सन् १९४६ मा आजकै दिन : फिलिपिन्स स्वतन्त्र

असार २०, २०८१

कान्तिपुर संवाददाता

On this day in 1946: The Philippines became independent

काठमाडौँ — सन् १९४६ मा आजकै दिन (जुलाई ४) मा फिलिपिन्सले स्वतन्त्रता प्राप्त गरेको थियो । अमेरिकाबाट स्वतन्त्र भएसँगै मानुएल रोक्सस गणतन्त्र फिलिपिन्सको राष्ट्रपति बनेका थिए । 

फिलिपिन्स १५६५ देखि स्पेनी उपनिवेश थियो । त्यसयता स्वतन्त्रताका लागि विभिन्न समयमा विद्रोहहरू भएका थिए । १८९६ को युद्धपछि फिलिपिन्स र स्पेनबीच शान्ति सम्झौता भएको थियो । तर त्यसको दुई वर्षपछि स्पेन र अमेरिकाबीचको युद्धका कारण ‘मनिला बे’ मा दुई देशबीच तनाव उत्पन्न भयो । 

त्यही मौकामा फिलिपिन्सका जर्नेल एमिलियो अगुइनाल्डोले स्पेनलाई पराजित गर्दै क्रान्तिकारी सरकार स्थापित गरे । १८९८ को डिसेम्बरमा पेरिसमा भएको एक सम्झौतासँगै स्पेन–अमेरिका युद्ध अन्त्य भयो । उक्त सम्झौताअनुसार फिलिपिन्सबाट बाहिरिन तयार भएको स्पेनले फिलिपिन्स अमेरिकाको उपनिवेश रहनुपर्ने सर्त राखेको थियो । 

तर अमेरिका र स्पेनबीचको सम्झौतामा बेवास्था गरिएपछि फिलिपिन्समा स्वतन्त्रता युद्ध चर्कियो । त्यसको दुई वर्षपछि अगुइनाल्डोलाई पक्राउ गरेको अमेरिकाले फिलिपिन्समा शासन सुरु गर्‍यो । तर पछि फिलिपिन्स र अमेरिकीबीचको सहमतिअनुसार १९३४ मा ल्याइएको कानुनअनुसार फिलिपिन्स स्वतन्त्र भएको हो ।

कान्तिपुर

Link copied successfully