कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

रोकौं बालविवाह

उमेर नपुगी विवाह गरेका बालिकाहरूमा गर्भधारण तथा बच्चा जन्माउने बेला जटिलता आउन सक्छ । यसले उनीहरूको बालापनलाई समेत समाप्त गरिदिन्छ । 
मीरा आचार्य

बालविवाह भन्नाले १८ वर्षभन्दा मुनिका बच्चा–बच्चा वा बच्चा–वयस्कबीचको औपचारिक विवाह वा अनौपचारिक मिलनलाई जनाउँछ । विगत एक दशकमा यसमा केही कमी आएको छ । तर, अझै पनि ४१ प्रतिशत नेपाली बालिकाहरूको १८ वर्षअघि नै विवाह हुन्छ । गरिब, अशिक्षित र ग्रामीण समुदायहरूमा बालविवाह बढी हुने गरेको पाइन्छ ।

रोकौं बालविवाह

परिवारमा बालिकालाई आर्थिक बोझका रूपमा हेर्ने प्रचलन अझै कायमै छ । त्यसैले वित्तीय बोझ कम गर्न गरिब परिवारहरूले छोरीहरूलाई चाँडै विवाह गरिदिन्छन् । नेपालमा बालविवाह गरेमा तीन वर्ष कैद र दस हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने कानुनी प्रावधान छ । तर यो कानुनी व्यवस्था विरलै लागू भएको पाइन्छ । साथै, नेपाल सरकारले यस सम्बन्धमा अन्तर्राष्ट्रिय सम्झौताहरूमा हस्ताक्षर गरे पनि राष्ट्रिय प्रतिबद्धता अपर्याप्त छन् ।

धेरै देशहरूमा बालविवाह अन्त्य गर्न पर्याप्त लगानीको पनि अभाव छ । प्रत्येक वर्ष संसारमा एक करोड २० लाख बालिकाको १८ वर्षअघि नै विवाह हुन्छ । यसबाट करोडौं मानिसमा असर परिरहेको छ । त्यसैले यो विश्वव्यापी समस्या हो भन्ने देखिन्छ ।

बालविवाहलाई बालबालिकाको अधिकार उल्लंघनका रूपमा मात्रै नभएर मानवअधिकार उल्लंघनका रूपमा लिइन्छ । किनकि, बालिकाको शिक्षा, स्वास्थ्य सेवा, सीप सिक्ने अवसर र व्यक्तित्व विकासमा अवरोध गर्छ । बालापनलाई समाप्त गरिदिन्छ । उनीहरूलाई हिंसा, शोषण र दुर्व्यवहारको उच्च जोखिममा राख्छ । साथै, बालबालिकाको रोजाइमा प्रतिबन्ध लगाउँछ । साना केटाकेटीहरू मानसिक, मनोवैज्ञानिक, भावनात्मक र शारीरिक रूपले विवाहका लागि तयार भएका हुँदैनन् । उमेर नपुगी विवाह गरेका बालिकाहरूमा गर्भधारण तथा बच्चा जन्माउने बेलामा जटिलता आउन सक्छ । अर्कोतिर उनीहरूले आफ्नो जीवनकालमा धेरै बच्चा जन्माउने सम्भावना बढ्छ । जसले घरपरिवारमा आर्थिक भार बढ्छ । त्यसैले यसलाई हटाउन आवश्यक छ ।

यद्यपि, बालविवाह समाजमा गहिरो जरा गाडिएको मान्यता हो । यसले व्यापकता पाउनुका केही कारणहरू छन्– १) गरिबी, २) बालिकाहरूको कामुकतालाई बचाउन, ३) लैंगिक भेदभाव, ४) अपूर्ण कानुन र ५) बेचबिखन (बालिका) ।

नेपाली समाजले छोरा जन्माउने महिलालाई भाग्यमानी ठान्छ । यसले भेदभावपूर्ण सामाजिक र आर्थिक अभ्यास तथा परम्पराहरू प्रतिबिम्बित गर्दछ । केही ठाउँहरूमा छोराहरू सम्पत्तिका हकदार हुन्छन् । अर्कोतिर छोरीहरूलाई विवाहमा दाइजो आवश्यक पर्छ भन्ने मान्यता छ । यस्तो परम्पराले महिलालाई छोरा जन्माउन दबाब दिन्छ । छोरी जन्माउने महिलाले हिंसा खेप्नुपरेको घटना पनि सुनिन्छ । यस्ता कुराहरूले अन्ततः महिलाहरूको यौन र प्रजनन जीवनलाई असर गर्छ ।

विनाशकारी भूकम्पले बालविवाहलाई बढाउने डर बढाएको छ । अन्य देशहरूमा गरिएको अध्ययनहरूले देखाउँछ, प्रकोप वा संकटमा परिवारहरूले घर र जीविकोपार्जन गुमाउँदा आमाबुबाले छोराछोरीलाई बचाउन र उनीहरूको भविष्य सुरक्षित गर्न विवाह गर्ने सम्भावना बढी हुन्छ ।

बालिकाहरूलाई सशक्त पार्ने र बालविवाह रोक्नका लागि केही उपायहरू अपनाउन सकिन्छ । जसमा उनीहरूलाई सूचना, सीप र समर्थनका नेटवर्कहरूद्वारा सशक्त बनाउने, उनीहरू र उनको परिवारलाई आर्थिक सहायता र प्रोत्साहन दिने, अभिभावक र समुदायका सदस्यहरूलाई शिक्षित गर्ने तथा सहयोगी कानुन र नीतिहरूलाई प्रोत्साहन गर्ने जस्ता उपायहरू हुन सक्छन् ।

बालविवाहको अन्त्य गर्न सरकार, नागरिक समाज, धार्मिक व्यक्ति तथा संस्थाहरू, समाजका नेताहरू र युवाहरूबीच सहकार्य हुन जरुरी छ । उनीहरू यो कार्यमा संलग्न हुनुपर्छ । दिगो परिवर्तनका लागि समुदाय, जिल्ला र राष्ट्रियस्तरमा सक्रिय सरोकारवालाहरूलाई संलग्न गराउनु महत्त्वपूर्ण छ ।

बालविवाहको अन्त्य गर्न गहिरो प्रमाण र तथ्यांकमा आधारित रणनीतिहरू हुनुपर्छ । सचेतना जगाउने प्रयासहरूले बालविवाह अन्त्य गर्न र सकारात्मक सामाजिक मान्यताहरू प्रवर्द्धन गर्न, सार्वजनिक समर्थन निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । त्यस्तै, कानुन र नीतिहरूको कार्यान्वयन गर्ने, बालिकाहरूलाई सशक्त पार्ने, गुणस्तरीय शिक्षा प्रदान गर्ने र पुरुषहरूलाई काममा लगाउने जस्ता उपायहरू पनि सहयोगी हुन सक्छ ।

प्रकाशित : असार २०, २०८१ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×