कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

‘मिथिला कलाबाट मोहित छु’

धार्मिक परम्परा, विविधता र जीवन प्रतिबिम्बित गर्ने नेपाली कलाबाट म सबैभन्दा बढी आकर्षित हुन्छु । मसँग मिथिला कलाका केही कृति छन्, जुन मैले मधेशको भ्रमण गर्दा लिएकी थिएा । ती मलाई साह्रै मन पर्छन्  : क्यारेन वेल्च कार्यवाहक निर्देशक, यूएसएआईडी–नेपाल

काठमाडौँ — अमेरिकी सरकारले ७७ वर्ष अघिदेखि नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । सन् १९४७ मा नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि अमेरिकाले नेपाललाई सहयोग गर्न थालेको हो । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को औपचारिक स्थापना भने भूतपूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सन् १९६१ मा मात्र गरेका हुन् ।

‘मिथिला कलाबाट मोहित छु’

यसको मतलब नेपाललाई अमेरिकाले यूएसएआईडीको स्थापना हुनुअघिदेखि नै सहयोग गर्न थालेको हो । हाल नेपालस्थित यूएसएआईडीकी कार्यवाहक निर्देशक क्यारेन वेल्च छिन् । नेपाल आउनुअघि उनले विभिन्न देशमा यूएसएआईडी नियोगमा विभिन्न भूमिका निर्वाह गरिसकेकी छन् । त्यसअघि उनी पिसकोर स्वयंसेवक, स्वास्थ्य अध्यापिका र विद्यालय शिक्षिका थिइन् । दुई वर्षदेखि नेपालमा काम गरिरहेकी वेल्चले नेपालका धेरै स्थानमा घुमेकी छन् । उनले नेपाली जनता, यहाँको संस्कृति, चाडपर्व, मौसमलगायत विभिन्न विषयमा अनुभव सँगालिसकेकी छन् । नेपाल सरकार, नेपाली व्यवसायहरू, नागरिक समाज र अन्य साझेदारहरूसँग काम गर्ने जिम्मेवारी पाएको यूएसएआईडी–नेपालकी कार्यवाहक निर्देशक वेल्चसँग कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंशः

पहिलो पटक नेपाल कहिले आउनुभयो र यहाँको भूगोल कस्तो पाउनुभयो ?

म पहिलो पटक नेपाल (काठमाडौं) आउँदा, यस सहरलाई घेरेका पहाडहरूको सौन्दर्यबाट प्रभावित भएँ । काठमाडौं उपत्यकाबाहिरको मेरो पहिलो भ्रमणमा डडेलधुरा जाँदै गर्दा मैले हिमालयको पहिलो झलक देखें । त्यो दृश्य भव्य थियो । अनि यो कुराले मलाई गत महिना नेपालले आयोजना गरेको पर्वत, मानव र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवादको स्मरण गराउँछ । उक्त पहलका साथै जैविक विविधताको संरक्षण र वायु प्रदूषणलाई सम्बोधन गर्नप्रति लक्षित वन तथा वातावरण मन्त्रालयका अन्य कार्यलाई सहयोग पुर्‍याउन सो मन्त्रालय र अन्यसँग साझेदारी गर्न पाएकामा यूएसएआईडीलाई गर्व छ ।

कामको दौरान नेपालमा धेरै व्यक्तिसँग भेटवार्ता गर्नुभयो, नेपालीहरू कस्तो पाउनुभयो ?

नेपालमा रहँदा मैले समाजका सबै क्षेत्रका विभिन्न व्यक्तिसँग भेटेकी छु । आफ्नो संस्कृति र परम्पराप्रति नेपालीको गहिरो सम्मान छ । जुन मलाई विशिष्ट लागेको एउटा कुरा हो ।

दुई वर्षको दौरान तपाईंले नेपालको मौसम कस्तो पाउनुभयो ?

