फरक क्षमताका पदम सर

झापाका पदम अधिकारी शारीरिक रूपमा फरक भए पनि डेढ दशकयता उनले  बिर्तामोड–९ स्थित दुर्गा माविका विद्यार्थीलाई शिक्षाको ज्योति छरिरहेका छन्

असार २०, २०८१

पर्वत पोर्तेल

Padam sir of different abilities

झापा — झापा बिर्तामोडका पदम अधिकारीका हातखुट्टा दुवै छन् । तर, हातले समात्न र खुट्टाले टेक्न भने मिल्दैन । दाहिने हातको कुहिनो मुन्तिरको भाग छैन । देब्रे हात त छ तर औंलाहरू सग्ला छैनन् । दाहिने खुट्टाको घुँडामुनि र देब्रे गोडाको पैताला नै छैन । २०४१ सालमा पूर्वी पहाडको विकट गाउँ निगुरादिनमा उनी जन्मिँदा सबै छक्क परेका थिए ।

अजिबको बालक धर्तीमा त जन्मियो । तर, उसका पैतालाले अहिलेसम्म धर्ती टेक्न पाएको छैन । करिब चार दशकयता अधिकारी घुँडाको सहारामा हिँडडुल गर्न विवश छन् । 

पदम २०५२ सालतिर परिवारसहित मधेश (झापा) झरे । उबेला अहिलेजस्तो ठूलो र कालोपत्र बाटो थिएन । गोरेटो–घोडेटो मात्रै थियो । उनी आमाको पिठ्यूँमा चढेर धरान झरे, अहिलेको तमोर करिडोर हुँदै । ‘मैले पहिलो पटक गाडी देखेको धरानमै हो,’ पदमले करिब तीन दशकअघिको सम्झना सुनाए, ‘गाडी देखेर म छक्क परेको थिएँ ।’ उनी पहिलो पटक नै गाडी पनि चढेका थिए, धरानबाट झापा आउँदा । ‘बडो अजिब लागेको थियो, गाडी चढ्दा,’ उनी भन्छन्, ‘त्यो बेलाको गाडीको रूपरंग अझै आँखामा झलझली छ ।’

पहाडमै कक्षा ५ पास गरेका थिए पदमले । पहाडको स्कुल, उकालो–ओरालो पदमको अशक्त शरीरलाई सह्य थिएन । तर, स्कुल पढ्ने हुटहुटीका कारणले उनले ती सबै दुःखपीडा बिर्सिए । खासमा पदमलाई बोर्डिङ स्कुल पढाउने योजना बुनेर नै बाबुआमा झापा झारेका थिए । ५ कक्षा पास गरेका पदमलाई बोर्डिङ स्कुलले भर्ना त लियो तर, २ कक्षा घटुवा गरेर । कक्षा ६ मा भर्ना हुनुपर्ने पदम कक्षा ४ मा पढ्न सुरु गरे । 

Padam sir of different abilitiesबिर्तामोडको महानन्द चोकनजिकै घर थियो । त्यहाँबाट घुँडाको सहारामा नियमित स्कुल धाउन थाले उनी । घरदेखि करिब आधा घण्टा हिँडेपछि स्थानीय कन्काई बोर्डिङ स्कुल पुगिन्थ्यो । एसएलसी कन्काईबाटै गरे । प्लस टु र स्नातक पनि कन्काई आदर्श क्याम्पसबाटै गरे । व्यवस्थापनमा भनेजस्तो नम्बर नआएपछि उनले अरू विषय पढ्ने रुचि देखाए । ग्रामीण विकास र समाजशास्त्रलाई मूल विषय बनाएर उनी मोरङको उर्लाबारीस्थित मदन भण्डारी कलेज भर्ना भए । 

