कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

फरक क्षमताका पदम सर

झापाका पदम अधिकारी शारीरिक रूपमा फरक भए पनि डेढ दशकयता उनले  बिर्तामोड–९ स्थित दुर्गा माविका विद्यार्थीलाई शिक्षाको ज्योति छरिरहेका छन्

झापा — झापा बिर्तामोडका पदम अधिकारीका हातखुट्टा दुवै छन् । तर, हातले समात्न र खुट्टाले टेक्न भने मिल्दैन । दाहिने हातको कुहिनो मुन्तिरको भाग छैन । देब्रे हात त छ तर औंलाहरू सग्ला छैनन् । दाहिने खुट्टाको घुँडामुनि र देब्रे गोडाको पैताला नै छैन । २०४१ सालमा पूर्वी पहाडको विकट गाउँ निगुरादिनमा उनी जन्मिँदा सबै छक्क परेका थिए ।

फरक क्षमताका पदम सर

अजिबको बालक धर्तीमा त जन्मियो । तर, उसका पैतालाले अहिलेसम्म धर्ती टेक्न पाएको छैन । करिब चार दशकयता अधिकारी घुँडाको सहारामा हिँडडुल गर्न विवश छन् ।

पदम २०५२ सालतिर परिवारसहित मधेश (झापा) झरे । उबेला अहिलेजस्तो ठूलो र कालोपत्र बाटो थिएन । गोरेटो–घोडेटो मात्रै थियो । उनी आमाको पिठ्यूँमा चढेर धरान झरे, अहिलेको तमोर करिडोर हुँदै । ‘मैले पहिलो पटक गाडी देखेको धरानमै हो,’ पदमले करिब तीन दशकअघिको सम्झना सुनाए, ‘गाडी देखेर म छक्क परेको थिएँ ।’ उनी पहिलो पटक नै गाडी पनि चढेका थिए, धरानबाट झापा आउँदा । ‘बडो अजिब लागेको थियो, गाडी चढ्दा,’ उनी भन्छन्, ‘त्यो बेलाको गाडीको रूपरंग अझै आँखामा झलझली छ ।’

पहाडमै कक्षा ५ पास गरेका थिए पदमले । पहाडको स्कुल, उकालो–ओरालो पदमको अशक्त शरीरलाई सह्य थिएन । तर, स्कुल पढ्ने हुटहुटीका कारणले उनले ती सबै दुःखपीडा बिर्सिए । खासमा पदमलाई बोर्डिङ स्कुल पढाउने योजना बुनेर नै बाबुआमा झापा झारेका थिए । ५ कक्षा पास गरेका पदमलाई बोर्डिङ स्कुलले भर्ना त लियो तर, २ कक्षा घटुवा गरेर । कक्षा ६ मा भर्ना हुनुपर्ने पदम कक्षा ४ मा पढ्न सुरु गरे ।

बिर्तामोडको महानन्द चोकनजिकै घर थियो । त्यहाँबाट घुँडाको सहारामा नियमित स्कुल धाउन थाले उनी । घरदेखि करिब आधा घण्टा हिँडेपछि स्थानीय कन्काई बोर्डिङ स्कुल पुगिन्थ्यो । एसएलसी कन्काईबाटै गरे । प्लस टु र स्नातक पनि कन्काई आदर्श क्याम्पसबाटै गरे । व्यवस्थापनमा भनेजस्तो नम्बर नआएपछि उनले अरू विषय पढ्ने रुचि देखाए । ग्रामीण विकास र समाजशास्त्रलाई मूल विषय बनाएर उनी मोरङको उर्लाबारीस्थित मदन भण्डारी कलेज भर्ना भए ।

