कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

विश्वकपमा बुमबुम

ट्वान्टी–२० क्रिकेटको विश्वकप २०२४ मा विशुद्ध बलरको भूमिकामा रहेका जसप्रित बुमराह ‘प्लेयर अफ द टुर्नामेन्ट’ भए । प्रतियोगितामा उनले १५ विकेट लिए, त्यो पनि ४.१७ को ‘इकोनोमी रेट’ मा ।
हिमेश

काठमाडौँ — हामी कुरा गरिरहेका छौं, ट्वान्टी–२० क्रिकेटको । यो स्वरूपको क्रिकेटमा खालि ब्याटर मात्र बोल्छ । बलरको काम त चुपचाप सहेर बस्ने हो । तर एक प्रकारले अचम्मै भयो, यहीट्वान्टी–२० क्रिकेटको विश्वकप २०२४ मा त्यो खेलाडी ‘प्लेयर अफ द टुर्नामेन्ट’ भए, जसको भूमिका विशुद्ध बलरका रूपमा मात्र थियो ।

विश्वकपमा बुमबुम

त्यसैले यही शौभाग्यबाट गुज्रेका भारतीय फास्ट बलर जसप्रित बुमराहले शनिबार बारबाडोजमा भएको फाइनल जितेपछि भने, ‘मलाई त चन्द्रमा पुगे जस्तै महसुस भइरहेको छ ।’ भारतले फाइनलमा दक्षिण अफ्रिकालाई सात रनले पराजित गर्दै दोस्रो पटक ट्वान्टी–२० विश्वकपको उपाधि जितेको हो ।

एक प्रकारले फाइनल उतारचढावपूर्ण नै रह्यो । फाइनलमा कहिले भारत बलियो देखियो त कहिले दक्षिण अफ्रिका । तर अन्त्यमा जित भारतकै नाममा रह्यो । ‘फाइनलमा मैले आफूलाई सक्दो संयमित राख्न खोजेको थिएँ । हामीले क्रिकेट खेल्ने भनेकै यस्तै मोडका लागि हो । यस्तै सफलताका लागि मैले कडा मिहिनेत गरेका थिएँ । यस्तोमा जति बेला सफलता

आफ्नै नाममा हुन्छ, त्यति बेलाको अनुभव बेग्लै हुन्छ,’ उनले भने । उनी वास्तवमै किन प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिए त ? यसको उत्तर सजिलो छ । उनले पूरा प्रतियोगितामा १५ विकेट लिए, प्रतिविकेट ८.२६ को दरले । उनको ‘इकोनोमी रेट’ रह्यो, ४.१७ । यही त हो, अविश्वसनीय प्रदर्शन । यसैले उनलाई प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुन्न गाह्रो भएन ।

पूरा प्रतियोगितामा भारतको प्रदर्शन दमदार रह्यो । भारतले कुनै खेल गुमाएन । हुन त दक्षिण अफ्रिकाले फाइनल अगाडि सबै खेल जितेको थियो । तर अन्त्यमा भारत उपाधिका लागि पूरा हकदार रह्यो । प्रतियोगिताको पहिलो चरणमा मात्र होइन, सुपर–एटमै पनि भारतको प्रदर्शनमा गुनासो गर्ने ठाउँ थिएन । भारतको यो प्रदर्शनका खासखास खेलाडीको योगदान रह्यो । त्यसमै एक रहे, बुमराह । उनले साह्रै मितव्ययी बलिङ गरे । उनको बलिङमा कोही पनि प्रतिद्वन्द्वी ब्याटरले खुलेर रन नै बनाउन सकेनन् । जब कसैले ट्वान्टी–२० क्रिकेटमा उनले जस्तो बलिङ गर्छ, जित पनि उनकै टिममा हुन्छ, अरूको होइन ।

बुमराह जस्तै खेलाडीले त हो, क्रिकेटको आधारभूत नियम कायम रहनु । त्यो के भने, क्रिकेटमा ब्याटर र बलरबीच सन्तुलन हुनुपर्छ । तर पछिल्लो समय ट्वान्टी–२० क्रिकेटमा ब्याटर असाध्यै हाबी हुन थालेको थियो । बुमराहले यस विश्वकपको माध्यमबाट सधैं यस्तै हुन्छ भन्ने भ्रम तोडे ।

पूरा प्रतियोगितालाई लिएर उनले भनेका छन्, ‘हामीले खेल्ने भनेको पनि यस्तै उच्च अवसरका लागि हो । ठूलो दिन ठूलै गर्नुपर्छ । पूरा प्रतियोगितामा मैले खेलमै केन्द्रित रहेर खेलें । जति बेला म बलिङ गरिरहेको हुन्छ, मेरो ध्यान एकै बलमा मात्र हुने गर्छ । कहिलेकाहीं क्रिकेटमा भावनाले प्रदर्शनलाई जित्न सक्छ । मैले फाइनलमा पनि लेन्थ बललाई बढी उपयोग गरें । त्यसैले रिभर्ज स्विङ पनि पाएँ । आफूले टिमको जितमा योगदान दिन सकेकोमा म खुसी छु ।’

