काठमाडौँ — सन् २००९ मा आजकै दिन (जुलाई ५) मा स्विस टेनिस खेलाडी रोजर फेडेररले कीर्तिमानी ग्रान्डस्लाम जितेका थिए । विम्बल्डन प्रतियोगितामा एन्डी रडिकलाई पराजित गर्दै उनले १५ औं ग्रान्डस्लाम हात पारेका थिए । तर पछि उक्त रेकर्ड स्पेनी खेलाडी राफायल नाडालले तोडेका थिए ।
१९८१ अगस्ट ८ मा जन्मिएका फेडेररले आठ वर्षको उमेरदेखि नै टेनिस खेल्न सुरु गरेका थिए । १९९८ देखि भने उनी व्यावसायिक खेल जीवनमा प्रवेश गरेका थिए । फेडेररले २१ वर्षको उमेर (२००३) मा पहिलो ग्रान्डस्लाम हात पारेका थिए । खेल जीवनका दौरान फेडेररले २० वटा ग्रान्डस्लाम उचालिसकेका छन् । सर्बियन खेलाडी नोभाक जोकोभिचले २४ र स्पेनी खेलाडी नाडालले २२ ग्रान्डस्लाम जितिसकेका छन् ।
फेडेरर सयभन्दा बढी उपाधि जित्ने दोस्रो खेलाडी हुन् । उनले १०३ उपाधि जितिसकेका छन् । फेडेररभन्दा अघि अमेरिकी खेलाडी जिम्मी कोर्नसले १०९ उपाधि जितेका थिए । हालसम्म जोकोभिचले ९८ र नाडालले ९२ वटा उपाधि हात पारेका छन् ।
