसी नेपाली सिप](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/iro-sushi-0572024034109-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
२०६१ सालमा एसएलसी दिएलगत्तै उनी काठमाडौं पसे । सपना थियो बेलायती लाहुरे बन्ने । कक्षा १२ सम्मको पढाइ सकेपछि ‘ट्राई’ गरे । तर सफलता हात लागेन । अस्ट्रेलिया जाने भनेर भाषा परीक्षा पनि दिए । तर विद्यार्थी भिसासम्बन्धी केही नियम परिवर्तन भयो त्यसैबेला । त्यसपछि भिसा नपाउने निर्क्यौमा पुगेपछि कन्सल्टेन्सीसँगको सल्लाहमा आवेदन फिर्ता लिए ।
त्यसपछि के गर्ने र कसो गर्ने अन्योलमै थिए उनी । त्यसै क्रममा बेलायतले टियर फोर नीति ल्याएपछि २००९ जुलाईमा लन्डन आइपुगे । सुरुका दिन निकै संघर्ष खेपे उनले । करिब आठ महिना त काम नै पाएनन् । त्यतिबेला साथीहरूबाट ऋण लिएर जसोतसो बाँचेको बताउँछन् छोङ । पछि नर्थ ह्याम्पटनस्थित नेपाली रेस्टुरेन्टमा काम पाए । ‘सातामा ४ दिन काम गरेर ८० पाउन्ड कमाइ हुन्थ्यो,’ उनले उतिबेलाका संघर्षका दिन सम्झिए, ‘त्यो पनि लन्डन प्लमस्टिडबाट त्यति टाढा जानुपर्दा लगभग सकिन्थ्यो ।’
लन्डन आएको अर्को वर्ष अप्रिल उनले साथीमार्फत सुसी सेफको काम पाए । सँगसँगै दुइटै काम अनि पढाइ पनि । व्यवस्थापन सहज थिएन । सोमबार र मंगलबार कलेज थियो । म्यारिटाइम ग्रिनिच कलेजमा सूचना प्रविधि (आईटी) पढ्न आएका उनले कलेज बन्दको तनाव पनि झेले । पछि साउथ लन्डन कलेज ट्रान्सफर भए । विषय पनि परिवर्तन गरेर बिजनेस म्यानेजमेन्ट लिए ।
पछि फेरि अर्को कलेज पुगेका उनले २०१४ मा सुसीको व्यवसाय पनि सुरु गरे । २०१५ अन्तिमतिर वेस्ट मिनिस्टर कलेजबाट हस्पिटालिटी म्यानेजमेन्टमा पोस्ट ग्र्याजुएट गरे । त्यसपछि भने उनले पढाइलाई विश्राम दिए र व्यवसायलाई गति दिए । हाल ३७ वर्ष पुगेका छोङको आम्दानी र जीवनशैली भने निकै फेरिएको छ । उनी सफल सुसी व्यवसायीका रूपमा परिचित छन् लन्डनमा । गत महिना उनले ‘इरो’ (जापनी अर्थ रंगीन) ब्रान्डको सुसीको २३ औं शाखा खोलेका छन् । छोङले २०१४ मा क्ल्यापहाम जंक्सनमा इरोको पहिलो शाखा खोलेका थिए । औद्योगिक क्षेत्रमा एउटा स्यान्डविच किचन थियो, त्यसले होटल वा एयरलाइन्स्लाई स्यान्डविच सप्लाई गर्थ्यो । त्यसैको किचन साँझ ५ देखि १० बजेसम्म चलाउँथे छोङ । बिहान अन्त काम गर्ने, बेलुका सुसी बनाएर अनलाइनबाट बेच्ने गर्थे उनी । काममा सघाउन दुई कामदार र एक जना चालक राखेका थिए ।
उक्त व्यवसाय जम्मा पाँच हजार पाउन्डमा सुरु भएको थियो । व्यवसाय राम्रो चल्दै गएपछि उनले २०१५ मा हाइस्ट्रिटमा ‘इरो’ सुसी खोले । केहीले बसेरै खान मिल्ने र होम डेलिभरी व्यवस्थासहित फास्टफुड र क्यूएसआर (क्विक सर्भिस रेस्टुरेन्ट) बिजनेस मोडलमा सञ्चालित छ यो । पहिलो सुसी रेस्टुरेन्ट खोलेपछि जम्मा भएको पैसाले २०१८ मा फुलहाममा दोस्रो र ग्रिनविचमा तेस्रो शाखा खोले । केही महिनापछि टावर ब्रिजमा चौथो शाखा खोले ।
