कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

‘हाफटाइम’ सम्म रमाइलो युरो

जर्मनीमा रंगशाला भरिभराउ छ, सहरहरू व्यस्त छन् अनि जताततै रंगीन र मादकता देख्न पाइन्छ
एएफपी

बर्लिन — युरो च्याम्पियनसिप आफ्नो मध्यभागमा आइपुगेको छ । हाफटाइम भनौं । आयोजक जर्मनीमा अहिले सकारात्मक वातावरण नै बनिरहेको छ । प्रतियोगिता स्वयं रमाइलो छ ।

‘हाफटाइम’ सम्म रमाइलो युरो

कडिकडाउ सुरक्षा व्यवस्था भने धेरैका लागि टाउको दुखाइ बनिरहेको छ अनि लाखौं फुटबल समर्थकका लागि यातायातको प्रबन्ध पनि दुरुस्त हुन सकेको छैन । अहिलेसम्मको स्थिति ठ्याक्कै खराब भन्न भने मिल्दैन । जे–जति भइरहेको छ, राम्रै छ ।

‘पार्टीटाइम’

यसअघिको युरो फिक्का नै रह्यो । अधिकांशले खेल घरमै बसेर हेरे । किनभने त्यति बेला पूरा विश्वमा कोरानो भाइरस महामारीको संक्रमण चलिरहेको थियो । तर, अहिले जर्मनीमा रंगशाला भरिभराउ छ, जर्मन सहरहरू व्यस्त छन् अनि जताततै रंगीन र मादकता देख्न पाइन्छ । स्कटल्यान्ड जर्मनीवरुद्धको उद्घाटन खेलमै पराजित रह्यो । टोलीका पारम्परिक पोसाक लगाएका समर्थक ‘टारटन आर्मी’ ले धेरैको मन जिते । तिनीहरूले सुरुमै प्रतियोगितालाई ‘पार्टी टाइम’ मा परिवर्तन गरे ।

यो अहिलेसम्म पनि चलिरहेको छ । यहाँनिर डच समर्थकलाई बिर्सनुहुन्न, तिनीहरूले रंगशाला र जर्मनीको बाटो–बाटो सुन्तला रंगको समुद्रमा परिणत भएका छन् । सुन्तला रंगले सकिएका तीन समर्थक बाटोमा हिँडिरहेको देख्दा अचम्मै देखिन्छ । जर्मनीका आन्तरिक मन्त्री नान्सी फेसरले भनेका छन्, ‘युरोपका चारैतर्फका समर्थकलाई हामीले खुसीले स्वागत गर्न पाएका छौं ।’ आयोजक जर्मनी स्वयं अपार समर्थकको उपस्थितिका कारण खुसी छ ।

समूह ‘ए’ मा जर्मनी र स्विट्जरल्यान्डबीचको खेलमा बेला मात्रै ७० हजार दर्शक आफैं रंगशालामा उपस्थित थिए । यी जर्मन समर्थकमाझ कुनै पर्व चलिरहेको अनुभव हुन्छ । सन् २००६ मा पनि विश्वकप ताका यस्तै खुसीको माहोल तयार भएको थियो । उनीहरूको चहलपहल देखेर जर्मन म्यागजिन स्पाइगेलले प्रश्न गरेको छ, कसरी जर्मन समर्थक चुप लागेर बस्न सक्छन् र भन्या ?

रेलसेवालाई पहेँलो कार्ड

त्यसो त बाहिर जर्मनीको परिचय ठीक समयमा ठीक काम गर्नेका रूपमा छ । तर विदेशी पाहुनाले यसपल्टको युरोका बेला यो अनुभव गर्न सकिरहेका छैनन्, किनभने विशेषतः रेल सेवा असाध्यै ढिला भइरहेको छ, समयमै केही पनि सेवा आइपुग्दैन । एक त ढिला रेल सेवा, त्यसमाथि अत्यधिक यात्रु, यसले समर्थकलाई भने निराश नै बनाएको छ । स्थिति कतिसम्म झने युत्रेन र स्लोभाकियाबीचको खेलका बेला प्रतियोगिताकै निर्देशक फिलिप लाहम समयमै खेलस्थलसम्म पुग्न सकेनन् ।

इंग्ल्यान्ड र सर्बियाबीचको खेलका बेला पनि दुवै टिमका समर्थक समयमै रंगशाला पुग्न सकेनन् । सरकारी स्वामित्वको ड्वेच बाह्नले युरो सुरु भएयता पचासौं लाख समर्थकलाई ओसारेको छ, तर जुन गतिले यसले यो काम गरेको छ, कसैलाई चित्त बुझिरहेको छैन । त्यसैले यसको चर्को आलोचना भइरहेको छ । धेरैले असन्तुष्टि पनि देखाइरहेका छन् । पत्रपत्रिकाले लेखिरहका छन्, ‘जर्मन रेलले आम जनतालाई सुविधा पनि दिन सकिरहेको नै छैनभन्दा हुन्छ ।’

