कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४६

बेलिङ्घमले जोगाए इंग्ल्यान्डलाई

एपी

ग्लेसनकिर्चेन — आखिरमा जुड बेलिङ्घमले केही विशेष नै गर्‍यो इंग्ल्यान्डलाई युरोमा कायम राख्न । उनले हेर्दै मन छुने ओभरहेड किकको सहयोगमा गोल गरेका थिए । त्यो दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा थियो । त्यसैले खेल अतिरिक्त समयमा पुग्यो ।

बेलिङ्घमले जोगाए इंग्ल्यान्डलाई

ह्यारी केनले त्यसको सुरुमै गोल गरेपछि इंग्ल्यान्ड स्लोभाकियालाई २–१ ले हराउन सफल रह्यो । यससँगै इंग्ल्यान्डको सन् १९६६ यता पहिलो ठूलो उपाधि जित्ने सपना कायम रह्यो ।

खासमा इंग्ल्यान्ड प्रतियोगिताबाट बाहिरिन केही सेकेन्डमात्रै बाँकी थियो, यस्तोमा स्लोभाकियाले अन्तिम १६ को खेलमा प्रतियोगिताकै सबैभन्दा स्तब्धपूर्ण नतिजा निकाल्ने अवसर बनेको थियो । ‘मलाई लाग्छ, हामी प्रतियोगिताबाट बाहिरिन २०–३० सेकेन्डमात्रै बाँकी थियो,’ बेलिङ्घमले सुनाए, ‘यसमा कसैलाई दुविधा छैन कि यो मेरो खेल जीवनको सबैभन्दा महत्त्वपूर्ण अवसर रहेको छ ।’ हुन पनि उनको खेलजीवन नै आफैंमा धेरै लामो छैन ।

शनिबार मात्रै बेलिङ्घम २१ वर्षका भए । उनी रियल म्याड्रिड गएको भर्खरै जसो त हो । त्यहाँ गएयता उनले युरोपेली च्याम्पियन्स लिगसँगै स्पेनी ला लिगा जितिसकेका छन् । उनको उमेर त भर्खरको छ, तर अहिले नै उनी इंग्लिस फुटबलका सबैभन्दा महत्त्वपूर्ण खेलाडी साबित भएका छन् । त्यो भन्दा पनि उनी त्यस्ता खेलाडीका रूपमा अगाडि आइरहेका छन्, जसले चाहिएका बेला टिमका लागि निर्णायक प्रदर्शन गर्नेछ ।

‘विश्वमा जति पनि २१ वर्षका खेलाडी छन्, त्यसमा उनी फरक छन् । अझ भनौं, असाधारण छन्,’ इंग्लिस प्रशिक्षक गारेथ साउथगेटले भने । उनले खेलको अन्तिम १५ मिनेट आफ्नो पूरा ध्यान बेलिङ्घममै रहेको र उनले केही गर्न सक्ने विश्वास रहेको बताए । युरो २०२४ मा उपाधिका प्रत्याशीमध्ये एक रहेको इंग्ल्यान्ड ४५ औं वरीयताको स्लोभाकियासँग २५ औं मिनेटमा पछाडि परेको थियो, जतिबेला इभान स्क्रान्जले गोल गरेका थिए ।

त्यसयता इंग्ल्यान्डले गोलका लागि प्रयास त गरिरहेको थियो, सार्थक हुन सकेको थिएन । तर, खेलको अन्त्यतिर निर्णायक मोड भने आयो । काइल वाल्करले लामो थ्रो गरे अनि त्यसलाई मार्क गेहीले फ्लिक गरे । बेलिङ्घम बक्समा थिए । उनले आफ्नो शरीरलाई त्यसअनुसार सन्तुलित बनाए, जसबाट ओभरहेड किक गर्न सकियोस् अनि तल्लो कुना च्यापेर गरेको बलले पोस्टको दिशा लिएको थियो । स्लोभाकियाली गोलरक्षक मार्टिन डुब्राभ्का हेरेको हेर्‍यै भए ।

त्यतिबेलासम्म केही इंग्लिस समर्थकले रंगशाला छाडिसकेका थिए । जति रंगशालामा थिए, तिनीहरूमा अपार खुसीयाली छाएको थियो । इंग्ल्यान्डले दोस्रो गोलका लागि भने लामो समय कुर्नुपरेन । उनले नजिकको दूरीबाट हेड गर्दै सजिलो गोल गरेका थिए । त्यो इंग्ल्यान्डका लागि कीर्तिमान ६५ औं गोल रह्यो । अब शनिबार हुने अन्तिम आठको खेलमा इंग्ल्यान्डले स्विट्जरल्यान्डको सामना गर्नेछ ।

प्रकाशित : असार १८, २०८१ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×