कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

करेन्ट लागेर मधेशमा मात्र ५ वर्षमा ४४९ को मृत्यु

रौतहट, गरुडा–३ का वडाध्यक्ष अम्बिका सहनी भन्छिन्, ‘धेरैजसो स्थानमा विद्युत्को तार तलैसम्म लत्रेको हुन्छ । तर प्राधिकरणले व्यवस्थित गर्दैन, मैले पटकपटक प्राधिकरणको ध्यानाकर्षण गराएको छु । तर कुनै सुनुवाइ भएको छैन ।’
शिव पुरी

रौतहट — रौतहटको गरुडा–३, मलाही टोलकी ३० वर्षीया मनीषा सहनीलाई २०८० चैत २१ गतेको घटना सम्झिन पनि मन लाग्दैन । मकवानपुरको राक्सीराङ गाउँपालिका–९ खैराङस्थित कालिका माध्यमिक विद्यालयमा पढाउने उनका ४० वर्षीय पति मनोज त्यस दिन छुट्टीमा घर आएका थिए । तरकारी खेतीमा पानी लगाउन मोटर चलाउने क्रममा उनलाई करेन्ट लाग्यो । घटनाका बेला मनीषा र ६९ वर्षीय बुबा विश्वनाथ छेवैमा थिए । मोटरको तार छुँदा मनोज एक्कासि ढले । हारगुहार माग्दामाग्दै उनको प्राण उड्यो । 

करेन्ट लागेर मधेशमा मात्र ५ वर्षमा ४४९ को मृत्यु

‘हेर्दाहेर्दै कल्पना नै नगरेको घटना भयो, हाम्रो आशाको दियो नै निभ्यो,’ मनीषाले सुनाइन्, ‘भगवान्को लीला पनि कस्तो ! कमाएर परिवार पाल्नेलाई उठाइदिने ? हाम्रो त बिजोगै भो ।’ परिवारको कान्छो छोरा मनोज एमएस्सीको पढाइ सकेर शिक्षक भएका थिए । बुबा विश्वनाथले भने, ‘तरकारी बेचेर छोरालाई शिक्षक बनाएँ । आज मेरो भरोसा नै गुमाउनुपर्दा साह्रै दुःखी छु ।’

मनीषाको घरमा जस्तै घटना भयो, सर्लाहीको ईश्वरपुर नगरपालिका–९ स्थित रामनगरका ३३ वर्षीय राम महतोको घरमा पनि । घटना वैशाख २८ साँझको हो । घरअगाडिको विद्युत् पोलमा तानिएको इन्टरनेटको तार तल भुइँमा लत्रिएको थियो । छिमेकका एक बालक लत्रेको तारमा अल्झिएर लडेको देखेपछि राम दौडिँदै उठाउन पुगे । लत्रिएको तार छेउतिर तान्न लागेका बेला रामलाई करेन्ट लाग्यो । उनी भुइँमा ढलेको देखेपछि आँगनमा रहेकी रामकी श्रीमती कसुम दौडिँदै पुगिन् । कसोकसो उनले श्रीमान्लाई करेन्ट प्रवाह भइरहेको तारबाट छुटाइन् । तर उनी भने त्यही बेला करेन्ट लागेर ढलिन् । विद्युतीय जलनले गम्भीर घाइते भएका रामले हेर्दाहेर्दै कुसुमको ज्यान गयो ।

यस घटनापछि राम हरेक दिन घरअघिको विद्युत्को पोल देख्दा श्रीमतीको यादले भावुक हुन्छन् । ‘सधैं उसैको याद आउँछ, फर्किन्छे कि जस्तो लागेर हेरिरहन्छु,’ रामले सुनाए, ‘काल मलाई आउनुपर्ने तर त्यसले त श्रीमतीलाई लिएर गयो ।’ यस घटनाका दिन करेन्ट लागेर गम्भीर घाइते भएका रामलाई तत्कालै सर्लाही अस्पताल बयलबास लगिएको थियो । १२ घण्टापछि होसमा आउँदा उनले हातखुट्टामा गम्भीर असर गरेको थाहा पाए । उक्त घटनाको यतिका दिनपछि पनि रामका हातखुट्टा पहिलेजस्ता भएका छैनन् । कमजोर आर्थिक अवस्थाका राम यतिबेला एकातिर श्रीमतीको निधनको चोटमा छन् भने अर्कोतिर दुई छोरा हुर्काउने दायित्व कसरी पूरा गर्ने होला भन्ने चिन्तामा छन् ।

