कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

पोखराको नीति तथा कार्यक्रम : विपन्नलाई पानी र बत्तीको न्युनतम महसुल निःशुल्क 

सन् २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गरिने

पोखरा — पोखरा महानगरभित्र गरिबीको रेखामुनि रहेका नागरिकको स्वास्थ्य बिमा, पानी बिजुलीको न्युनतम महसुस निःशुल्क हुने भएको छ । महानगरपालिका प्रमुख धनराज आचार्यद्वारा आइतबार १५ औं नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा उक्त व्यवस्था गरिएको हो । 

पोखराको नीति तथा कार्यक्रम : विपन्नलाई पानी र बत्तीको न्युनतम महसुल निःशुल्क 

आचार्यले महानगरपालिकाबाट हालै सम्पन्न घरधुरी सर्वेक्षणको आधारमा पहिचान भएका गरिबीको रेखामुनि रहेका नागरिकलाई उक्त सुविधा दिने बताए ।

घरधुरी सर्भेक्षणको नतिजाबाट प्राप्त तथ्याङ्क अनुसार गरिबीको रेखामुनि रहेका घरधुरीको संख्या ५ हजार ९ सय ४८ छ । ती घरधुरीलाई लक्ष्य गरी विशेष कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

‘घरदैलोमा स्वास्थ्य सेवा, जेष्ठ नागरिकलाइ टेवा’ कार्यक्रम सञ्चालन गरी दीर्घरोगी, अपांगता भएका व्यक्ति र ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरघरमा गई निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइनेछ नीति तथा कार्यक्रममा उल्लेख छ ।

पर्यटकीय पूर्वाधारलाई महत्त्व

महानगरको नीति तथा कार्यक्रममा पर्यटकीय पूर्वाधार निर्माणलाई महत्त्व दिइएको छ । गत वर्ष चैत ४ मा पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएकोले पर्यटनसँग सम्बन्धित नीति तथा कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

सन् २०२५ लाई ‘पोखरा भ्रमण वर्ष’ घोषणा गर्ने र पोखरामा १५ लाख पर्यटक भित्र्याउने महानगरको लक्ष्य छ । पर्यटकीय पूर्वाधार निर्माणमा आवश्यक नीतिगत तथा प्रक्रियागत सुधार गरी स्वदेशी तथा विदेशी लगानीकर्तालाई सम्भाव्य परियोजनामा लगानीको लागि प्रोत्साहित गर्न आगामी आर्थिक वर्षमा लगानी बैठक आयोजना गर्ने महानगरको योजना छ ।

फेवातालको उत्तर पश्चिमी खण्डमा बायो–इन्जिनियरिङ अध्ययनको आधारमा ‘मडड्याम’ निर्माण प्रक्रिया सुरु गरिने बताइएको छ । हर्पनखोला र फेवतालको संगमस्थलमा ‘फेवा बीच’ निर्माण गर्ने नीति महानगरले लिएको छ ।

फेवाताल किनारमा अवस्थित रत्न मन्दिरको सञ्चालन तथा व्यवस्थापन पोखरा महानगरपालिकाले गर्ने व्यवस्थाका लागि नेपाल ट्रस्टको कार्यलयसँग समन्वयन गर्ने र रत्न मन्दिर र परिसरको संरक्षण र प्रवर्द्धन गरी उक्त मन्दिरलाई ‘प्यालेस म्युजियम’को रुपमा विकास गरिने महानगर प्रमुख आचार्यले बताए ।

पोखराको पुराना बस्तीको रूपमा परिचित रामकृष्ण टोल, गणेश टोल, तेर्सापट्टी, भैरव टोल, मोहोरिया टोल, विन्ध्यवासिनी लगायत बस्तीको परम्परागत पहिचान र विशिष्टता संरक्षण तथा सम्बर्द्धन गर्न सम्पदा बस्ती सम्बन्धी छुट्टै कानुन निर्माण गरी कार्यान्वयन गरिने उनले उल्लेख गरे ।

बाँदरको अतिक्रमणबाट प्रभावित क्षेत्रमा वैकल्पिक तथा सुरक्षित कृषि बालीको सम्भाव्यता अध्ययन गरी सिफारिसको आधारमा बाँदरले मन नपराउने तर किसानलाई फाइदा हुने कृषि बालीको विकास तथा प्रवर्द्धन गर्ने नीति महानगरले लिएको छ । संघ र प्रदेश सरकारसँग समेत समन्वय गरी बाँदर व्यवस्थापनको पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नव–प्रवर्तन तथा स्टार्टअप उद्यम/व्यवसायको विकास तथा प्रवर्द्धनका लागि नीजि क्षेत्रसँगको सहकार्य समेतको आधारमा ‘विजिनेस इन्क्यूवेसन सेन्टर’ स्थापना गर्ने महानगरको योजना छ ।

पोखरा महानगरपालिकाका ३३ वटै वडाको आ–आफ्नो मौलिकता तथा विशिष्टताको पहिचान दिने, वडाको सम्भावना र अवसरको उपयोग गर्ने गरी ‘एक वडा एक विशिष्ट कार्यक्रम’ अभियान सञ्चालन गर्ने नीति महानगरले लिएको छ ।

‘दिगो कृषिको आधार प्रांगारिक खेतीको विस्तार’ को अभियान अन्तरगत प्रांगारिक पकेट क्षेत्र घोषणा गरी वातावरणमैत्री सहरी कृषिलाई प्रवर्द्धन गर्ने योजना महानगरको नीति तथा कार्यक्रममा समेटिएको छ ।

राजस्व प्रणालीलाइ प्रविधि प्रयोग गरी सरल, सहज र विश्वसनीय बनाउने, राजस्व प्रशासनमा कार्यरत जनशक्तिको क्षमता विकास गरी सुदृढीकरण गर्ने, विद्युतीय माध्यमको प्रयोग गरी घरबाटै राजस्व दाखिला गर्न सकिने गरी अनलाइन सेवालाई थप प्रभावकारी बनाउने योजना महानगरको छ । महानगरको आगामी आर्थिक वर्षको बजेट सोमबार सार्वजनिक गर्ने महानगरप्रमुख आचार्यले जानकारी दिए ।



प्रकाशित : असार ९, २०८१ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×