कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

ट्याक्टर बिग्रेर किसान हैरान : कृषिको तालिम मोटरसाइकल वर्कसपलाई 

गुल्मी — कृषि ज्ञान केन्द्रले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएका मिनि ट्रिलर बिग्रेर किसानले हैरानी भोग्नु परेको छ । किसानको साढे ३७ हजार र ज्ञान केन्द्रको साढे ३७ हजार गरी ७५ हजार लगानीमा ज्ञान केन्द्रले खरिद गरेर उपलब्ध गराएका मिनि ट्रिलर बिग्रेपछि किसानलाई हैरानी भएको हो । 

ट्याक्टर बिग्रेर किसान हैरान : कृषिको तालिम मोटरसाइकल वर्कसपलाई 

किनेको एक वर्ष नहुँदै मिनी ट्रिलर बिग्रेपछि मर्मतका लागि समस्या भएको किसानको गुनासो छ । गत वर्ष आफूले अनुदानमा पाएको मिनिट्रिलर ४०/५० घण्टा चलेर बिग्रेपछि निकै सास्ती पाएको पुनः कृषि फर्म सञ्चालन गरेका चन्द्रकोट–२ विशुखर्कका डोपबहादुर पुनले बताए ।

‘साढे ३७ हजार तिरेर ट्याक्टर लिएको १ वर्ष भयो, अहिले ट्याक्टर बिग्रेर ३५ हजारमा इन्जिन फेरे,’ उनले भने, ‘वारेन्टी, ज्ञारेन्टी केही छैन, बाली लगाउने समयमा बिग्रेपछि नयाँ इन्जिन नफेरी पनि भएन ।’

सामान्यतया उपकरणहरुमा निश्चित समयसम्म बिग्रेमा साटफेर वा मर्मत गर्ने गरी वारेण्टीको सुविधा हुन्छ । तर कृषि ज्ञान केन्द्रले खरिद गरेका उपकरणहरुमा त्यो सुविधा नभएका कारण पनि सास्ती भोग्नु परेको किसानले गुनासो गरेका छन् ।

आफूले गत वर्ष ३७ हजार नगद तिरेर ५० प्रतिशत अनुदानमा पाएको ट्याक्टर ल्याएको २ महिनामै बिग्रेर समस्या भए पनि सप्लायर्सले उल्टै धम्क्याएको एक किसानको गुनासो छ । ‘ल्याउने बित्तिकै बिग्रियो, ज्ञान केन्द्रमा गुनासो गर्दा हामीलाई त थाहा हुँदैन सप्लायर्सलाई फोन गर्नुस् भनेर लक्ष्मी एग्रो सप्लायर्सको नम्बर दिनुभयो,’ इश्मा गाउँपालिकाका एक किसान भन्छन्, ‘तर त्यहाँको साहुजीले हामीले वारेण्टी दिएको होइन यहाँ फोन नगर्नुस् भनेर उल्टै थर्काए ।’

ज्ञान केन्द्रले उपकरण आफै खरिद गरेर दिने तर मर्मतका लागि समन्वय नगरिदिँदा किसान चर्को मूल्य तिरेर मर्मत गर्नुपर्ने बाध्यतामा समेत परेका छन् । तर आफ्नो समस्याबारे बाहिर गुनासो गर्दा आगामी दिनमा अनुदान सहयोग नपाउने डरले उनीहरु खुलेर समस्या राख्दैनन् । ‘गत वर्ष मेरो ट्याक्टर बिग्रेपछि बिक्रेता लक्ष्मी एग्रो सप्लायर्समा सम्पर्क गरेको मर्मत खर्च ६ हजार दिनुपर्छ नत्र मान्छे पठाउनु सकिन्न भन्नुभयो,’ धुर्कोट गाउँपालिकाका एक किसान भन्छन्, ‘पछि बाहिरको मिस्त्री खोजेर बनाउँदा २५ सय रुपैयाँमा बन्यो ।’

मर्मतका लागि चर्को शुल्क तिर्ने मात्र होइन, खेतबारी जोत्ने समयमा ट्याक्टर बिग्रँदा खेतीको तालिका नै बिग्रने गरेको किसानको गुनासो छ । ‘जब जोत्ने बेला हुन्छ, ट्याक्टर बिग्रेर आपत पुर्‍याउँछ, बनाउने मान्छे खोज्यो खोज्यो पाइदैन,’ चन्द्रकोटका किसान डोपबहादुर भन्छन्, ‘ट्याक्टर मर्मत गर्ने तालिम चलेको थाहा पाएर गाउँपालिकामा गएको थिएँ, कोटा पूरा भयो भनेर फर्काउनुभयो, ज्ञान केन्द्रले पनि तालिम दिएन ।’

ज्ञान केन्द्रले पनि भेग मिलाएर उपकरण मर्मत गर्नुपर्ने किसानको माग छ । ‘बिग्रियो भने त तम्घासबाटै मिस्त्री बोलाउने हो, गाउँमा बनाउन जानेको कोही छैन,’ खरे थापाचौर खाद्यान्न बाली उत्पादक कृषक समूहको मिनि ट्रिलर चालक श्रीप्रसाद खत्री भन्छन्, ‘एकपटक मिस्त्री बोलाएको मात्रै १५ सय तिर्नुपर्छ, नजिकै मर्मत गर्ने कोही नहुँदा खर्च धेरै हुन्छ ।’

कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी शिवप्रसाद बञ्जाडेले मेसिनरी उपकरण बिग्रेर किसानलाई हैरानी भएको स्विकारे पनि कार्यालयले सप्लायर्ससँग सम्झौता गर्दा न्यूनतम मूल्य राख्ने तर वारेण्टीको कुरा नराख्ने गरेको बताए । ‘त्यो चाइनिज उपकरण हो, सम्झौतामा यति वर्ष वारेण्टी भनेर दिएको छैन,’ उनले भने, ‘इण्डियन ल्याउँदा महँगो पर्छ, त्यसैले चाइनिज उपकरण दिने गरेका छौं ।’

उनले उपकरण मर्मतका लागि किसानलाई नभई मोटरसाइकल वर्कसप सञ्चालकहरुलाई तालिम दिएको बताए । ‘यदाकता २५ प्रतिशत जति त सम्बन्धित किसानले पनि तालिम पाउनुभएको छ,’ उनले भने, ‘तर तीन दिने तालिमले किसानलाई व्यवहारिक होला भनेर मोटरसाइकल वर्कसपलाई थोरै भए पनि व्यवसाय पनि बृद्धि होला भनेर छनौट गरेका हौं ।’

तर किसान भने आफूहरुलाई नदिएर मोटरसाइकल वर्कसपलाई तालिम दिँदा व्यवहारिक हुन नसकेको बताउँछन् । ‘हामीहरुले मेसिन बिग्रियो भने मिस्त्री बोलाउँदा छुट्टै आतेजाते समेत दिएर बोलाउनु पर्छ, मेसिन फेर्नुपरेमा छुट्टै खर्च हुन्छ,’ मुसिकोटका श्रीप्रसाद भन्छन्, ‘हामीले आफै तालिम लियौं भने त मिस्त्रीलाई दिने आतेजाते खर्च त जोगिन्थ्यो नि ।’

प्रकाशित : असार १६, २०८१ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×