कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

रोनाल्डो अझै ‘शो स्टपर’

एपी

डर्टमन्ड — सबैको अपेक्षाअनुसार पोर्चुगिज क्रिस्टियानो रोनाल्डो अझै पनि युरो २०२४ का ‘शो स्टपर’ हुन् । यो रोनाल्डो आफैंले अपेक्षा गरेअनुसार हो कि होइन, त्यति हुन पनि आवश्यक छैन । पोर्चुगिज सुपरस्टारको इन्स्ट्राग्राममा ६३ करोड २० लाख फलोअर छन् ।

रोनाल्डो अझै ‘शो स्टपर’

उनलाई ‘इन्डोर्समेन्ट’ को कहिल्यै कमी हुन्न । जर्मनीमा पनि रेफ्रीसँग झगडा गरेकै छन्, रिसले पानीको बोतलमा प्रहार गरेकै छन् । अझ उनले पोस्टतर्फ १२ प्रहार गरेका छन्, कोही कसैले भन्दा बढी ।

उनले एउटै काममात्र गर्न सकेका छैनन् । त्यो हो, गोल । टर्कीविरुद्ध प्राप्त ३–० को जितमा उनीसामु निश्चित गोलको अवसर थियो । तर, उनी स्वार्थी भएनन् । ब्रुनो फर्नान्डेजलाई पास दिए र उनले गोल गरे । त्यसो त उनी अब ३९ वर्षका भए । युरो जत्तिको प्रतियोगितामा जति बेला उत्तिकै अब्बल दर्जाका डिफेन्डरको सामना हुन्छ, गोल गर्न सजिलो त हुन्न । रोनाल्डो ठूला प्रतियोगितामा गोल गर्न नसकेको पनि ७ खेल पुगिसकेको छ ।

रोनाल्डोले ५ विश्वकप र ६ युरो गरेर पछिल्लो २१ वर्षको अन्तर्राष्ट्रिय फुटबल खेल जीवनमा लिग चरणको खेलमा कुनै गोल गर्न नसकेको अहिले नै हो । उनी कति उम्दा खेलाडी हुन्, त्यसमा त अब चर्चा आवश्यक छैन । बरू प्रश्न हो, रोनाल्डोको प्रभावबाट बाहिर निस्केर पोर्चुगलले फेरि ठूलो उपाधि जित्ने कहिले त ? त्यो भने सन् २०१६ को युरो उपाधिपछि । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेज यसबारे फरक धारणा राख्छन् । उनी भन्छन्, ‘रोनाल्डोले टर्कीविरुद्ध आफैं गोल नगरी जसरी अरूलाई पास दिए, यो त कुनै पनि फुटबल एकेडेमीमा सिकाउनका लागि देखाउनु नै पर्छ ।’

अब त रोनाल्डोबारे कुरा गर्दा यी प्रशिक्षक बहसमै उत्रने गर्छन् । उनको भनाइ छ, ‘पछिल्लो १२ महिनामा रोनाल्डोले के कस्तो गरेको छ, त्यसलाई हेरे पुग्छ ।’ रोनाल्डोले साउदी प्रो लिगमा अल–नासरका लागि ३४ खेलमा ३१ गोल गरेका छन् । अझ युरो छनोटमै १० गोल गरे । उनी रोमेलु लुकाकुभन्दा पछाडि मात्रै रहे ।

युरो सुरु हुनु अगाडि पनि मार्टिनेजले रोनाल्डोको प्रशंसा गर्दै यी खेलाडीले प्रत्येक दिनलाई अझ राम्रो गर्ने प्रयास गरेको बताएका थिए । सम्भवतः त्यसैले उनले जर्जियाविरुद्धको खेलमा आफ्ना केही प्रमुख खेलाडीलाई त आराम दिए, रोनाल्डोलाई भने सुरुदेखि खेलाए । यही बेला पछिल्लो विश्वकपमा रोनाल्डोले टिममा आफ्नो स्थान गुमाएका थिए । यसको ठूलै आलोचना पनि भएको थियो । धेरैले यसलाई खुलेर मन पराएनन् ।

त्यतिबेला उनले लिग चरणका सबै खेलमा सुरुदेखि खेले । तर, जतिबेला तत्कालीन प्रशिक्षक फर्नान्डो सान्तोसले दक्षिण कोरियाविरुद्धको खेलमा रोनाल्डोलाई सब्स्टिच्युट गरे, गाली गर्दै उनी बाहिर निस्केका थिए । नमीठो मुख बनाएका थिए । पछि स्विट्जरल्यान्ड र मोरक्कोविरुद्ध रोनाल्डोले सुरुदेखि खेल्नै पाएनन् । क्वाटरफाइनलमा पराजित भएपछि रोनाल्डो आँसु झार्दै मैदानबाट निस्किए । यसपल्ट कम्तीमा मार्टिनेजले रोनाल्डोसँग यस्तै नीति लिने छैनन् ।

उल्टै उनको खुलेर प्रशंसा गरिरहेका छन् । फेरि कसैलाई रोनाल्डोको फुटबलप्रतिको समर्पणमा शंका पनि छैन । उनी अझै पनि गोल गर्न माहिर खेलाडी हुन् । अहिले चाहिँ कमजोर प्रतिद्वन्द्वीविरुद्ध मात्रै उनको गोल निस्किरहेको छ । उनको गतिमा सायद केही कमी आएको छ । अन्तिम १६ मा रोनाल्डोबाट केही कमाल देख्न पाइने हो कि ? प्रश्न के पनि छ भने रोनाल्डोलाई बढी ध्यान दिँदा पोर्चुगल आफैंलाई घाटा त भइरहेको छैन ?

प्रकाशित : असार १६, २०८१ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×