कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

रास्वपाले महामन्त्री मुकुल ढकाललाई किन गर्‍यो निलम्बन  ?

अनुशासनहीन, अराजनीतिक, अभद्र, अराजक व्यवहार गरी अनुशासन उल्लंघन गरेको भन्दै रास्वपा अनुशासन आयोगले एक हप्ताका लागि निलम्बन गर्न गरेको सिफारिस केन्द्रीय समितिद्वारा पारित
जयसिंह महरा

काठमाडौँ — सरकारबाट बाहिरिने निर्णय गरेको संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक विवादमा परेको छ । पार्टी सञ्चालन गर्न अक्षम, अनुशासनहीन, अराजनीतिक, अभद्र, अराजक व्यवहार गरी अनुशासन उल्लंघन गरेको लगायतका आरोप लगाउँदै डा. मुकुल ढकाललाई महामन्त्री पदबाट निलम्बन गर्ने निर्णय गरेको हो । 

रास्वपाले महामन्त्री मुकुल ढकाललाई किन गर्‍यो निलम्बन ?

पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, सहप्रवक्ता मनीष झालगायत महामन्त्री ढकाललाई कारबाही गर्न एकमत भएपछि ढकाल कारबाहीमा परेका हुन् । महामन्त्रीको पदबाट एक हप्ताका लागि ढकाललाई निलम्बन गरिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । त्यसपछि के गर्ने भन्ने विषयमा अनुशासन आयोगले प्रतिवेदनसहित दिने सिफारिसका आधारमा थप निर्णय लिने केन्द्रीय समितिले तय गरेको छ ।

‘एउटा राजनीतिक दलको केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालले गरेको अनुशासनहीन, अराजनीतिक, अभद्र, अराजक व्यवहार गरी अनुशासन उल्लंघन गरेकाले पार्टीको अनुशासन आयोगले १ हप्ताका लागि निलम्बनको प्रस्ताव सिफारिस गरेको थियो । आयोगको उक्त सिफारिसलाई केन्द्रीय समितिले पारित गरेको छ,’ प्रमुख सचेतक परियारले भने, ‘ढकालले सम्हाल्दै आएको महामन्त्रीको जिम्मेवारी सहप्रवक्ता कविन्द्र बुर्लाकोटी र प्रवक्ताको जिम्मेवारी सहप्रवक्ता मनीष झालाई दिने निर्णय केन्द्रीय समितिले गरेको छ ।’

यस विषयमा छलफल गर्न रास्वपाको बैठक बुधबार बिहानैबाट बसेको थियो । केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालले आफ्नो ‘समीक्षा यात्रा प्रतिवेदन’को विषयमा हुने छलफललाई सञ्चारमाध्यममार्फत प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग गरेका थिए । ढकालको उक्त मागलाई सभापति लामिछानेले केन्द्रीय समिति बैठकमा निर्णयार्थ प्रस्तुत गर्दा अधिकांश केन्द्रीय सदस्य विपक्षमा देखिए । त्यसपछि ढकालले मुखमा मास्क लगाई त्यसमाथि कालो टेपको पट्टी लगाए । आफूलाई बोल्न नदिइएको भन्दै ढकालले उक्त शैलीको विरोध गरेका हुन् । केन्द्रीय समितिमा ढकालको प्रतिवेदन सह–महामन्त्री बुर्लाकोटीले वाचन गरेका थिए । तर, उनले प्रतिवेदनका आधारमा तयार पारेको ६ पृष्ठको प्रस्ताव भने राख्न नदिएको ढकालले बताए ।

बैठकमा प्रतिवेदनमाथि सबैजसो सदस्यले धारणा राखिसकेका थिए । बैठकमा उठेका प्रश्नको जवाफ केन्द्रीय सदस्यहरूले महामन्त्रीबाट माग गरेका थिए । आफूबाट जबर्जस्ती जवाफ माग गरिएको र त्यसक्रममा दुर्व्यवहार गरिएको ढकालको आरोप छ । प्रत्यक्ष प्रसारण गरेको बैठकमा मात्रै बोल्ने कुरा राखिसकेको अवस्थामा केन्द्रीय सदस्यहरूले जवाफ दिन दबाब दिएको उनले बताए । ‘मुखमा टेप टाँसिसकेको राजनीतिक प्राणीले बोल् भन्दैमा बोल्छ ? अनि बोल् कि बोल् भनेर सबै जनाले ह्यारेस गरे,’ उनले भने, ‘उताबाट सभापतिले पनि घोचेको घोच्यै गर्ने । ज्यादै ह्यारेसमेन्ट गरेपछि म बैठक स्थलबाट हिँडेको हुँ ।’

