कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

ठेला गुडाएर आमा बचाउने किशोर-सपना 

घनश्याम गौतम

बुटवल — चार थान साइकलका टायरमा फलामका पाताले जोडेर बनाएको ठेलामा फलफूल राखिएका छन् । सिजन अनुसारका फलफूल भरेर बुटवलका गल्लीमा हातैले ठेला गुडाइरहेका हुन्छन् १६ वर्षीय ऋतिक सिंह ठकुरी । बुटवलको प्रचण्ड गर्मीमा ठेला धकेल्दै उनको शरीर पसिनाले निथ्रुक्कै भिजेको हुन्छ ।

ठेला गुडाएर आमा बचाउने किशोर-सपना 

चोकचोकमा ठेला गुडाएर फलफूल बिक्री गर्ने ऋतिक बुटवल उपमहानगरपालिका–११ माझगाउँका हुन् ।

वाणगंगा नगरपालिका–३ पिपराबाट बाबु बिरामी भपछि १० वर्षअघि उनको परिवार बुटवल झरेको थियो । कडा परिश्रम र दुःखले पछ्याइरहेको ऋतिकलाई ठेलामा दिनभर हुने व्यापारले पीडा कम गराउँछ । किनकि दिनभर व्यापार नभए उनको आमाको उपचार रोकिन्छ, बहिनीको पढाइ, दिदीको घरखर्च सकिन्छ भने आफ्नै जिन्दगीले बाटो बदल्छ ।

किनकि, घरमा आमा मिर्गौला रोगी छिन् । आर्थिक अभावले दिदीले पढाइ छोडेर आमाको स्याहारसुसार गर्दै घर धानेकी छन् । बहिनी कक्षा ९ मा पढ्दै छिन् । बाबुको उपचार अभावकै कारण मिर्गौला फेल भएर मृत्यु भयो ।

कानुन संकायमा कक्षा १२ मा पढ्दै गरेका ऋतिकका बाबुको दुई वर्षअघि दुवै मिर्गौलाले काम गर्न छाडेपछि ४० वर्षको उमेरमा मृत्यु भयो । ८ वर्षसम्म बाबुको उपचार गर्दा भएको सबै रकम सकियो । कपिलवस्तुको जग्गाजमिन बिक्री गर्दा पनि उपचार खर्चले पुगेन । त्यसपछि आमा गीता सिंहले एउटा मिर्गौला बाबुलाई दिइन् । तर, पनि बाबुलाई बचाउन नसकेपछि उनको काँधमा अभाव, गरिबीको जिम्मेवारीसँगै आमाको उपचार, आफ्नो र बहिनीको पढाइ र घर खर्चको भार थपिएको हो ।

बाबुलाई एउटा मिर्गौला दिएपछि नियमित उपचार र राम्रो खानपान अभावले आमाको अर्को मिर्गौलाले काम गर्न छोडिसकेको छ । ‘आर्थिक अभावकै कारण बुबालाई बचाउन सकिएन,’ उनले भने, ‘अहिले आमाको किड्नीमा पनि समस्या देखियो, नियमित डायलासिस गराइरहेको छु ।’ आमाको उपचारमा मात्र मासिक ३५ हजारभन्दा बढी खर्च हुने र त्यो बाहेक आफूहरूको पढाइ र घर खर्चका लागि आम्दानीको स्रोत भनेकै ८ वर्षअघि बाबुले किनेको २१ हजारको ठेला मात्र रहेको उनले बताए । ‘अन्य कमाइ केही छैन,’ उनले भने ।

विद्यालय छुट्टीमा उनी बिहान ५ बजे ठेला लिएर बुटवलको सब्जीमन्डी पुग्छन् । फलफूल किन्छन् । ठेलामा राख्छन् र बिक्री गर्न सडकमा निस्कन्छन् । उनको ठेलामा स्याउ, केरा, आँपलगायत सिजनअनुसारका फलफूल हुन्छन् । किन्ने ग्राहक भेटिँदा उनको अनुहार उज्यालो देखिन्थ्यो । कुराकानीमा पीडाका आँसु हुन्थे । ‘पीडा सबैसँग देखाउन सकिन्न,’ उनले भने, ‘त्यसैले ग्राहकलाई मुस्कान दिन्छु, सहयोगीलाई पीडा सुनाउन मन लाग्छ ।’

पछिल्लो दुई वर्षदेखि बिहान ५ बजेदेखि ९ बजेसम्म ठेलामा फलफूल बिक्री गर्छन् । ९ बजे घरमा पुगेर खाना खाएर कलेज जान्छन् । कलेजबाट फर्केपछि बेलुका ५ बजे फेरि ठेला गुडाउँदै सडकमा निस्कन्छन् ।

व्यापार सकेर राति ९ बजे घर फर्किन्छन् । खाना खाएपछि कलेजको गृहकार्य सकेर राति १२ बजे सुत्छन् । बिहान ५ बजेबाट उनको अर्को दिनको नित्यकर्म सुरु हुन्छ् ।

‘ठूलो सपना त्यस्तो केही छैन, आमाको उपचारलाई खर्च पुगोस् । म र बहिनीलाई पढ्न,’ उनी भन्छन् । सहयोगी फेला परेमा कानुनमै स्नातक गरेर ‘वकिल’ बन्ने चाहना छ । विद्यालय बिदा भएका बेला १६ घण्टासम्म सडकमै ठेलामा व्यापार गर्ने गरेको उनले बताए ।

प्रकाशित : असार १६, २०८१ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×