नेपालभरका यूएसएआईडी परियोजनाहरूको भ्रमण गर्दा मैले अनुभुत गरेको नेपालको हावापानी र मौसमको विविधता मलाई मनोरम लागेको छ । पर्वतीय मुलुकका रूपमा नेपाल जलवायु परिवर्तनबाट असमानुपातिक ढंगले प्रभावित छ । यूएसएआईडीमा आफ्नो भूमिका निभाउँदै गर्दा मैले हाम्रा परियोजनाहरूलाई समुदाय र सरकारसँग सबै तहमा सहकार्य गरी ती प्रभावहरूको न्यूनीकरण र अझ उत्थानशील समुदायहरूको निर्माणमा मद्दत गर्न प्रोत्साहन गर्ने गरेकी छु ।

तपाईंलाई सबैभन्दा मन पर्ने नेपाली खाना कुन हो र किन ?

मैले डडेलधुराबारे यसअघि नै बताएँ । उक्त भ्रमणमा खाएको चामलको खिर म अझै सम्झन्छु । त्यो खिर धूवाँको स्वाद आउने र ठिक्कको गुलियो थियो ।

नेपालका चालचलनबारे तपाईंलाई कुन मन पर्‍यो र किन ?

मलाई नेपालको चलनचल्तीको अभिवादन नमस्ते वा नमस्कार मन पर्छ ।

नेपालका चाडपर्व मनाउनुहुन्छ ? मन पर्ने चाड कुन हो र किन ?

मलाई कुकुर तिहार मन पर्छ, जुन दिन टीका, फूलको माला र विशेष खानेकुराले कुकुरको पूजा गरिन्छ । मैले आफ्नो जीवनमा भेटेका कुकुरहरूले मलाई विगतका वर्षमा धेरै खुसी दिएका छन् । कुकुर तिहार कृतज्ञता र सम्मान प्रकट गर्ने साह्रै राम्रो तरिका हो ।

तपाईंलाई नेपाली भाषा बोल्न आउँछ ? नेपालमा कतिवटा भाषा छन् भन्ने थाहा छ ?

मलाई नेपाली बोल्न आउँदैन । म केही शब्द मात्र बोल्न सक्छु । नेपाली भाषाबाहेक नेपाललाई सांस्कृतिक रूपमा यति समृद्ध बनाउने कुरामध्ये एक देशभर बोलिने अनगिन्ती भाषाहरू पनि हुन् । यिनले साँच्चै नेपाललाई अत्यन्त समृद्ध र स्पन्दनशील बनाएका छन् ।

नेपाली साहित्यबारे कत्तिको जानकार हुनुहुन्छ ? मन पर्ने नेपाली साहित्यिक कृति कुनै छ ?

मलाई हेमन्त मिश्रको ‘द सोल अफ द राइनो’ मन पर्‍यो । गैंडाको संरक्षण गर्नेतर्फ उनको व्यक्तिगत यात्रा प्रेरणादायी लाग्यो । उक्त पुस्तकले मलाई लोपोन्मुख प्रजातिहरूको बासस्थान सुधार गर्न र जैविक विविधतामा सकारात्मक प्रभाव पार्न धेरै साझेदारहरूसँग सहकार्य गरी यूएसएआईडीले विगतका वर्षहरूमा प्राप्त गरेको ठूलो सफलताको सम्झना पनि गरायो ।

नेपालका कुन–कुन स्थानको भ्रमण गर्नुभएको छ ? तपाईंलाई मन पर्ने गन्तव्य कुन हो र किन ?

मैले नेपालभर थुप्रै ठाउँको भ्रमण गर्ने सौभाग्य पाएकी छु । तीमध्ये एउटा उल्लेखनीय गन्तव्य हो, गण्डकी प्रदेशमा रहेको पन्चासे । जहाँ मैले केही दिन आफ्नो छोरासँग पदयात्रा गर्दै र नेपालको प्राकृतिक सौन्दर्यमा रमाउँदै बिताएँ ।

तपार्ईं थाहा नै छ, कला र संस्कृतिमा नेपाल समृद्ध छ । नेपालको कला र संस्कृतिबारे तपाईंको धारणा के छ ?

धार्मिक परम्पराहरूको समृद्ध विविधता र जीवन्तता प्रतिबिम्बित गर्ने नेपाली कलाबाट म सबैभन्दा बढी आकर्षित हुन्छु । मसँग मिथिला कलाका केही कृति छन्, जुन मैले मधेशको भ्रमण गर्दा लिएकी थिएँ । ती मलाई साह्रै मन पर्छन् ।

यूएसएआईडी र नेपालबीचको सम्बन्धलाई कसरी हेर्नुहुन्छ ?

