कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४६

गणितमा किन बढी अनुत्तीर्ण ?

धेरै जस्तो विद्यालयहरूमा गणित विषयका दक्ष, अनुभवी र प्रशिक्षण प्राप्त शिक्षकको अभाव छ । न्यूनतम योग्यता प्राप्त नगरेका शिक्षकबाट गणित जस्तो गहन विषयको पठनपाठन हुनुको प्रत्यक्ष असर विद्यार्थीको बुझाइ र सिकाइमा पर्ने गर्छ ।
जीवन काफ्ले

गणित विषयले विद्यार्थीमा हरेक विषयको बारेमा तार्किक, वस्तुगत तथा वैज्ञानिक ढंगले अध्ययन–विश्लेषण र मूल्यांकन गर्ने क्षमताको विकास गराउँछ । विद्यार्थीलाई खोज अनुसन्धान गर्ने सामर्थ्यको पनि विकास गराउँछ । तसर्थ यो विषय सम्पूर्ण ज्ञानविज्ञान तथा भौतिक समृद्धिको प्रस्थानविन्दु, माध्यम र आधारस्तम्भ हो ।

गणितमा किन बढी अनुत्तीर्ण ?

तर २०८० को एसईईमा सहभागी चार लाख ६४ हजार ७८५ जनामध्ये एक लाख ७७ हजार ९८५ जना विद्यार्थी यसै विषयमा फेल भएका छन् । यसका पछाडि अनेका कारणहरू छन् । यस विषयको पाठ्यक्रम स्तर सुहाउँदो नहुनु, विषयगत विशिष्ट उद्देश्य, सामान्य उद्देश्य र तहगत उद्देश्य अनुरूपका प्रश्नपत्र बन्न नसक्नु, तहगत विशिष्ट उद्देश्य प्राप्तिको मापदण्डका रूपमा स्तर सुहाउँदा प्रश्नपत्र नबनाई हचुवाको भरमा प्रश्नपत्र बनाइनु, पठनपाठनमा संलग्न नभएका कथित शिक्षकद्वारा प्रश्नपत्र बनाइनु, कार्यरत शिक्षकलाई प्रभावकारी शिक्षण विधिको तालिम तथा प्रशिक्षणको व्यवस्था नगरिनु उल्लेखनीय कारणहरू हुन् ।

धेरै जस्तो विद्यालयहरूमा गणित विषयका दक्ष, अनुभवी र प्रशिक्षण प्राप्त शिक्षकको अभाव छ । न्यूनतम योग्यता प्राप्त नगरेका शिक्षकबाट गणित जस्तो गहन विषयको पठनपाठन हुनुको प्रत्यक्ष असर विद्यार्थीको बुझाइ र सिकाइमा पर्ने गर्छ । विद्यार्थीको असफलताको मूल कारणमध्येको यो पनि एउटा कारण हो । यस्तै, विगतमा खुला प्रतिस्पर्धाबाट योग्यलाई नछानी पहुँचका भरमा शिक्षक राख्ने अभ्यास थियो । यसको सोझो असर कक्षाकोठामा पर्ने गर्छ । जबसम्म योग्य शिक्षक–शिक्षिकाबाट प्रभावकारी शिक्षण हुँदैन, तबसम्म कुनै पनि विषयको नतिजा राम्रो आउँदैन । त्यसैले जीवन निर्माणको कलिलो उमेरमा रहेका ससाना छात्रछात्राहरूको विषयगत सुदृढ जग निर्माणका लागि योग्य शिक्षकलाई पठनपाठनमा संलग्न बनाउनुपर्छ भन्ने कुराको स्पष्ट संकेत एसईई नतिजाले दिएको छ ।

पाठ्यक्रममा पनि अनेक समस्याहरू छन् । गम्भीर छलफल, बहस र चिन्तनमार्फत परिमार्जित पाठ्यक्रम निर्माण गर्नु अनिवार्य छ । विद्यालयहरूले पाठ्यक्रमको उद्देश्यसँग मेल नखाने गरी लेखिएका पुस्तकहरूलाई पनि पाठ्यपुस्तक भनी तथानामका पुस्तकहरूको बोझ विद्यार्थीमाथि लाद्ने प्रवृत्ति फैलँदो छ । फरकफरक विद्यालयमा फरकफरक पाठ्यपुस्तक पढाइन्छ । यसले पनि नजिता अपेक्षाभन्दा भिन्न हुने गरेको हो ।

गणितमा बढी विद्यार्थी फेल भएको चर्चा व्यापक छ । जसले गर्दा यो विषय साँच्चै गाह्रो हो कि भन्ने सन्देश विद्यार्थीमा पर्न गएको छ । तर यही विषयमा ‘ए प्लस’ ल्याउने विद्यार्थीको संख्या पनि धेरै छ । १९ हजार ७३६ जनाले त ‘ए प्लस’ ल्याएका छन् । त्यसैले यो विषय गाह्रो भएकैले धेरै विद्यार्थी फेल भएका होइनन् । गणितको आफ्नै विशेषता छ । प्रश्नको सही उत्तर दिए राम्रो नम्बर आउँछ, नलेखे वा बिग्रिएमा आउँदैन । जबकि, अन्य विषयमा भने थोरै मिलेमा थोरै नै भए पनि नम्बर आउँछ । गणितमा नम्बर आउन शतप्रतिशत सही उत्तर लेखेको हुनुपर्छ । यस कारणले पनि गणितमा पास हुने विद्यार्थीको संख्यामा कमी आएको हो ।

मूल्यांकन परिपाटीमा अकल्पनीय दुःखद अभ्यास भइरहेका छन् । २५ प्रतिशत अंक बराबरको मूल्यांकन विद्यालयबाट हुने गरेको छ । यो प्रक्रिया वस्तुपरक हुन सकेको छैन । ज्यादै कमजोर विद्यार्थीको सामर्थ्य विकास गर्नुभन्दा बढी अंक दिएर चित्त बुझाउने प्रवृत्ति तीतो यथार्थ हो । त्यसबाट विद्यार्थी तथा अभिभावक तत्कालका लागि सन्तुष्ट त हुन्छन् तर उनीहरूको दीर्घकालीन हित हुँदैन । त्यसकै परिणाम पनि हो अहिलेको परीक्षाफल । तसर्थ विद्यालयहरूले आन्तरिक मूल्यांकन परिपाटीलाई सही रीतले गरे नगरेको अनुगमन सम्बद्ध पक्षबाट नभएसम्म यो नतिजाको आवृत्ति पटकपटक हुँदै जाने छ ।

शैक्षिक दृष्टिले राज्यलाई कहाँ पुर्‍याउने हो भन्ने कुरामा स्पष्ट भएपछि मात्र गन्तव्यमा पुग्ने रीति, विधि र दिशा स्पष्ट हुँदै जान्छ । त्यसैले नेपालको शिक्षा क्षेत्रलाई नेपालकै समुज्ज्वल भविष्य निर्माणको प्रकाशपुञ्ज बनाउने हो भने सम्बद्ध निकायको नेतृत्वको मानसाकाशमा सेवाभाव, इमानदारी र स्पष्ट दृष्टिकोणको दीपज्योति प्रदीप्त होओस् ।

– काफ्ले त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभागका उपप्राध्यापक हुन् ।

प्रकाशित : असार १८, २०८१ ०६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×