सुरक्षा थोरै राम्रो, थोरै खराब

यसपल्ट युरोमा सुरक्षा आयोजकका लागि सबैभन्दा ठूलो टाउको दुखाइ बनेको थियो । युक्रेन र मध्यपूर्वमा व्याप्त तनावका कारण प्रतियोगिताका बेला केही नराम्रो होला भन्ने चिन्ता थियो । प्रत्येक दिन सुरक्षाकै लागि भनेर २२ हजार सुरक्षाकर्मी तैनाथ गरिएका छन् । त्यस्तै सुरक्षाकै लागि भनेर विदेशबाट ५ सयभन्दा बढी विशेषज्ञलाई पनि उतारिएको छ । उनीहरूले कुनै प्रकारले हिंसा नगर्न र साइबर आक्रमण नगर्न चेतावनी दिइरहेका छन् ।

अहिलेसम्म समर्थकको व्यवहार ठीकै देखिएको छ । जर्मनी र हंगेरीबीचको खेलमा तनावपूर्ण हुने अनुमान थियो । तर, त्यस्तो केही पनि भएन । खेलका क्रममा शान्तिपूर्ण स्थिति नै रह्यो । सर्बियाली समर्थक र पुलिसबीच भिडन्त हुँदा भने केही सामान्य रूपमा घाइतेसम्म भएका छन् । ती सर्बियाली समर्थकले पुलिसलाई बोतल प्रहार गर्दै आक्रमण गरेका थिए । जेहोस्, अहिलेसम्मको अवस्थालाई सुरक्षाको दृष्टिकोणले थोरै राम्रो र थोरै खराबभन्दा हुन्छ ।

अस्ट्रियाको चामत्कारिक प्रदर्शन

अब फ्रान्सले अन्तिम १६ मा बेल्जियमको सामना गर्नेछ । त्यसको विजेताले क्वाटरफाइनलमा सम्भवतः पोर्चुगलसँग खेल्न सक्नेछ । सम्भवतः स्पेन र जर्मनीबीच अन्तिम आठमै भेट हुनेछ । स्पेनी प्रशिक्षक लुइस डे ला फुन्टे भन्छन्, ‘कसैले पनि सपना देख्दा केही खर्च हुँदैन । तर हाम्रा खेलाडीको खुट्टा भुइँमै हुनुपर्छ ।’ स्पेनले समूह चरणका तीनै खेलमात्र जितेको छैन । यी तीन खेलमा कुनै गोल पनि खाएको छैन । यो प्रदर्शन पछिल्लो युरोमा इटालीकै बराबर हो । त्यतिबेला इटालीले अन्ततः उपाधि नै जितेको थियो ।

सम्भावना के देखिएको छ भने क्वाटरफाइनलमा इटाली र इंग्ल्यान्डकै भेट हुँदै छ । पछिल्लो युरोको फाइनलमा इटालीले इंग्ल्यान्डलाई नै हराएको थियो टाइब्रेकरमा । छनोटमा इंग्ल्यान्डले इटालीलाई दुईपल्ट हराएको थियो । तर, यसपल्ट समूह चरणमा इंग्ल्यान्डको प्रदर्शन फिक्का जस्तै रह्यो । गारेथ साउथगेटको टिमले स्लोभानियाविरुद्ध गोलरहित बराबरी खेलेपछि समर्थक साह्रै निराश देखिए ।

साउथगेट भन्छन्, ‘हाम्रो अहिलेको स्थितिमा धेरै टिम नकआउट चरणका लागि छनोट भएको मैले देखेको छु र तिनै टिमले पछि राम्रो गरेको अनुभव छ ।’ जुड बेलिङ्घम र ह्यारी केनमाथि राम्रो प्रदर्शनका लागि चर्को दबाब नै छ । यी सबै ठूला नामबाहेक यसपल्ट कसैले धेरैको मन जितेको छ भने त्यो अस्ट्रिया र जर्जिया छन् । प्रशिक्षक राल्फ रान्गनिकको टिमले त्यो समूह जितेको छ, जसमा फ्रान्समात्र होइन, नेदरल्यान्ड्स र पोल्यान्ड थियो ।

जर्जियाको अविश्वसनीय यात्रा

जर्जियाको कथा पनि आफैंमा बेग्लै छ । यो राम्रो छ । जर्जियाको घरेलु राजनीति अहिले तनावबाट गुज्रिइरहेको छ । तर यसै देशको फुटबल टिम पहिलो पटक कुनै ठूलो प्रतियोगिताको नकआउट चरण प्रवेश गरेको छ । जर्जियाले सबैलाई अचम्ममा पार्दै क्रिस्टियानो रोनाल्डोको पोचुृगललाई पराजित गरेको छ । स्पेनी त्यही टिम हो, जसले छनोटमा जर्जियालाई ७–१ र ३–१ ले हराएको थियो ।

यस्तै २० लाख जनसंख्या भएको स्लोभेनिया पनि नकआउट चरण पुगेको छ । यसपल्टको प्रतियोगिताबाट बाहिरने सबैभन्दा ठूला दुई टोली क्रोएसिया र युक्रेन हुन् । दुई साताको लिग चरणको खेलपछि २४ टिममध्ये आठ टिम बाहिरिएका छन् । यसपल्ट लिग चरणमा धेरै कममात्रै गोल भए हुन्छ । ८१ गोलमात्रै । सन् २०२१ मा यही चरण सकिँदा ९४ गोल भइसकेको थियो । तर, सबैको अनुमानअनुसार नकआउट चरणको खेल नै बेग्लै हुनेछ । विश्वास गरौं, यो चरणका खेल आक्रामक हुनेछन् र गोल धेरैभन्दा धेरै निस्कने छ ।

प्रकाशित : असार १४, २०८१ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×