मण्डला थिएटरका पूर्वविद्यार्थीहरू आफ्नो सीप र अनुभवलाई अवसरमा बदल्न व्यस्त छन् । महोत्सवमा ६ युवाको निर्देशनमा मञ्चन हुादैछन्– ‘नुग्धा’, ‘मिरर’, ‘अंकुरण’, ‘अगम’, ‘रेलवे टु नो ह्वेयर’ र ‘शिल्पिनी’ ।
काठमाडौँ — रंगकर्मी अनुप न्यौपानेले ‘म्याडफेस्ट २०२४’ घोषणा गर्दै भनेका थिए, ‘हामी युवाहरूले यो महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य आफैंभित्र अवसर सिर्जना गर्नु हो ।’ असार २१, २२ र २३ मा मण्डला थिएटरमा आयोजना हुने नाटक महोत्सव ‘म्याडफेस्ट’का निर्देशकसमेत रहेका अनुप अवसरलाई पर्खने भन्दा पनि आफूभित्रका सीप, अनुभवमार्फत अवसर सिर्जना गर्नका लागि मण्डला थिएटरका पूर्वविद्यार्थीले यो महोत्सव आयोजना गरेको बताउँछन् ।
अनुपले भनेझैं अहिले मण्डला थिएटरका पूर्वविद्यार्थीहरू आफ्नो सीप र अनुभवलाई अवसरमा बदल्न व्यस्त छन् । मण्डलाको प्राङ्गण अहिले यी विद्यार्थीका सिर्जनाले भरिएको छ । कोही ‘प्रप्स’ निर्माणमा व्यस्त देखिन्छन्, त कोही नयाँ नाटकको रिहर्सलमा मस्त देखिन्छन् । महोत्सवमा देखाइने ६ नाटकका निर्देशकको दौडधुपले त मण्डलामा चहलपहल नै बढाइदिएको छ । विषयवस्तुका हिसाबले निकै रोचक, गम्भीर र संवदेनशील विषयमा ६ युवाको नयाँ प्रयोग, नयाँ विचार र नयाँ कथामा मञ्चन हुँदैछन्– ‘नुग्धा’, ‘मिरर’, ‘अंकुरण’, ‘अगम’, ‘रेलवे टु नो ह्वेयर’ र ‘शिल्पिनी’ ।
‘रेलवे टु नो ह्वेयर’का लेखक एवं निर्देशक संयोग गुरागाईं ‘म्याडफेस्ट’मा अर्कै नाटक गर्ने सोचमा थिए । तर, त्यसैबीच उनलाई कुरिरहेकाको कथाले पछ्याइरह्यो । बस बिसौनीमा बस कुरिरहेका र अस्पतालमा बिरामी कुरिरहेकाहरूले । त्यही आइडिया दिमागमा घुमाउँदै जाँदा अर्को नयाँ सोच थपियो, ‘यदि कुर्नेहरूले एउटै मान्छेलाई कुर्यो भने, के होला ? कथालाई त्यसरी विकास गर्दै जाँदा बनेको हो, ‘रेलवे टु नो ह्वेयर’ । ‘सेमी एब्सर्ड’ शैलीमा तयार भएको यो नाटक प्रयोगले भरिएको निर्देशक संयोगको दाबी छ ।
‘यो कथा अन्त्यमा हामीसँग जोडिन आयो । हामी सबै एकजना मानिसलाई त कुरिरहेका छौं नि । सबैको इच्छा, आकांक्षा र अभिभारा बोक्ने एउटा नायककै खोजी त भइरहेको हो । अफिसमै एउटा राम्रो बोसको खोजी, देशमै पनि असल नेतृत्वको खोजी भइरहेको छ,’ संयोगले नाटक तयार गर्नुपछाडिका आइडिया सुनाए । ८ जना कलाकार समावेश यो नाटकको रेलवे स्टेसनमा रेल कुरिबस्ने ७ पात्रहरूको कथा छ । ती सात पात्रहरू एउटै स्टेसनमा आइपुग्छन् ।
उनीहरू त्यस्तो रेलको पर्खाइमा छन्, जुन रेलले उनीहरूको चाहना, सपनालाई पूरा गरिदिन्छन् । ‘एक हिसाबले मेरो नाटकमा कथा नै छैन । ‘एब्सर्ड’ शैलीमा धेरै बिम्बहरूको प्रयोग गरिएको हुन्छ । कसैले कतै न कतैबाट एउटा धागो बुन्यो भने कथा हो कि भन्ने लाग्छ,’ संयोग सुनाउँछन्, ‘मेरो नाटकमा नदेखिने कुरा पनि देखिन्छ है, नबोल्नुपर्ने चिजले पनि बोल्छ है भन्ने छ ।’ यसअघि ‘रोगन’मा ‘एब्सर्ड’शैलीमाथि नाटक गरेका संयोगले ‘स्यामुएल ब्याकेट’को सिद्धान्तलाई टेक्दै ‘रेलवे टु नो ह्वेयर’ बनाइएका हुन् ।
तस्बिरहरू : दीपक केसी/कान्तिपुर
लेखन/निर्देशनमा ‘अगम’मार्फत ‘डेब्यु गरिरहेका प्रितिशा अधिकारीले ‘म्याडफेस्ट’को आवेदनको अन्तिमतिर ‘आइडिया’ प्रस्तुत गरेकी हुन् । ‘म्याडफेस्ट’ हुने चर्चा चलिरहँदा प्रितिशाको मानसपटलमा प्रसूतिगृहबाट बच्चा चोरी भएको खबर घुमिरह्यो । त्यो आमाले त्यसरी बच्चा किन चोरिन् होला ? त्यो कदम चाल्नु पछाडिका उनका छुट्टै कारण होलान् ? भन्ने प्रश्नहरूले मनमा खुल्दुली मचाइरहँदा उनले उक्त पात्रबारे जानकारी बटुलिन् । गर्भ तुहिनु, सामाजिक र पारिवारिक दबाबलगायतका थुप्रै विषय जोडिएको त्यही विषयलाई प्रितिशाले नाटकमा पस्कने सोचिन् र बनाइन् नाटक– ‘अगम’ ।
‘समाजमा आफ्नो स्वीकार्यका लागि, आफ्नो मातृत्वभाव र परिवारको दबाबबीच एउटी महिलाले के कदम चाल्छिन् त ? यो नाटकमा प्रस्तुत गर्न खोजेका छौं । अझै पनि हामीकहाँ एउटी महिला आमा बनिनन् भने, महिला हुँदिनन् भन्ने गलत विश्वास र सोच छ । त्यही विषयलाई उठाउँदै त्यस्ता महिलाको संघर्ष के हुन्छ भन्ने देखाउन खोजेको छु,’ ‘अगम’बारे प्रितिशाले भनिन्, ‘शिक्षित समाज र साक्षर समाजमा भिन्नता छ भन्ने मेरो विश्वास हो । अझै पनि डिग्री पास गरेकाहरूको सोच परम्परागत छ भन्ने पनि देखाउन खोजेका छौं ।’ नाटकमा ९ कलाकारको अभिनय रहनेछ । ‘रियलिस्टिक’ शैलीमा तयार भएको यो नाटकमा बिम्बहरूलाई मज्जाले प्रयोग गरेकी छन् । ‘गर्भ तुहिने विषयमाथि खासै बोलिँदैन । यस्तो पीडाबाट गुज्रिरहेका महिलाहरूको कथा ल्याउनुपर्छ, हाम्रो समाज देखाउनुपर्छ भनेर यो कथा रोजेको हुँ,’ प्रितिशा सुनाउँछन् ।
रंगकर्मी सागर कार्कीले भने ‘अंकुरण’ मार्फत महिलाकै कथा भन्ने प्रयास गरेका छन् । बलात्कृत महिलालाई समाजले गर्ने व्यवहार, ती महिलाको स्वतन्त्रताका पक्ष उठाउँदै सागरले नाटक तयार पारेका हुन् । स्वतन्त्र हुने यही यात्रामा ती महिलाले कस्ता आरोहअवरोह सामना गर्छिन् त ? ‘अंकुरण’ यही विषयउपर घुमेको छ । ‘असल जीवनसाथी भए मात्रै जीवन राम्रो हुन्छ । असल जीवनसाथी नभए सम्बन्ध ‘डिभोर्स’मा पुगेर टुंगिन्छन् भन्ने कथा प्रस्तुत गरेको छु, ‘सागरले भने, ‘छुट्टिनु नै छ मान्छेलाई । तर, मानिसहरू छुट्टिनका लागि बहाना खोजिरहन्छन् । तर ती पात्रहरू समाज, परिवारको डरभित्र गुम्सिएका छन् भन्ने देखाउन खोजेका छौं ।’ सागरका अनुसार करिब दुई सय महिलासँगको भेटपछि यो कथा तयार पारिएको हो । सागरका अनुसार असन्तुष्ट यौन जीवनकै कारण पनि दाम्पत्य जीवन बिग्रिरहेका छन् भन्ने कथा नाटकमा पस्केका छन् ।