अमेरिकी सरकारले ७७ वर्षभन्दा अघिदेखि नेपाललाई सहयोग गर्दै आएको छ । यूएसएआईडीको औपचारिक स्थापना भने भूतपूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनडीले सन् १९६१ मा मात्र गरेका हुन् । हामीले सँगै मिलेर गरेको प्रगतिप्रति हामीलाई गर्व छ । दक्षिण तराई क्षेत्रमा व्यावहारिक रूपमा औलोको उन्मूलन गर्ने, विगतमा नेपालका बस्न अयोग्य क्षेत्रहरूमा खेतीपातीका लागि विकसित गर्ने, साक्षरता दर बढाउने, अपेक्षित आयु दोब्बर बनाउने र बाल मृत्युदर उल्लेखनीय रूपमा घटाउने, शान्ति र लोकतन्त्रको सहजीकरण गर्ने र कोभिड महामारीका बेला खोप, अत्यावश्यक सामग्री र प्राविधिक सहयोग प्रदान गर्ने लगायतमा हामीले सक्दो भूमिका निर्वाह गरेका छौं । नेपालीहरूको सरोकारका विषयमा नेपालीसँग साझेदारी गर्न र हाम्रो सम्बन्धले उल्लेखनीय परिणामहरू ल्याएको देख्न पाउनु सम्मानको विषय हो ।

यूएसएआईडीले नेपालमा कतिवटा कार्यक्रम गरेको छ र भावी नयाँ कार्यक्रम के छन् ?

म संस्थाका कुनै खास कार्यक्रमहरूमा केन्द्रित हुनुभन्दा विगत ६३ वर्षमा नेपालका जनतालाई उनीहरूको लक्ष्य प्राप्तिमा सहयोग गर्न हामी संलग्न भएका साझेदारी र बृहत् सफलताहरूको प्रशंसा गर्न चाहन्छु । हाम्रा कार्यक्रममार्फत हामीले मद्दत गरेका व्यक्तिहरूको संख्याप्रति मलाई गर्व पनि छ । विगत पाँच वर्षमा नेपाल सरकारसँगको साझेदारीमा यूएसएआईडीले मतदाताको अधिकार र खुला, निष्पक्ष, समावेशी तथा विश्वसनीय निर्वाचनलाई टेवा पुर्‍याउन एक करोड ४० लाखभन्दा बढी व्यक्तिलाई नागरिक तथा मतदाता शिक्षा प्राप्त गर्न मद्दत गरेको छ । सन् २०२३ मा मात्र पनि यूएसएआईडी स्वास्थ्य, शिक्षा र आर्थिक वृद्धिका अवसरहरू प्रदान गर्दै १० लाखभन्दा बढी महिलासम्म प्रत्यक्ष रूपमा पुग्यो भने आमसञ्चार अभियानहरूमार्फत थप ५० लाख महिलासम्म अप्रत्यक्ष रूपमा पुग्यो । कृषि क्षेत्रमा यूएसएआईडीले मल, बीउ, सिँचाइ र यान्त्रिकीकरणमा पहुँच बढाउँदै उत्पादकत्व, प्रतिस्पर्धात्मकता र उत्थानशीलतामा सुधार ल्याउन काम गर्दछ । सन् २०२३ मा कृषक तथा साना उद्यमहरूले हाम्रो सहयोगका कारण करिब सवा आठ अर्ब रुपैयाँ बराबरको कृषिसम्बन्धी बिक्री परिमाण हासिल गरे । नेपालले आफ्ना लक्ष्यहरू पूरा गर्न खोज्दै गर्दा यूएसएआईडीले यहाँका जनता, संघसंस्था, व्यवसाय र सरकारसँग साझेदारी गर्न जारी राख्नेछ । सुदृढ, समृद्ध र सार्वभौमसत्ता सम्पन्न नेपाल हाम्रा दुवै देशको हितमा छ ।

प्रकाशित : जेष्ठ २६, २०८१ ०६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x