केन्द्रीय सदस्य चयनपछि मात्रै पदाधिकारीको टुंगो लगाउने एकीकृत समाजवादीको निर्णय

असार २२, २०८१

कान्तिपुर संवाददाता

Unified Samajwadi's decision to decide office bearers only after selection of central members

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) ले २९९ केन्द्रीय सदस्य चयन भइसकेपछि मात्रै पदाधिकारी टुंगो लगाउने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको पार्टीका नेता जगन्नाथ खतिवडाले बताए ।

बैठकले महाधिवेशनको सामान्यतया समीक्षा गरेको र महाधिवेशन भव्यतापूर्ण सम्पन्न भएको निस्कर्ष निकालेको उनले बताए । उनले महाधिवेशनबाट पार्टीका नेता, कार्यकर्तामा ठूलो उत्साह पैदा भएको दाबी गरे । 

उनले भने, ‘बैठकले महाधिवेशनको सामान्यतया समीक्षा गरेको छ । बृहत समीक्षा पछि गरिनेछ । आजको बैठकले केही निस्कर्ष निकालेको छ । हाम्रो महाधिवेशन भव्यतापूर्ण सम्पन्न भएको छ । कार्यक्रमहरु राम्रोसँग सम्पन्न भएका छन् । समूहगत छलफलमा प्रतिनिधिहरुले उत्साहपूर्ण ढंगले छलफल गरेका छन् । महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरिएको छ । यसका कारणले देशव्यापी रुपमा कार्यकर्तामा धेरै ठूलो उत्साह पैदा भएको छ । यो महाधिवेशनले अनेकौँ आशंका चिर्दै बिद्रोहबाट निर्माण भएको पार्टीको सम्पूर्ण काम, गतिविधि, क्रियाकलाप र नीतिहरुको अनुमोदन गरेको छ ।'

नेता खतिवडाका अनुसार बैठकले महाधिवेशनबाट पार्टीलाई अघि बढाउन धेरै ठूलो उर्जा प्राप्त भएको निस्कर्ष निकालेको छ । 'अहिलेको अन्तरिम अवस्थामा पदाधिकारी नयाँ चयन भइ नसकेको तर हाम्रा पुराना पार्टीका दैनिक कामलाई पुरानो कमिटीले सञ्चालन गरिरहको दैनिक काम पुनः सञ्चालन गर्नुपर्ने, यसका बैंक खाताहरु सञ्चालन गर्नुपर्ने, प्रत्येक दिनका दैनिक काम व्यवस्थापन गर्न आज भन्दा अगाडि जुन जुन जिम्मेवारी जसले जसले लिएका थियौँ, त्यही त्यही जिम्मेवारी तिनै व्यक्तिलाई अन्तरिम अवस्थाको लागि त्यो अधिकार प्रयोग गर्न दिइएको छ,' उनले भने, 'कमिटीलाई पूर्णता दिन थप छलफल गर्नुपर्ने भएकाले आइतबार ११ बजे बैठक बस्नेछौँ ।'

महाधिवेशनले पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने व्यवस्था गरेको उनले बताए । 

कान्तिपुर

Link copied successfully