‘कलेज गइराख्नु पर्दैनथ्यो,’ उनी भन्छन्, ‘परीक्षा दिन मात्रै गए हुन्थ्यो ।’ त्यही मेसोमा उनले स्नातक उत्तीर्ण गरे । एकै समयमा उनले एकवर्षे बीएड पनि सिध्याए । २०६६ सालमा विशेष राहत कोटाबाट उनी बिर्तामोड नगरपालिका–९ गरामनीस्थित दुर्गा माविको शिक्षक नियुक्त भए । करिब डेढ दशकयता उनी दुर्गा माविका विद्यार्थीलाई पढाइरहेका छन् । बिर्तामोड–५ स्थित घरबाट दुर्गा माविको दूरी करिब ७ किलोमिटर छ । उनी आतेजाते दैनिक १४ किलोमिटर लामो दूरी पार गरेर सधैं स्कुल आउजाउ गर्छन् । ‘प्रायःजसो अटो रिक्सा र गाडीमा स्कुलसम्म धाउँछु,’ पदमले सुनाए, ‘कहिलेकाहीँ हिँडेरै पनि स्कुलचाहिँ पुग्छु ।’ 

Padam sir of different abilitiesपदम विशेष प्रकारको अपांग छन्, जसलाई सामान्य खालको ह्विलचियर पनि चढ्न मिल्दैन । चारचक्के स्कुटर (ट्राइसाइकल) चढ्न त उपयुक्त हुन्न किनकि ‘हेन्डल’ समात्ने हात पनि उनीसँग छैन । उनले लगाउने जुत्ता नै विशेष प्रकारको छ । जुन जुत्ता बजारमा भेटिने कुरै भएन । अर्डर दिँदासमेत हतपत कसैले बनाउन मान्दैनन् । चार वर्षअघि १७ हजार खर्चिएर बनाएको जुत्ता लगाउँदै पदमले सुनाए, ‘मैले लगाउने जुत्ता बनाउनै गाह्रो छ । बनाउने मान्छे पनि भेटिँदैन ।’ 

विगत चार वर्षदेखि उनी त्यही पुरानै जुत्ता लगाएर हिँडडुल गरिरहेका छन् । ‘नयाँ बनाउने मान्छे भेटिँदैन, फेरि दाम पनि महँगो नै पर्छ,’ उनले दुखेसो पोखे । घरमा बुबाआमा र उनी बस्छन् । भाइ पनि शिक्षक नै छन् । भाइ ताप्लेजुङमै बस्छन् । ‘आमाबुबालाई पालिरहनुभएको छ हैन त ?,’ प्रश्न भुइँमा खस्न नपाउँदै उनी हाँस्दै बोले, ‘हैन, म आमाबुबासँगै छु ।’ 

Padam sir of different abilitiesपढाइमा भने पदम सानैदेखि तीक्ष्ण थिए । उनले पढाइलाई निरन्तरता दिइरहे । जसले आज उनी शिक्षक बनेर स–साना विद्यार्थीलाई शिक्षा बाँडिरहेका छन् । उनको शारीरिक अवस्था झट्ट देख्नेलाई कठिन होला भन्ने लाग्न सक्छ । तर, उनीचाहिँ आफ्नो शरीरलाई जहिल्यै माया गर्छन् । शरीरलाई उनले कहिल्यै कठिन वस्तु ठानेनन् । ‘सम्झिँदा धेरैलाई कठिन लाग्न सक्छ तर म चैं कठिन मान्दिनँ,’ उनी भन्छन् । 

शिक्षणअघि उनी विभिन्न सामाजिक संस्थामा सक्रिय थिए । ‘सेभ द चिल्ड्रेन’ लगायतका गैरसरकारी संस्थासँग नजिक भएर अपांगको हकहितका लागि काम गरेका उनी २०६१ तिरै इजिप्ट गएका थिए, एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन । परिवारले पढ्ने अवसर दिएका कारण आज जीवन सहज भएको बताउँछन् उनी । ‘पढ्न नपाएको भएचाहिँ मेरो जीवन असहज हुन्थ्यो होला,’ उनी भन्छन्, ‘पढ्न, लेख्न पाएकाले मेरो जीवन सार्थक बनेको छ ।’

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully