कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

टिम स्पेन र गोल बेलिङ्घमको राम्रो

युरोमा नकआउटको पहिलो चरणका खेल सकिएका छन्, त्यसमध्ये केही खेल वास्तवमै रोमाञ्चक रहे
एपी

म्युनिख — युरो च्याम्पियनसिपको अन्तिम १६ का खेलहरू सकिएका छन् । मंगलबारको खेलसँगै नकआउटका पहिलो चरणका खेल सकिएका हुन् । त्यसमध्ये केही खेल वास्तवमै रोमाञ्चक रहे । नेदरल्यान्ड्सले रोमानियामाथि रचेको ३–० जित र अस्ट्रियामाथि टर्कीको २–१ जित सम्झनलायक भए ।

टिम स्पेन र गोल बेलिङ्घमको राम्रो

अन्तिम १६ मा यी मात्रै मज्जाका खेल रहेनन् । इंग्ल्यान्डले स्लोभेनियालाई हराउन अतिरिक्त समयको खेल चाहिएको थियो । बेल्जियममाथि फ्रान्सको जितमा निर्णायक कारण बन्यो, आत्मघाती गोल ।

जर्जियाविरुद्ध स्पेनको विजयी प्रदर्शन अब्बल रह्यो । पोर्चुगलले स्लोभाकियालाई हराउन टाइब्रेकर नै कुर्नुपरेको थियो । र, डिफेन्डिङ च्याम्पियन इटालीलाई हराउने काम गरेको थियो स्विट्जरल्यान्डले । आयोजक जर्मनी डेनमार्कमा बलियो साबित भयो । क्वाटरफाइनलका खेल आफैंमा उत्तिकै सनसनीपूर्ण हुने सम्भावना पर्याप्त छ । किनभने प्रतिद्वन्द्वी टिम एक आपसविरुद्ध तगडा परेका छन् ।

‘ड्र’ को एक छेउ जर्मनीले स्पेनको सामना गर्नेछ । फ्रान्स र पोर्चुगल अर्को खेलमा भिड्नेछन् । ‘ड्र’ को अर्कोतर्फ इंग्ल्यान्ड र स्विट्जरल्यान्ड तथा नेदरल्यान्ड्स र टर्की छन् । टिमको नामै हेर्दा खेल अब्बल दर्जाको हुने अनुमान गर्न सकिन्छ । सेमिफाइनल र फाइनलमा को–को भिड्ने छन्, त्यसबारे पनि अनुमान गर्न सकिन्छ । अन्तिम १६ को समाप्तिमा यो चरणका उत्कृष्ट टिम, उत्कृष्ट गोल र उत्कृष्ट खेलाडी को रहे त ?

उत्कृष्ट टिम : स्पेन

यसमा कुनै दुविधा नै छैन कि यसपल्टको युरोमा कुनै एक टिमले राम्रो खेलिरहेको छ भने त्यो स्पेन हो । जर्जियालाई जसरी स्पेनले हरायो त्यसले स्पष्ट पारेको छ, यो टिममा स्तरको गहिराई कति धेरै छ भनेर । स्पेनले निकालेका चार गोल आफैंमा प्रशंसा गर्न योग्य रहे । यो जितले स्पेनी खेलाडीको आत्मविश्वास अझ बढेको हुनुपर्छ । यो खेलको तथ्यांकले स्पेन कति धेरै राम्रो छ, त्यो देखाउँछ । जर्जियामाथि स्पेनको आधिपत्य ७५ प्रतिशत रह्यो । स्पेनले ३४ पल्ट त पोस्टमा आक्रमण नै बुन्यो ।

खेलेको कुल पास संख्या थियो, ७ सय ९२ । एक प्रकारले पूरा खेल अवधिमा स्पेनलाई रोक्न असम्भव देखिएको थियो । स्पेनले त्यस खेलमा एउटा खराब मोडको भने सामना गर्नुपरेको थियो । त्यो थियो, आत्मघाती गोल । अहिले जसरी स्पेनले खेलिरहेको छ, त्यो अर्थमा यो नै हराउँदा सबैभन्दा स्वाद आउने टिम हुनेछ । स्पेन फाइनलसम्मको यात्रामा पूरापूर हकदार देखिन्छ । टिमको खेलले पनि यत्तिको प्रमाणित गरेको छ ।

उत्कृष्ट गोल : बेलिङ्घम

बिटल्सको एउटा प्रसिद्ध गीत छ । त्यसको शीर्षक रहेको छ, ‘हे जुड’ । इंग्लिस टिमका स्टार जुड बेलिङ्घम साँच्चै राम्रा छन् खेलमा । अबको पुस्ताका खेलाडी हुन् उनी । उनले स्लोभेनियाविरुद्ध गरेको गोल आफैंमा उत्कृष्ट रह्यो । यस प्रतियोगिताकै अहिलेसम्मको उत्कृष्टभन्दा हुन्छ । अझ यो गोलको महत्त्व जे जति छ, त्यसले यसको भव्यता बढाउने गर्छ । भएको के थियोभन्दा इंग्ल्यान्ड पराजित भई प्रतियोगिताबाट बाहिरिन केही सेकेन्ड मात्रै बाँकी थियो ।

इंग्ल्यान्ड टिममात्र होइन, समर्थक जति तनावमा थिए । इंग्ल्यान्डको हार हेर्न नसकेर केहीले त रंगशालासमेत छाडिसकेका थिए । ठीक यही बेला बेलिङ्घमले ओभरहेड किकमा मीठो न मीठो गोल गरे । यसले खेल बराबरीमा आयो । पछि कप्तान ह्यारी केनले विजयी गोल गरे । सबैलाई थाहा छ, यी बेलिङ्घम प्रतिशाभाली खेलाडी हुन्, । तर यस्तो प्रतिभाको सही सदुयोग गर्नु सक्नुपर्छ, त्यो पनि ठीक समयमा । उनले यही काम खुबै गरेका छन् ।

उत्कृष्ट खेलाडी : कोडी गाक्पो

नेदरल्यान्ड्सले हात पारेको अन्तिम १६ को प्रभावशाली जितमा जताततै देखिने एक खेलाडी थिए । ती हुन्, कोडी गाक्पो । उनले सुरुमा गोल गरे । त्यसपछि अवसर पनि सिर्जना गरे । एक खेलाडीबाट यो भन्दा बढी के नै अपेक्षा गर्ने र ? उनले नेदरल्यान्ड्सका लागि ठूला प्रतियोगिताको नवौं खेल खेलिरहेका थिए । उनको यी खेलमा गोल संख्या ६ पुगेको छ । सन् २०२२ को विश्वकपमा उनले तीन गोल गरेका थिए । यता जर्मनीमा उनले तीन गोल गरिसके ।

लिग चरणमा नेदरल्यान्ड्सको खेल एक प्रकारले उतारचढावपूर्ण रह्यो । अझभन्दा राम्रो रहन सकेन । समूहको तेस्रो स्थानमा रहेर नेदरल्यान्ड्स नकआउट चरण पुगेको हो । तर, अहिले टिम राम्रो देखिएको छ । टोलीसामु प्रतियोगितामा पूरापूर मौका तयार छ । टिमको यो यात्रामा गाक्पोले मज्जाले योगदान दिएका छन् । उनले अहिलेसम्म ठूलो अवसरमा आफूलाई धेरै प्रमाणित गर्न सकेका छैनन् । सायद अहिले नै अवसर हो । गाक्पोलाई अहिलेसम्मको खेलमा उत्कृष्ट मान्दा धेरैको दुईमत हुने छैन ।

प्रकाशित : असार २०, २०८१ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×