कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

महत्त्वपूर्ण मुद्दाको सम्बोधन गर्न एमाले-कांग्रेससहितको राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुन्छ : कांग्रेस

काठमाडौँ — नेपाली कांग्रेसले संविधान संशोधनसहित देशका महत्त्वपूर्ण मुद्दाको सम्बोधन गर्नका लागि कांग्रेस र नेकपा एमालेको सहमतिमा राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुने बताएको छ ।

महत्त्वपूर्ण मुद्दाको सम्बोधन गर्न एमाले-कांग्रेससहितको राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुन्छ : कांग्रेस

मंगलबार कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् । उनले संविधानसहितका मुद्दाहरूलाई केन्द्रित गरेर सरकार निर्माणमा सहभागी भएको बताए ।

उनले भनेभने, ‘देशको महत्त्वपूर्ण मुद्दाहरू छन् । संविधानको विषय छ । यी तमाम मुद्दालाई केन्द्रित गरेर मात्रै हामी सरकार निर्माणमा संलग्न हुन्छौं । खाली सत्तामा जानका लागि मात्रै हामी समझदारी गर्दैनौँ भनेका थियौँ । अन्तत्वगत्वा महत्त्वपूर्ण मुद्दालाई आम जनताको चासो र चिन्ताको विषय छ, सरोकारको विषय छ, त्यसलाई केन्द्रबिन्दुमा राखेर एउटा समझदारी एमाले पार्टीसँग भएको छ ।'

उनले आम नागरिकका समस्यालाई केन्द्रमा राखेर नेकपा एमालेसँग सरकार बनाउने सहमति भएको बताए । उनले अस्थिरताका कारण आर्थिक स्थिति सुध्रिन अफ्ठ्यारो भएको, सुशासन सुनिश्चित गर्न अफ्ठ्यारो भएकाले पनि दुई ठूला दलहरूको सरकार आवश्यक रहेको बताए ।

उनले दुई दलको बीचमा सरकार निर्माण गर्न अघि बढ्ने र आवश्यकताअनुसार अरु दललाई पनि समेट्ने गरी राष्ट्रिय सहमतिको सरकारको नाम दिइएको बताए । सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष ओली र कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले आलोपालो निर्वाचनसम्म नेतृत्व गर्ने आधारमा मोटामोटी समझदारी भएको उनले बताए । समझदारीलाई अन्तिम रुप दिन पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गर्ने उनको भनाइ छ ।

उनले भने, 'त्यो समझदारीमा मुलभुत रुपमा स्थायित्वको जुन समस्या छ, आम जनता पनि त्यसबाट चिन्तित छन् । त्यसले आर्थिक स्थिति सुध्रिन अफ्ठ्यारो पारेको छ । सुशासन सुनिश्चित गर्न अफ्ठ्यारो पारेको छ । अन्योलको स्थिति सिर्जना भएको छ । त्यसलाई महत्त्वपूर्ण आधार बनाएका छौँ । संविधानमा आवश्यक संशोधनका लागि पनि राष्ट्रिय सहमति निर्माण गर्ने र त्यो प्रक्रियालाई अगाडि बढाउने र जुन आर्थिक स्थिति छ, विकास निर्माणमा देखिएको अन्योलको स्थिति छ, त्यसलाई अन्त्य गर्न स्थिर राजनीति, संविधानलाई सामुहिक रुपमा संशोधन गर्ने र सहमति जुटाउने हिसाबले अघि बढ्न दुई दलको बीचमा सरकार निर्माण गर्न अघि बढ्ने र आवश्यकताअनुसार अरु दललाई पनि समेट्ने गरी राष्ट्रिय सहमतिको सरकारको नाम दिइएको छ र नेतृत्व ओलीजी र हाम्रो पार्टी सभापति शेरबहादुर देउवाले आलोपालो निर्वाचनसम्म नेतृत्व गर्ने भन्ने आधारमा मोटामोटी समझदारी भएको छ ।’

उनले राष्ट्रपति निवासमा सोमबार राति सभापति देउवा र अध्यक्ष ओली पुगेको भन्नेकुरामा कुनै सत्यता नरहेको र संविधानका सवालमा आयोग बन्ने र ड्राफ्ट नै भइसक्यो भन्नेमा कुनै सत्यता नरहेको जिकिर गरे ।

प्रकाशित : असार १८, २०८१ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×