२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

‘धौलागिरी, अन्नपूर्ण र मनास्लुले हजारौं चिनियाँलाई आकर्षित गर्छन्’

व्यक्तिगत रूपमा मलाई मुस्ताङको आलु धेरै मन पर्छ । यो आलुको बीउ सुरुमा सिजाङ स्वायत्त क्षेत्रबाट ल्याइयो । उत्तरी क्षेत्रमा निकै उत्पादन भयो र नेपालमा लोकप्रिय बन्यो । विशेष नेपाली स्वाद भएको मुस्ताङ आलु पहिलो पटक खाँदा म निकै आकर्षित भएँ । मुस्ताङ आलु चीन र नेपालबीचको मित्रताको प्रतीकका साथै दुई देशबीचको व्यावहारिक सहयोगको नमुना पनि हो । 

काठमाडौँ — नेपाल र चीनबीच सन् १९५५ अगस्ट १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को एकल सत्ता सञ्चालन रहेको उत्तरी छिमेक चीन र नेपालबीच त्यसयता द्विपक्षीय सम्बन्ध थप बलियो र मजबुत बन्दै गइरहेको छ । पछिल्लो समयमा दुई मुलुकले बहुपक्षीय सम्बन्धलाई पनि जोड दिइरहेका छन् ।

‘धौलागिरी, अन्नपूर्ण र मनास्लुले हजारौं चिनियाँलाई आकर्षित गर्छन्’

‘एक चीन नीति’ अवलम्बन गर्दै आइरहेको नेपालले चीनकै चाहनाअनुसार २०२३ मा प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा ‘एक चीन सिद्धान्त’ मान्ने सहमति गरेको थियो । कूटनीतिक सम्बन्ध स्थापना भएकै वर्षदेखि चीनले काठमाडौंमा दूतावास खोलेको हो भने नेपालले बेइजिङमा १९५६ देखि दूतावास सञ्चालनमा ल्यायो । बेइजिङस्थित दूतावासबाहेक नेपालका ल्हासा, हङकङ, छेन्दु र गोन्जाउमा महावाणिज्य दूतावास छन् । दुई मुलुकबीचको सम्बन्ध थप सुमधुर बनाउने जिम्मेवारीमा हाल काठमाडौंमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ छन् । सोसल मिडियामा सक्रिय छन नेपालका लागि चीनका २२ औं राजदूत हुन् । उनी २०२३ जनवरीमा नेपालमा जिम्मेवारी सम्हाल्न आएका हुन् । राजदूत छनसँग नेपालको भूबनोट, मौसम, संस्कृति, सम्पदालगायत विभिन्न विषयमा कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंशः

पहिलो पटक नेपाल आउँदा कस्तो अनुभव भयो ?

नेपाल हिमालयको दक्षिणी फेदमा अवस्थित छ । यो उत्तरमा चीनको सिजाङ स्वायत्त क्षेत्र (तिब्बत) सँग जोडिएको छ । नेपालको भौगोलिक विविधता उच्च छ, जहाँ उत्तरी हिमाली क्षेत्रदेखि दक्षिणी तराईका भागसम्म फरक–फरक भूबनोट देख्न सकिन्छ । नेपालमा सगरमाथासहित ८००० मिटरभन्दा माथिका विश्वका १४ अग्ला चुचुराहरूमध्ये आठवटा छन् । यसैले उक्त क्षेत्र पर्वतारोहीहरूका लागि लोकप्रिय गन्तव्य बनेको छ । तराई क्षेत्रमा उर्वर भूमि र वन्यजन्तुहरूको अद्भुत विविधता छ । तराई क्षेत्रलाई ‘नेपालको अन्न भण्डार’ भनिन्छ । काठमाडौं उपत्यका, मध्यपहाडी क्षेत्रमा अवस्थित छ । जहाँ ठूलो जनसंख्या, समशीतोष्ण हावापानी र विविध संस्कृतिको स्वामित्वमा छ । र, यो क्षेत्र बस्नका लागि एक आदर्श स्थान हो ।

कामको सिलसिलामा तपाईंले धेरै नेपालीसँग भेटवार्ता गर्नुभयो । नेपालीप्रति तपाईंको धारणा के छ ?