फेरि त्यही फाइनलमै फर्कन हो भने दक्षिण अफ्रिकी इनिङ्सले १८ ओभर छुँदा भारत असाध्यै दबाबमा थियो । एक प्रकारले खेल भारतको हातबाट बाहिरिसकेको थियो । ठीक त्यही बेला कप्तान रोहित शर्माले सम्झे, बुमराहलाई नै । त्यस ओभरमा मार्को जानसेनलाई उनले जसरी बोल्ड गरे, त्यो अति सुन्दर थियो । जानसेन बललाई सुरक्षात्मक ढंगले रोक्न चाहन्थे, तर उनलाई आफ्नो ‘गेट’ खुलेको पत्तै भएन । त्यसमै बलले बेललाई मीठो चुम्बन गरेको थियो । सायद त्योभन्दा पनि अझ राम्रो बल त दक्षिण अफ्रिकी ओपनर रेजा हेनरिकविरुद्ध देखियो, जसमा ब्याटरले बल कहाँबाट आएर कता गयो, चालै पाएनन् र बोल्ड भए । यसलाई यो विश्वकपकै सबैभन्दा मीठो ‘डिसमिसल’ मानिएको छ ।

बुमराहले अहिलेसम्म तय गरेको यात्रालाई लिएर पनि उनको प्रशंसा गर्नुपर्ने हुन्छ । पछिल्लो समय उनको प्रदर्शनलाई लिएर खुलेर प्रशंसा गर्नेमा पुराना बलर कपिल देव पनि पर्छन् । सायद उनी अलिकति बढी नै भावुक भए होलान्, त्यसैले उनले भनेका थिए, ‘मभन्दा बुमराहको बलिङ हजार गुणा राम्रो ।’ खासमा सबै कुरा यस्तो पनि होइन । जति बेला हामी बुमराहको कुरा गर्छौं, सबैभन्दा अगाडि आउने तथ्य हो, उनको असाध्यै अस्वाभाविक देखिने बलिङ शैली । आम फास्ट बलरको जस्तो छैन, उनको शैली । बरु धेरै फरक छ र यसैले उनलाई विशेष पनि बनाउने गर्छ । अरू धेरै फास्ट बलरले जस्तो उनी लामो रनअप लिँदैनन् । छोटो दौडमै क्रिजसम्म पुगिसक्छन् । यसबीच धेरै अलिकति उफ्रिन खोजे जस्तो देखिन्छ ।

उनले बललाई गति दिने भनेको आफ्नो हातकै मद्दतले हो । उनको कुहिनामा अलिकति बढी नै लचकता छ । उनी आफ्नो हातको मुट्ठीलाई पनि असाध्यै पछाडिसम्म लान सक्छन् । ठ्याक्कै बल फ्याल्दा उनको हात र खुट्टा सिधा रेखामा देखिन्छन् । यसै कारणले उनले बलिङ गर्दा बल कस्तो आउने हो, त्यसमै दुविधामा पर्छन्, विपक्षी ब्याटर । उनी प्रायः अफ स्टम्पको बाहिर बलिङ गर्छन् । प्रायः सर्ट लेन्थ बल हुने गर्छ । तर यहाँनिर ठूलै समस्या पनि छ, यो बलिङ शैलीमा कायम रहनु भनेको बारम्बार घाइते हुनु पनि हो । बुमराहको जसरी बलिङ गर्छन्, त्यसले उनको ढाडको तल्लो भागमा बढी नै ‘स्ट्रेस’ दिन्छ भनिन्छ । त्यसैले कतिपयले उनलाई बलिङ शैली परिवर्तन गर्नुपर्छ भनेर पनि सल्लाह दिन्छन् ।

अनि यसै कारण बुमराहलाई आफूलाई ‘फिट एन्ड फाइन’ राख्न बढी नै मिहिनेत गर्नुपर्छ । यदि उनले आफ्नो बलिङ शैलीलाई परिवर्तन गर्ने हो भने उनी अहिले जस्तो बलर छन्, त्यस्तो नहुन सक्छ । सबैभन्दा ठूलो उनी अहिले जति सटीक र घातक हुने गर्छन्, त्यो नहुने सम्भावना धेरै नै हुन्छ । त्यसैले वेस्ट इन्डिजका पुराना लेजेन्डरी फास्ट बलर कर्टली एम्ब्रोजले सल्लाह दिएका छन्, बुमराहले जसरी बलिङ गर्छन्, त्यसलाई त्यस्तै कायम राख्नुपर्छ, परिवर्तन गर्नु हुन्न । हो, बुमराहले चोटबाट बच्न अलिकति बढी मिहिनेत भने गर्नैपर्छ । र, उनले यो काम गरेका पनि छन् । त्यसैले त अमेरिकामा र क्यारेबियन क्षेत्रमा भएको टी–ट्वान्टी विश्वकपमा उनी उत्कृष्ट खेलाडी बने । अनि जति जति बेला यस्तो अवसर आउँछ, सबैले भन्ने भनेको यही हो, ‘बुमबुम बुमराह’ ।

प्रकाशित : असार १७, २०८१ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×