फुलहाम र टावर ब्रिज आउटलेट छोङको आफ्नै स्वामित्वमा छ भने ग्रिनविच शाखासँगै काम गरेको साथीलाई लगानी गरिदिएर खोलिदिएका हुन् । यसपछि भने उनले ‘फ्रेन्चाइज’ बारे थाहा पाए । त्यसपछि ग्रिनविचबाट सुरु भयो उनको फ्रेन्चाइज कन्सेप्ट । ‘सुरुमा त फ्रेन्चाइज के हो भन्ने नै थाहा थिएन । किताब पढ्ने, युट्युबबाट यसबारे जानकारी पाएँ,’ उनी भन्छन् । कोभिड महामारीमा फैलिएपछि भने उनको व्यवसाय झन् फस्टायो ।
कोभिडका बेला हाइगेट, साउथ नरवुड र दुई तीन महिनाको अन्तरालमा वेलिङ, पर्ली, क्यामडेन, स्ट्राटफोर्ड, रेडिङ, स्लाओ, क्रोयडन, डार्टफोर्ड, पाल्मर्स ग्रिनमा थपिए ‘इरो’ का शाखा । त्यसपछि क्रमशः ब्रम्ली, चिङफोर्ड, अर्पिङटन, सिडकप, स्टक न्युविङटन, उलविच, एल्थाम, पेन्जमा खुल्यो इरो । लन्डनबाहिर मेडस्टोन, क्यान्टबरी, वाटफोर्ड, क्यामब्रिज, पिटरबरो र ब्राइटनमा समेत शाखा खोल्ने तयारीमा छन् उनी । वर्षमा १० वटा शाखा बनाउने लक्ष्यअनुसार काम पनि भइरहेको छोङ बताउँछन् । संयुक्त अधिराज्य (यूके) का चारवटै राज्यमा पुग्ने लक्ष्य उनमा छ ।
त्यति मात्र होइन, अर्को वर्षदेखि पहिलो चरणमा अमेरिका र युरोपमा पनि शाखा विस्तार गर्ने योजनामा छन् छोङ । अमेरिका निकै ठूलो बजार भएकाले आफ्ना लागि यो परीक्षा नै हुने उनी बताउँछन् । नेपालमा शाखा खोल्नेबारे भने अझै सोचिसकेका छैनन् छोङले । त्यसका कारण हो, आवश्यक कच्चा पदार्थको अभाव । ‘यहाँबाट गुणस्तरीय कच्चा पदार्थ नेपालसम्म लैजान जटिल भएकाले नेपालमा शाखा खोल्न कठिन देखिएको छ,’ उनले भने ।
आफ्नो व्यवसाय दुई मोडेलमा चलिरहेको छोङको भनाइ छ । एउटा साझेदारीमा र अर्कोचाहिँ सम्पूर्ण लागानी आफैं गरेर चलाउने । अनुभवी सुसी सेफ, रेस्टुरेन्ट व्यवसायी छन् भने ‘राइट क्यान्डिडेट’ लाई फाइनान्स पनि उपलब्ध गराएर पार्टनरसिपमा बिजनेस सुरु गर्छन् छोङ । कोही लगानी मात्र गर्न चाहन्छन् भने पनि आफूसँग मिलेर फ्रेन्चाइजी चलाउन पाउने उनले बताए । तर, कसैले सम्पूर्ण लगानी गर्न चाहन्छन् भने फ्रेन्चाइजी फी र टर्नओभरमा ५ प्रतिशत रोयल्टी तिर्नुपर्ने सर्त छ उनको ।
इरोको धेरै फ्रेन्चाइजी नेपाली नै छन् । उनले कति जनालाई ऋण नै दिएर पनि व्यवसाय सुरु गरिदिएका छन् । उनका अनुसार करिब एक लाख पाउन्डमा सबै ‘सेटअप’ हुन्छ । अरुले फ्रेन्चाइज लिए स्थान छनोट गरी व्यवसाय सुरु गरिदिने र आवश्यक सम्पूर्ण व्यवस्था गरिदिने छोङले बताए । ‘त्यसका लागि हामीसँग अनुभवी टिम छ,’ उनले भने, ‘गुणस्तर, व्यवस्थापन, सेवा र कामदार राम्रो भए व्यवसाय नचल्ने कुरै छैन ।’
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)