नेपालका लागि चिनियाँ राजदूतको हैसियतमा नेपाली जनतासँग मित्रता गाँस्न र उनीहरूको जीविकोपार्जनमा योगदान पुर्‍याउनु मेरो एउटा मिसन (लक्ष्य) हो । विगत दुई वर्षमा मैले धेरै सरकारी तथा सार्वजनिक संघसंस्थाको भ्रमण गरेको छु । विभिन्न सामाजिक कार्यमा भाग लिएको छु । र, सबै क्षेत्रका नेपाली साथीहरूसँग छलफल गरेको छु । नेपालीहरूको दयालु स्वभावले मलाई धेरै प्रभावित गर्‍यो । चीनमा एउटा पुरानो भनाइ छ, जनताबीचको सौहार्दता नै राज्य–राज्यबीचको सुमधुर सम्बन्धको मुख्य आधार हो । चिनियाँ र नेपाली जनताको आपसी सम्बन्धले चीन–नेपाल मित्रताको जग निर्माण गर्छ ।

नेपालको मौसमबारे तपाईंको धारणा के छ ?

नेपाल विविध हावापानी भएको देश हो । समुद्री सतहबाट केही मिटरदेखि ८००० मिटरभन्दा बढीको उचाइमा मौसमको अवस्था तातोदेखि चिसो हावापानीसम्म छ । समशीतोष्ण मौसम क्षेत्रका रूपमा वर्गीकृत काठमाडौं उपत्यकासँग युनान प्रान्तको ‘चाइनिज स्प्रिङ सिटी’ कुनमिङसँग मिल्दाजुल्दा मौसमी विशेषता छन् । यहाँ न्यानो गर्मी र हल्का जाडोका साथ रमाइलो हावापानी हुन्छ । जुनदेखि सेप्टेम्बरसम्म नेपालमा मनसुन मौसम प्रवेश हुन्छ । जसले हावालाई ओसिलो र सफा बनाउँछ । यद्यपि, यसले बाढी र पहिरोको कारण जनधनको क्षति पनि गर्न सक्छ । अक्टोबरमा वर्षा कम हुन्छ । र, मौसम चिसो र सुक्खा हुन्छ । त्यो मेरा लागि सबैभन्दा आरामदायी र रमाइलो अवधि हो ।

नेपाली खानाबारे कस्तो पाउनुभयो ? कुन खाना मन पर्‍यो ?

नेपालको मौलिक विशेषतामा आधारित परम्परागत खाद्य संस्कृति छ । हालका वर्षहरूमा धेरै आदानप्रदानका साथ नेपालीहरूले केही नयाँ खाना र परिकारहरू सिर्जना गरेका छन् । व्यक्तिगत रूपमा मलाई मुस्ताङको आलु धेरै मन पर्छ । यो आलुको बीउ सुरुमा सिजाङ स्वायत्त क्षेत्रबाट ल्याइयो । उत्तरी क्षेत्रमा निकै उत्पादन भयो र त्यसपछि नेपालमा लोकप्रिय भयो । विशेष नेपाली स्वाद भएको मुस्ताङ आलु पहिलो पटक खाँदा म निकै आकर्षित भएँ । मुस्ताङ आलु चीन र नेपालबीचको मित्रताको प्रतीकका साथै दुई देशबीचको व्यावहारिक सहयोगको नमुना पनि हो । चीनले भविष्यमा नेपाली जनताको जीवनस्तर सुधार गर्न थप कृषि कार्यक्रममा नेपाललाई सहयोग गरिरहनेछ ।

नेपालका चाडपर्व र चालचलनप्रति तपाईंको धारणा के छ ?

नेपाल एक समृद्ध सांस्कृतिक सम्पदा र धार्मिक

चाडपर्वहरू मनाउने देश हो । यहाँ नमस्ते, टीका र सुन्दर परम्परागत पहिरनहरू सहित विभिन्न प्रकारका रीतिरिवाजहरू छन् । नेपाली जनता उदार र मिलनसार स्वभावका लागि परिचित छन् । मलाई सबैभन्दा मन पर्ने कुरा भनेको नेपाली समाजमा ज्येष्ठ नागरिकको सम्मान र बलियो पारिवारिक बन्धन हो । यी मूल्यहरू चिनियाँ समाजमा पनि साझा छन् ।

नेपालका कुनै चाडपर्व मनाउनुहुन्छ ? कुन चाड मन पर्छ ?

चिनियाँ पर्यटकलाई आकर्षित गर्ने एउटा अनौठो चरित्र भनेको नेपाल ‘चाडपर्वको देश’ हो । धेरै नेपाली चाडपर्वहरू नेपालको इतिहास, धर्म र जातिसँग घनिष्ठ रूपमा सम्बन्धित छन् । चाडपर्वहरू सँगै मनाउनु नेपाली संस्कृति र मानिसहरूलाई बुझ्ने प्रक्रिया हो । केही समयअघि मात्रै मैले ललितपुरमा स्थानीय जनतासँग रातो मच्छिन्द्रनाथ रथ पर्व मनाएको थिएँ । चिनियाँ दूतावासले नेपालमा वसन्त पर्व र ड्र्यागन बोट फेस्टिभल जस्ता परम्परागत चिनियाँ चाडपर्वहरू पनि मनाउने गरेको छ । रथ पर्वबाहेक मलाई होली र दीपावली मन पर्छ । यी चाड विश्वभरका पर्यटकहरूका लागि नेपाल आउने महत्त्वपूर्ण अवसर पनि हुन् । यसका लागि यस वर्ष मात्रै हजारौं चिनियाँ पर्यटक नेपाल आए । दीपावलीको समयमा हरेक नेपालीले घरघरमा सुन्दर रंगीन दियो/बत्ती बाल्छन् । र, सम्पूर्ण देशलाई न्यानो र काल्पनिक तरिकाले सजाइएको हुन्छ । चीनको परम्परागत लाल्टिन महोत्सव पनि यस्तै छ, जुन हाम्रा दुई देशबीचको सांस्कृतिक अन्तरक्रियाको अर्को ज्वलन्त उदाहरण हो । होलीको अवसरमा नेपाली, चिनियाँ र अन्य देशका मानिसहरूले एकअर्काको अनुहारमा रङ दल्ने, आशीर्वाद व्यक्त गर्ने तथा संगीतमा नाच्ने गर्दछन् । आजको दिन नेपाल रंगीन र शान्त वातावरणले भरिएको छ । यो मानव जातिको साझा भविष्यका लागि समुदाय निर्माणमा उत्तिकै मूल्यवान छ ।

तपाईंलाई नेपाली भाषा बोल्न आउँछ ? नेपालका भाषाबारे थाहा छ ?

म नेपालीमा ‘नमस्ते, धन्यवाद’ जस्ता केही शब्द मात्र बोल्न सक्छु । नेपालमा धेरै भाषाहरू छन् । र, मुख्यतया प्रत्येक जातीय समूहको आ–आफ्नै भाषा छन् । नेपालमा १२३ वटा भाषा बोलिन्छ भन्ने मैले थाहा पाएको छु ।

नेपालका कुन–कुन ठाउँको भ्रमण गर्नुभएको छ ? तीमध्ये मन परेको स्थान कुन हो ?

म नेपालको रीतिरिवाज बुझ्न र स्थानीय जनतासँग प्रत्यक्ष कुराकानी गर्न चाहन्छु । मैले कोशी, वाग्मती, मधेश, गण्डकी, लुम्बिनी प्रदेशको भ्रमण गरेको छु । मलाई मन पर्ने दुई गन्तव्य पोखरा र तातोपानी हुन् । पोखरा फेवातालको किनारमा अवस्थित निकै सुन्दर सहर हो । अन्नपूर्ण हिमशृंखलामा अवस्थित तीन प्रसिद्ध चुचुराहरू धौलागिरी, अन्नपूर्ण–१ र मनास्लुले प्रत्येक वर्ष हजारौं चिनियाँ पर्यटकलाई आकर्षित गर्दछन् । तातोपानी ऐतिहासिक रूपमा चीन र नेपालबीचको ठूलो व्यापारिक बन्दरगाह हो, जहाँ हामी हिमालय शृंखलाहरूमा समान संस्कृति र जातीय रीतिरिवाजहरू पाउन सक्छौं । दुई ठाउँहरूमध्ये एउटा बढ्दो पर्यटन हब र जनता–जनताको सम्बन्धको साक्षी हो । अर्को दुई देशबीच हजारौं वर्षदेखिको मैत्री आदानप्रदानको साक्षी हो ।

प्रकाशित : असार १, २०८१ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x