कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

गाग्रीमा पानी ओसार्ने समस्या समाधान हुन्छ : खानेपानीमन्त्री राई

काठमाडौँ — खानेपानी मन्त्री राजेन्द्रकुमार राईले खानेपानीको समस्या समाधानका लागि आगामी आर्थिक वर्षको बजेट महत्वपूर्ण कोशेढुङ्गा साबित हुने बताएका छन् ।

गाग्रीमा पानी ओसार्ने समस्या समाधान हुन्छ : खानेपानीमन्त्री राई

खानेपानी मन्त्रालयको आगामी आर्थिक वर्षको विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राईले खानेपानीको लाइनमा बस्न नपर्ने गरी बजेट व्यवस्था गरिएको दाबी गरे ।

मुलुकका विभिन्न भागमा अझै पनि खानेपानीका लागि लामो दूरी पार गर्नुपर्ने र सहरी क्षेत्रमा खानेपानीको लागि लामो लाइनमा लाग्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि बजेटमा व्यवस्था गरिएको मन्त्री राईको दाबी थियो । प्रतिनिधिसभाको आइतबारको बैठकमा मन्त्री राईले भने, 'खानेपानीको लाइनमा बस्न नपर्ने अवस्थाको सिर्जना गर्न गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । खानेपानीका लागि कम्मरमा गाग्री र पिठ्युँमा डोको बोक्नुपर्ने समस्याको अन्त्य गर्ने र तपाईंहरुले अर्कोचोटी प्रश्न नउठाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।'

मेलम्ची खानेपानी आयोजनामा बाढीले पुर्‍याएको क्षति पछि आयोजनालाई कसरी अगाडि बढाउने भनेर अध्ययन भएको र बाढीका कारण पुरिएको आयोजनाको ट्याङ्की सुरक्षित स्थानमा लैजानका लागि मन्त्रिपरिषद्मा स्वीकृती पाएको र त्यसका लागि एसियाली विकास बैंकले करिब दुई अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने पनि उनले जानकारी दिए । आयोजनाको दोस्रो चरणअन्तर्गतको कामका लागि लार्के र याङ्ग्री खोलाबाट समान दैनिक १७ करोड लिटर पानी काठमाडौं पुर्‍याउनेगरी योजना निर्माण भइरहेको उनले बताए । याङ्ग्री र लार्के खोलामा बन्ने हेडवक्र्ससम्म पहुँचमार्ग निर्माण भइरहेको उनको भनाइ छ ।

खानेपानी र सरसफाई तीनवटै तहको साझा अधिकार क्षेत्रभित्र पर्ने भएकाले प्रदेश र स्थानीय तहले पनि पर्याप्त बजेट विनियोजन गर्ने मन्त्री राईको भनाइ थियो ।

आगामी आर्थिक वर्षका लागि तय भएको खानेपानी मन्त्रालयको बजेट र वार्षिक विकास कार्यक्रमले सबै जिल्ला र निर्वाचन क्षेत्रका मागलाई सम्बोधन गरेको खानेपानीमन्त्री राईले दाबी गरेका थिए । उनले वार्षिक विकास कार्यक्रममा नपरेका धेरैवटा योजना कार्यान्वयनमा लैजाने तयारी मन्त्रालयले गरिरहेको बताए ।

एसियाली विकास बैंकको सहयोगमा विभिन्न स्थानीय तहमा खानेपानी आयोजनाको प्रक्रियाअघि बढेको र खानेपानी संस्थानले अघि बढाउने आयोजना पनि रातो किताबमा नपरेको उनको भनाइ छ । मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि अल्पकालिन, मध्यमकालिन र दीर्घकालिन योजना मन्त्रालयले बताइरहेको खानेपानी राईले उल्लेख गरेका थिए ।

प्रकाशित : असार ९, २०८१ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×