कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कुलेखानीको जलाशय सतह अन्तिम बिन्दुमा 

हेटौंडा — जलाधार क्षेत्रमा वर्षा नहुँदा कुलेखानी जलाशयको सतह अन्तिम बिन्दुमा पुगेको छ । चैतदेखि जेठ अन्तिमसम्म २४ सैंघन्टा सञ्चालनमा ल्याइएको कुलेखानी जलाशय एक सातादेखि सञ्चालनको समयमा भारी कटौती गरिएको छ  । 

कुलेखानीको जलाशय सतह अन्तिम बिन्दुमा 

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा रहेको जलाशयको सतह घट्दै गएकाले सञ्चालनको समय कटौती गरिएको कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख तारादत्त भट्टले बताए ।

नेपाल विद्युत् प्राधिकरणको ‘ब्याकअप’को रुपमा रहेको कुलेखानी जलाशय विद्युत् आपूर्ति सन्तुलन गर्न र अधिक माग भएको समयमा तथा भोल्टेज तलमाथि हुँदा वितरण प्रणाली व्यवस्थित गर्न सञ्चालन गरिन्छ ।

मनसुन भित्रिएको एक साता बितिसक्दा पनि कुलेखानी जलाधार क्षेत्रमा वर्षा भएको छैन । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका दामन, पालुङ, बज्रबाराही, चित्लाङ एवं ईन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयको जलाधार क्षेत्र हुन् ।

कुलेखानी जलाशयको सतह घटेपछि ६० मेगावाट उत्पादन क्षमताको आयोजनाले २० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ ।

‘२० मेगावाट विद्युत् उत्पादन हुँदा जलाशयमा संकलन भएको पानी प्रतिघन्टा २ सेन्टिमिटर घट्ने गर्छ,’ प्रथम जलविद्युत केन्द्रका एक वरिष्ठ अधिकृतले भने, ‘प्राधिकरणको माग अनुसार अहिले विद्युत् उत्पादन गरिरहेका छौं ।’

कुलेखानी प्रथम जलविद्युत केन्द्रका अनुसार पानीको सतह कम हुँदा उत्पादन पनि घटाइएको हो । आइतबार दिउँसो ३ बजेसम्म कुलेखानी जलाशयको सतह एक हजार ४ सय ८४ दशमलव ६ सेन्टिमिटर रहेको छ ।

‘जलाशयमा संकलन गरिएको पानी एक हजार ४ सय ८३ मिटर सतहमा झरेपछि विद्युत उत्पादनका लागि प्रयोग गर्न सकिँदैन,’ केन्द्रका प्रमुख भट्टले भने, ‘जलाशयको पानी अब एक मिटर ६ सेन्टिमिटरमात्र प्रयोग गर्न सकिन्छ ।’

३ सय मिटर चौडाई र सात किलोमिटर लम्बाईको जलाशयमा एक हजार ५ सय ३० मिटर पानी संकलन गर्न सकिन्छ । २०७२ को भूकम्पले जलाशयको ड्यामको केही भाग चर्केकाले सकेसम्म एक हजार ५ सय २७ मिटर भन्दा बढी पानीको संकलन गर्दा जोखिम हुने प्राविधिकहरुले बताएका छन् । जसले गर्दा गत वर्ष एक हजार ५ सय २७ मिटर पानी संकलन गरिएको थियो ।

यो वर्ष कुलेखानी आयोजनाले विद्युत् उत्पादन गर्न करिब ४३ मिटर पानी खपत गरिसकेको छ । एक हजार ५ सय ३० मिटर पानी जलाशयमा संकलन हुँदा ४७ मिटर संकलित पानी विद्युत् उत्पादनमा लागि प्रयोग गर्न सकिन्छ भने एक हजार ५ सय २७ मिटरमात्र पानी संकलन भएको अवस्थामा ४४ मिटरमात्र पानी विद्युत् उत्पादनका लागि उपयोग गर्न सकिन्छ । कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी एक सय ६ मेगावाट विद्युत् उत्पादन हुनेगर्छ । जलाशयमा संकलन गरेको पानीबाट तीन वटै आयोजनाले विद्युत् उत्पादन गर्छन् । केन्द्र प्रमुख भट्टका अनुसार २०५८ पछि यसवर्ष पानीको सतह धेरै घटेको हो ।