‘अगम’ र ‘अंकुरण’ मात्रै होइन, वेदना राईले निर्देशन गरेको ‘शिल्पिनी’ले महिलाको मुद्दा उठाइएका छन् । महिला सशक्तीकरणको विषयमा आधारित यो नाटकमा मूर्तिकलामा आबद्ध महिला कलाकारको कथा छ । ‘यो कथालाई शतप्रतिशत भन्न सकुँला वा नसकुँला भन्ने थियो । तर, हाम्रो कथा हामीले नभने कसले भन्ने ? महिलाले नै महिलाको कथा मज्जाले भन्न सक्छ कि भन्ने लागेपछि यो कथामा नाटक बनाएका हौं,’ वेदनाले भनिन्, ‘यो नाटकमा पितृसत्तात्मक समाजबाट ग्रसित पुरुष चिन्तनलाई पनि प्रस्तुत गरेका छौं ।’ चार कलाकारको अभिनय रहेको यो नाटकमा घरेलु हिंसाको मुद्दा पनि उठाइएको वेदना बताउँछिन् । ‘यो मेरो पहिलो निर्देशन हो । नाटकको कथा पनि रोचक थियो, त्यसैले हामीले यो मुद्दामा मज्जाले काम गरेका छौं,’ वेदनाले भनिन्, ‘म्याडफेस्टजस्तो महोत्सव पहिला नै हुनुपर्थ्यो भन्ने लाग्छ ।’
सुशान्त बस्नेतद्वारा निर्देशित ‘मिरर’, बुबा र छोराको सम्बन्धमाथि आधारित नाटक हो । यो सम्बन्धको कथा पहिला अर्कै विषयतिर ढल्किएको थियो । तर, कथालाई लेख्दै जाँदा संगीतको विधा ‘र्याप’ समाउँदै लेखिएको सुशान्त बताउँछन् । उनी आफैं पनि ‘र्याप’ सुन्न मनपराउने । ‘र्याप’ मिसाउँदै तयार पारिएको नाटक पनि कमै छन् । बुबाले छोराबाट अर्कै सपना कल्पेका हुन्छन्, छोरा भने ‘र्याप’तिर भविष्य देख्छन् । यी दुईको यही विषयमाथिको द्वन्द्वमा ‘मिरर’ तयार पारिएको छ ।
मण्डलाको तीनमहिने कोर्स सकिनेबित्तिकै ‘नुग्धा’को निर्देशनमा लागेका हुन्, विजय तामाङ । निम्न वर्गीय परिवारबाट अन्तर्राष्ट्रियस्तरको ‘डान्स च्याम्पियनसिप’ जित्ने सपना बोकेको एक पात्रको कथा, ‘नुग्धा’मा छ । आफ्नो सपनाका लागि उक्त पात्रले समाज, परिवार र आफूसँग कस्तो संघर्ष गर्नुपर्छ त ? भन्ने प्रस्तुत गरिएको छ । ‘डान्स’ गर्ने क्रममा उक्त पात्रको मेरुदण्डमा समस्या देखिएपछि ‘डान्स’बाट टाढा हुन्छिन्, अनि ‘डिप्रेसन’को सिकार बन्छन् । त्यही अवस्थाबाट गुज्रिरहेको पात्रले उक्त परिस्थितिबाट कसरी जित हासिल गर्छन् त ? भन्ने कथा नै ‘नुग्धा’ले उठाएको छ ।
‘मिरर’मा ‘र्याप’ संगीत मिसाउनुको थुप्रै कारण छन् । पुरानो पुस्ता र नयाँ पुस्ताबीच यो विधालाई लिएर फरक बुझाइ छ । त्यही बुझाइमार्फत नयाँ पुस्ताबीचको अन्तर देखाउन पनि नाटकमा यो विषय उठाइएको सुशान्त बताउँछन् । फरक मुद्दाका कथाहरू पस्कन, स्रोतसाधन र जनशक्तिकै समस्या पनि यी निर्देशकहरूले झेल्नुपर्यो । ‘नुग्धा’मा ‘डान्स’ जानेको कलाकार आवश्यक थियो, ‘म्याडफेस्ट’मा मण्डलाकै कलाकार हुनुपर्ने थियो । ‘डान्स’ सिकाउँदै नाटक तयार पार्नुपर्दाको दुःख विजयले खेप्नुपर्यो ।
‘अब १० जना कलाकारको हिसाब गर्दा पनि हामी ६ जनाको नाटक मञ्चमा ६० जना व्यस्त हुने भए । प्राविधिकदेखि अन्य समूह जोडिँदा त टोलीको संख्या ठूलै हुने भयो । तर, सबैजना यसरी व्यस्त हुँदा निर्देशक आफैंमाथि धेरै भार हुँदोरहेछ । ‘म्याडफेस्ट’का कारण ६ निर्देशकले हामी यस्तो गर्न सक्छौं भन्ने भएको सागर बताउँछन् । ‘सायद अर्को महोत्सवमा १२ जनाका लागि बाटो खुल्ला । त्यसैले आफैंले नै गर्नुपर्छ भन्ने लाग्छ,’ सागर भन्छन् ।