सारा दोष काम गर्ने मान्छेलाई लगाउने पहिलेदेखिकै रणनीतिअनुसार सभापति लामिछानेले अहिले त्यही व्यवहार गरिरहेको ढकालले बताए । पार्टी सभापतिलाई साथ दिनका लागि नै काम गर्दा पनि आत्मसात् गर्न नसकेको तर ‘पार्टी सरकारमा गएपछि इमेज र क्रेज डाउन भएको’लाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने प्रतिवेदनका कुरा स्वीकार गर्न नसकेको उनले बताए । ‘रवि लामिछानेको होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं भन्दा निकालिएँ,’ उनले भने, ‘मन्त्रीहरूले आफ्नो अक्षमताको भारी महामन्त्रीलाई बोकाउन खोज्नुभएको छ ।’

गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीको बचत अपचलन गरेको आरोप जीबी राई र लामिछानेमाथि लागेको छ । तर लामिछानेले उक्त आरोप अस्वीकार गर्दै राईलाई नै दोषी देखाउँदै आएका छन् । पार्टी महामन्त्रीलाई दोष थुपार्दै गर्दा सभापति लामिछानेको जिम्मेवारी के हुने भन्ने कुरा ढकालले उक्त प्रसंगसँगै जोडेर उठाएका छन् । ‘गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक र पार्टीको महामन्त्री भन्ने पद बराबरी र एउटै मानकको पद हो । जतिबेला उहाँ त्यसको प्रबन्ध निर्देशक हुनुहुन्थ्यो, त्यतिबेला उहाँको अध्यक्ष जीबी राई दोषी हुने । आज जहाँ उहाँ सभापति हुनुहुन्छ र म महामन्त्री छु, सम्पूर्ण कुराको दोषी महामन्त्री भन्ने कुरा आयो,’ लामिछानेको प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै ढकालले भने, ‘जब उहाँ पत्रकार हुनुहुन्थ्यो तब नेता दोषी, जब उहाँ नेता हुनुभयो तब पत्रकार दोषी । जब उहाँ प्रतिपक्ष हुनुभयो सत्तापक्ष दोषी, जब उहाँ सत्तापक्ष हुनुभयो तब प्रतिपक्ष दोषी । यो प्रकारको व्यवहार चित्तबुझ्दो भएन ।’

पार्टीको प्रतिनिधित्व गर्दै मन्त्री भएकाहरूले जिम्मेवारीपूर्वक काम गर्न नसकेको र सरकारमा गएपछि गर्ने भनेर दिएका सार्वजनिक अभिव्यक्तिअनुसार काम नगरेपछिका कमजोरी लुकाउन आफूमाथि कारबाही गरिन लागिएको ढकालको आरोप छ । रास्वपाबाट सरकारमा सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्रीको नेतृत्वमा उपसभापति अर्याल श्रममन्त्री, सहमहामन्त्री सुमना श्रेष्ठ शिक्षामन्त्री र संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ खेलकुदमन्त्री छन् ।

रास्वपाका नेताहरूले महामन्त्री ढकालमाथि समीक्षा यात्राको प्रतिवेदन पार्टीमा छलफल हुनु पहिल्यै सञ्चारमाध्यममा बाँडेको, कार्यक्षमता, व्यवहार, पार्टी विधान एवं पद्धतिअनुसार नचलेको, महोत्तरीको जलेश्वरमा बसेको बैठकमा पनि पद्धति मिचेको र सचिवालय गठनमा विधि नमानेको आरोप लगाएका छन् । क्षमताविहीन व्यक्तिलाई पार्टी सचिवालयमा राखेको तर क्षमता भएका नेतालाई ठाउँ नदिएको पनि उनीमाथि आरोप लगाइएको छ । इलाम २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार मिलन लिम्बूलाई पराजित गर्न पनि भूमिका खेलेको उनीमाथि आरोप छ । आरोप/प्रत्यारोपसँगै ढकाल बैठकबाट बाहिरिएका थिए ।

प्रकाशित : असार २०, २०८१ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×