रामको आक्रोश आफ्नी श्रीमतीको ज्यान जाने घटनामा इन्टरनेटको तार व्यवस्थित नगर्ने कम्पनीमाथि पनि उत्तिकै छ । इलाका प्रहरी कार्यालय बयलबासका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठले भने मृतकका परिवारले नै पोलमा टाँगिएको इन्टरनेटको तार काट्दा घटना भएको दाबी गरे । ‘उनीहरू आफैंले तार काटेका रहेछन्,’ उनले भने, ‘केबल नेटवर्कवालाको लापरबाही देखिएको भए अवश्य पनि उसलाई कारबाही गर्थ्यौं ।’

घर आँगनमा आएको विद्युत्को उज्यालोसँगै आइपरेको अँध्यारो भोग्न बाध्य मनीषा र रामजस्ता थुप्रै पात्र मधेशमा छन् । गरुडा–२ गेडहीगुठी गाउँका दिनेश सहनीको परिवारमा विद्युत्ले निम्त्याएको शोकको कथा झनै गहिरो छ । घटना २०७९ भदौ १५ दिउँसोको हो । घरमा कोही थिएनन् । दिनेश काम विशेषले घरबाहिर थिए । आमा सुगन्धीदेवी पूजा गर्न मन्दिर गएकी थिइन् । १४ वर्षीय छोरी अमरिका स्कुलबाट फर्केर मोटर चलाएर चिसो पानी पिउन लागेकी थिइन् । त्यही बेला कसोकसो उनलाई करेन्ट लाग्यो । छिमेकीले अमिरा ढलेको खबर दिनेश र सुगन्धीलाई गरे ।

छोरीलाई करेन्ट लागेको खबर सुन्नासाथ सुगन्धी बाटोमै ढलिन् । उनको होस आउँदा उपचार गर्न भन्दै गरुडा अस्पताल पुर्‍याएकी छोरी अमरियाले संसार छोडिसकेकी थिइन् । दिनेशले भने, ‘बिहान विद्यालय जान लाग्दा छोरी राम्ररी जाऊ है भन्ने शब्द नै अन्तिम बन्यो ।’ छोरीको मृत्युको घटनापछि दिनेशले धाराबाट मोटर हटाए । घटनाबारे विद्युत् प्राधिकरणमा पनि जानकारी गराए । तर प्राधिकरणले यस्तो घटनाबारे अनदेखा गर्‍यो । गरुडा–३ का वडाध्यक्ष अम्बिका सहनीले पछिल्लो समय विद्युत् प्राधिकरणको लापरबाही र नागरिक सचेत नहुँदा करेन्ट लागेर मृत्यु हुने घटना बढेको सुनाए ।

‘धेरैजसो स्थानमा विद्युत्को तार तलैसम्म लत्रेको हुन्छ । तर प्राधिकरणले व्यवस्थित गर्दैन,’ उनले भने, ‘मैले पटकपटक प्राधिकरणको ध्यानाकर्षण गराएको छु । तर कुनै सुनुवाइ भएको छैन ।’ उनले विद्युत्बाट कसरी सुरक्षित रहने भन्ने विषयमा अहिलेसम्म प्राधिकरणले ग्रामीण भेगमा कार्यक्रम नगरेको बताए । प्राधिकरणको लापरबाही र सेवाग्राहीकै कमजोरीका कारण करेन्ट लागेर सर्वसाधारणको मृत्यु हुने घटना बढिरहेका छन् । अधिकांश घटना धारा र खेतमा जडान गरिएको मोटरमा विद्युत् सर्ट भई हुने गरेको छ । मधेश प्रदेश प्रहरीका अनुसार २०७५ सालयता मात्रै मधेश प्रदेशमा करेन्ट लागेर ४ सय ४९ जनाको मृत्यु भइसकेको छ ।

गत वर्षको मंसिर २३ गतेको घटना हो । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ स्थित खेतमा चैते धान रोप्नका लागि जोतिरहेको ज१त ४३१४ नम्बरको ट्र्याक्टरमा अचानक करेन्ट प्रवाह हुँदा सोही ठाउँका २७ वर्षीय चालक राजेश पासवानको मृत्यु भएको थियो । खेतमा पानी सिँचाइ गरिरहेको मोटरबाट विद्युत् प्रवाह भएर ट्र्याक्टरसम्म पुगेको थियो । यस घटनामा घाइते भएका चालक पासवानलाई स्थानीयले उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा त पुर्‍याए तर उनलाई बचाउन सकिएन ।

२०८० वैशाख १३ गते दिउँसो रौतहटको कटहरिया नगरपालिका–९ डुमरिया गाउँका विसा पासवानका १५ वर्षीय छोरा चन्दन पासवानको पनि करेन्ट लागेर मृत्यु भएको थियो । आफ्नै खेतमा विद्युत् मोटर जोडेर पानी तान्ने क्रममा पासवानलाई करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत भएका उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया लगिएको थियो । चिकित्सकले उनलाई त्यहीं मृत घोषणा गरे ।

नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेश प्रमुख मुनिन्द्र ठाकुरले प्राधिकरणको लापरबाहीले गर्दा कसैको ज्यान गयो भने ५ लाख क्षतिपूर्ति दिने व्यवस्था रहेको बताए । ‘मधेश प्रदेशमा बर्सेनि करेन्ट लागेर मृत्यु हुनेको संख्या बढ्दो छ । मानिसहरू सचेत हुन सकेका छैनन्,’ उनले भने, ‘लापरबाहीका कारण धेरैको ज्यान गएको छ ।’ ठाकुरका अनुसार प्राधिकरणले लापरबाहीले मृत्यु भएको खण्डमा पीडितको निवेदन दर्तापछि प्राधिकरणले छानबिन समिति गठन गर्छ ।

जिल्ला प्रशासन र स्थानीय तहका प्रतिनिधिसहितको समितिले घरमा पुगेर वास्तविक पत्ता लगाउँछ । प्राधिकरणको लापरबाही हो भन्ने यकिन भएपछि मात्र ५ लाख क्षतिपूर्ति दिइन्छ । त्यस्तै प्राधिकरणले पशुको हकमा गोरु मरेको छ भने १५ र भैंसीको हकमा २० हजार रुपैयाँ क्षतिपूर्ति दिने गर्छ । उनले पोल ढलेर, तार झरेर वा हेलचेक्र्याइँले मानिसको ज्यान गएको छ भने मात्र प्राधिकरणले क्षतिपूर्ति दिने प्रस्ट्याए ।

ठाकुरले भनेजस्तो प्राधिकरणबाट क्षतिपूर्ति तत्काल पाउन त्यति सजिलो भने छैन । जस्तो कि, २०८० मंसिर २३ मा रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहामा खेत जोतिरहेका बेला ११ हजार भोल्टको विद्युत्को तार खसेर लाग्दा स्थानीय बैजुलाल पण्डितको मृत्यु भयो । पण्डितसँगै करेन्ट लागेर एउटा गोरुको पनि मृत्यु भएको जिल्ला प्रहरी गौरले जानकारी दियो । मृतक पण्डितका छोरा अशोक पण्डितले बुबाको मृत्युको ५ महिनापछि प्राधिकरणले क्षतिपूर्तिका लागि बोलाएको बताए ।

नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेशका अनुसार पछिल्लो ५ वर्षमा विद्युत्कै कारण दुर्घटनामा परेर मृत्यु भएका मध्ये ३५ जनालाई जनही ५ लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ । सिरहाका ५, धनुषाका १४, महोत्तरीका ३, सर्लाहीका ४, रौतहतका ६, बाराका ५ र पर्साका १ मृतक परिवारका सदस्यले क्षतिपूर्ति पाएका हुन् । यो तथ्यांकले करेन्ट लागेर मृत्यु भएकामध्ये ३८ प्रतिशतले मात्रै क्षतिपूर्ति पाएको देखिन्छ ।

मधेश प्रदेशका उद्योग तथा पर्यटनमन्त्री युवराज भट्टराई विद्युत्बाट हुने दुर्घटना कम गर्न गाउँ/गाउँमा सचेतना कार्यक्रम गर्नुपर्ने बताउँछन् । ‘विद्युत् जोखिम कम गर्न प्राधिकरणकै भूमिका धेरै हुन्छ,’ उनले भने, ‘स्थानीयको लापरबाही भनेर पन्छिन मिल्दैन ।’ गौर नगरपालिका प्रमुख शम्भु साहले पनि विद्युत्बाट हुने दुर्घटना कम गर्न विद्युत् प्राधिकरणले गाउँ/गाउँमा सचेतना कार्यक्रम नगरिरहेको बताए ।

करेन्ट लागेर हुने मृत्युका घटनापछि प्रहरीले पीडितबाट भवितव्यको जाहेरी दर्ता गर्दै आएको छ । जाहेरी दर्तापछि कसैले करेन्ट लगाइदिएको हो वा आफैं लागेको भन्ने गहिरिएर अनुसन्धान गर्नुपर्ने जिल्ला प्रहरी रौतहटका मुद्दा फाँटका प्रहरी निरीक्षक उमाशंकर गुप्ताले बताए । मधेशमा भएका अधिकांश घटना मृतकको लापरबाहीकै कारण हुने गरेको प्रहरी अनुसन्धानबाट देखिएको उनले बताए । ‘लापरबाही वा अरूले बदला लिन करेन्ट लगाइदिएको भन्ने अनुसन्धानपछि थाहा हुन्छ,’ प्रहरी निरीक्षक गुप्ताले भने, ‘आफैं करेन्ट लागेको हो भने भवितव्यमा जान्छ । अरूले नै लगाइदिएको हो भने कर्तव्य ज्यानमा मुद्दा चल्छ ।’

प्रकाशित : असार २२, २०८१ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×