जलाशयको पिंधको सतह बढ्दै, विद्युत् उत्पादन घट्दै

कुलेखानी जलविद्युत आयोजनाको जलाशयको पिंधको सतह बढेकाले ६ करोड ३३ लाख युनिट विद्युत उत्पादनमा कमी आएको छ । जलाशयको पानी संकलनको क्षमता नै न्यून हुँदै गएकाले विद्युत् उत्पादनमा पनि कमी आएको हो । सुरुमा जलाशयमा संकलन गरिएको पानीबाट २१ करोड ११ लाख युनिट विद्युत उत्पादन हुने गर्थ्यो तर अहिले त्यो क्षमतामा ह्रास आएर १४ करोड ४७ लाख युनिटमात्र विद्युत उत्पादन गर्ने क्षमता रहेको छ । करिब २७ मिलियन क्युसेक पानी अट्ने क्षमतामा ह्रास आएको कुलेखानी प्रथमका एक प्राविधिकले बताए ।

वर्षेनी जलाधार क्षेत्रबाट खोलाले बगाएर ल्याउने ढुङ्गा, माटो, बालुवा र पातपतिङ्गर जलाशयमा थुपार्ने कारणले गर्दा सरोवरको सतह बढेकाले पानी अट्ने क्षमता साँघुरिदै गएको हो । सुरु सञ्चालनको अवस्थामा कुलेखानी जलाशयमा ८५ दशमलप ३ मिलियन क्युसेक पानी अट्ने क्षमता थियो, त्यो क्षमतामा ह्रास आएर अहिले ५९ दशमलव ९९ मिलियन क्युसेकमा झरेको छ ।

कुलेखानी सञ्चालनमा आएको ४२ वर्षमा १३ मिटर भन्दा बढी जलाशयको पिंधको सतह बृद्धि भएको छ । सरोवरको सतह बढेकाले जलाशयको पानी संकलन गर्ने क्षमतामा ३० प्रतिशत गिरावट आएको हो । विद्युत उत्पादनमा पनि ३० प्रतिशतले ह्रास आएको छ । जलाशयको पानी क्षमतामा ह्रास आएपछि सुरुको अवस्थाको तुलनामा विद्युत् प्राधिकरणले वार्षिक करिब ३५ करोड रुपैयाँमा नोक्सानी व्यहोर्दै आएको छ ।

२०३९ मा कुलेखानी जलविद्युत आयोजना प्रथम सञ्चालनमा आउँदा जलाशयमा संकलन भएकोमध्ये ५७ मिटर पानी विद्युत् उत्पादन गर्न प्रयोग गर्न सकिन्थ्यो । २०५० को बाढीपछि जलाशयमा संकलन भएको मध्ये ५० मिटरमात्र पानी विद्युत् उत्पादन गर्न सकिन्थ्यो । हाल करिब ४७ मिटरमात्र पानी विद्युत् उत्पादन गर्न प्रयोग गर्न सकिन्छ ।

जलाशयमा ‘डेव्रिज’हरु यसरी थुप्रिदै गएपछि विद्युत उत्पादन गर्न प्रयोग गर्न सकिने पानीको सतह न्यून हुँदै गएको छ । २०५० मा आएको बाढीले जलाशयको पिंधको सतह ६ मिटर बढेको थियो । जलाशयमा अहिले १ लाख ७० हजार मिटर क्युब ‘डेव्रिज’ संकलित रहेको कुलेखानी प्रथमका एक इन्जिनियर बताए । ‘जलाशयमा संकलित भएका डेव्रिज (बालुवा, माटो, पातपतिङ्गर र ढुङ्गा) नझिकेमा क्रमश कुलेखानी पहिलो, दोस्रो र तेस्रो जलविद्युत आयोजनाको उपादेयतामा र्‍हास आउँछ,’ उनले भने ।

सरोवरमा संकलित पानीलाई प्रयोग गर्ने उद्देश्यले कुलेखानी पहिलो, दोस्रो र तेस्रो निर्माण गरेको हो । जलाशयको तल्लो सतह बढेर पानी संकलन गर्ने क्षमतामा कमी आएपछि कुलेखानीका तीन वटै विद्युत उत्पादन गृह प्रभावित हुने छन् । विज्ञहरुले यो जलाशयको आयु ५० वर्ष तोकेका छन् । जलाशयमा संकलन भएको ढुङ्गा, माटो र लेदो झिक्नका लागि जलाशय पुरै खाली गर्नुपर्छ । इन्द्रसरोवरको निर्माण एक करोड २० लाख अमेरिकन डलरमा गरिएको थियो ।

प्रकाशित : असार ९, २०८१ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×