‘कलेज गइराख्नु पर्दैनथ्यो,’ उनी भन्छन्, ‘परीक्षा दिन मात्रै गए हुन्थ्यो ।’ त्यही मेसोमा उनले स्नातक उत्तीर्ण गरे । एकै समयमा उनले एकवर्षे बीएड पनि सिध्याए । २०६६ सालमा विशेष राहत कोटाबाट उनी बिर्तामोड नगरपालिका–९ गरामनीस्थित दुर्गा माविको शिक्षक नियुक्त भए । करिब डेढ दशकयता उनी दुर्गा माविका विद्यार्थीलाई पढाइरहेका छन् । बिर्तामोड–५ स्थित घरबाट दुर्गा माविको दूरी करिब ७ किलोमिटर छ । उनी आतेजाते दैनिक १४ किलोमिटर लामो दूरी पार गरेर सधैं स्कुल आउजाउ गर्छन् । ‘प्रायःजसो अटो रिक्सा र गाडीमा स्कुलसम्म धाउँछु,’ पदमले सुनाए, ‘कहिलेकाहीँ हिँडेरै पनि स्कुलचाहिँ पुग्छु ।’

पदम विशेष प्रकारको अपांग छन्, जसलाई सामान्य खालको ह्विलचियर पनि चढ्न मिल्दैन । चारचक्के स्कुटर (ट्राइसाइकल) चढ्न त उपयुक्त हुन्न किनकि ‘हेन्डल’ समात्ने हात पनि उनीसँग छैन । उनले लगाउने जुत्ता नै विशेष प्रकारको छ । जुन जुत्ता बजारमा भेटिने कुरै भएन । अर्डर दिँदासमेत हतपत कसैले बनाउन मान्दैनन् । चार वर्षअघि १७ हजार खर्चिएर बनाएको जुत्ता लगाउँदै पदमले सुनाए, ‘मैले लगाउने जुत्ता बनाउनै गाह्रो छ । बनाउने मान्छे पनि भेटिँदैन ।’

विगत चार वर्षदेखि उनी त्यही पुरानै जुत्ता लगाएर हिँडडुल गरिरहेका छन् । ‘नयाँ बनाउने मान्छे भेटिँदैन, फेरि दाम पनि महँगो नै पर्छ,’ उनले दुखेसो पोखे । घरमा बुबाआमा र उनी बस्छन् । भाइ पनि शिक्षक नै छन् । भाइ ताप्लेजुङमै बस्छन् । ‘आमाबुबालाई पालिरहनुभएको छ हैन त ?,’ प्रश्न भुइँमा खस्न नपाउँदै उनी हाँस्दै बोले, ‘हैन, म आमाबुबासँगै छु ।’

पढाइमा भने पदम सानैदेखि तीक्ष्ण थिए । उनले पढाइलाई निरन्तरता दिइरहे । जसले आज उनी शिक्षक बनेर स–साना विद्यार्थीलाई शिक्षा बाँडिरहेका छन् । उनको शारीरिक अवस्था झट्ट देख्नेलाई कठिन होला भन्ने लाग्न सक्छ । तर, उनीचाहिँ आफ्नो शरीरलाई जहिल्यै माया गर्छन् । शरीरलाई उनले कहिल्यै कठिन वस्तु ठानेनन् । ‘सम्झिँदा धेरैलाई कठिन लाग्न सक्छ तर म चैं कठिन मान्दिनँ,’ उनी भन्छन् ।

शिक्षणअघि उनी विभिन्न सामाजिक संस्थामा सक्रिय थिए । ‘सेभ द चिल्ड्रेन’ लगायतका गैरसरकारी संस्थासँग नजिक भएर अपांगको हकहितका लागि काम गरेका उनी २०६१ तिरै इजिप्ट गएका थिए, एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन । परिवारले पढ्ने अवसर दिएका कारण आज जीवन सहज भएको बताउँछन् उनी । ‘पढ्न नपाएको भएचाहिँ मेरो जीवन असहज हुन्थ्यो होला,’ उनी भन्छन्, ‘पढ्न, लेख्न पाएकाले मेरो जीवन सार्थक बनेको छ ।’

प्रकाशित : असार २०, २०८१ ०६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×