कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

लयको आसमा डच

रोयटर्स

ह्याम्बर्ग — नेदरल्यान्ड्स युरो २०२४ को समूह चरणमा आफ्नो खराब प्रदर्शनबाट निराश छ । टोली त्यसबाट उन्मुक्ति लिन चाहन्छ । मंगलबार अन्तिम १६ को खेलमा टोलीले रोमानियाको सामना गर्नेछ । त्यसमा डच आशा हुनेछ, लय भेट्टाउने ।

लयको आसमा डच

सम्भवतः आफ्नो समूहमा तेस्रो भएकै कारण नेदरल्यान्ड्सले केही सजिलो विपक्षी टिम पाएको छ रोमानियाका रूपमा । लिग चरणको अन्तिम खेलमा अस्ट्रियाविरुद्धको खेल गुमाएपछि नेदरल्यान्ड्स तेस्रो स्थानमा खुम्चिएको थियो ।

यसै कारण कम्तीमा टोलीले इंग्ल्यान्डको भने सामना गर्नुपरेन । फिफा वरीयतामा नेदरल्यान्ड्स सातौंमा छ भने रोमानिया डचभन्दा ४० स्थान पछाडि छ । यी दुई टिमबीच अहिलेसम्म भएका १९ खेलमा रोमानिया दुईपल्ट मात्रै विजयी छ । अझ पछिल्ला १४ खेलको हिसाब निकाल्ने हो भने १० मा नेदरल्यान्ड्स वियजी छ । त्यसमध्ये रोमानियाको एकमात्र जित युरो २००८ को छनोटमा आएको थियो ।

कहिलेकाहीं फुटबलमा यही स्थितिले टिमलाई बलियो बनाउने गर्छ । सायद रोमानिया यही स्थितिमा छ । यस्तो किनभन्दा नेदरल्यान्ड्सविरुद्ध रोमानियालाई गुमाउनु केही छैन । त्यसमाथि नेदरल्यान्ड्सको प्रदर्शन आफैंमा कमजोर छ । जर्मन भूमिमा अहिलेसम्मको खराब प्रदर्शनकै कारण डच टिम लय समात्न प्रयासरत रहेको हो । लिग चरणका तीन खेलपछि डच खेलाडीले पनि आफ्नो कमजोरी स्वीकारेका छन् । विशेषतः कप्तान भर्जिल भान डाइकले ।

उनी के मान्छन् भने सायद डच खेलाडीले आफ्नो टिम नै कति बलियो छ भनेर गलत अनुमान लगाए । आफ्नो कमजोरी नै देख्न सकेन । रोमानियाले भने समूह ई जितेको थियो ४ अंक लिएर । प्रतियोगितामा टोलीको सुरुआत नै दमदार रह्यो । टोली युक्रेनलाई ३–० ले हराउन सफल रह्यो । त्यसपछि भने बेल्जिमविरुद्धको खेल २–० ले गुमायो । अन्तिम खेल भने स्लोभाकियाविरुद्ध गोलरहित बराबरीमा टुंगिएको थियो । यही कारणले ४ अंकमै रोमानिया शीर्षस्थानमा रह्यो ।

रोमानियाली प्रशिक्षक एडवार्ड इर्डानेस्कुको रणनीति भने रक्षात्मक रहने गर्छ । तर उनी टिमको आक्रमणलाई सकारात्मक बनाउन लागेका छन् । नेदरल्यान्ड्सको डिफेन्स आफैंमा कमजोर देखिएको छ । त्यसैले रोमानियाली आक्रमणका प्रमुख हर्ताकर्ता डेनिस ड्रागस डच रक्षापंक्ति तोड्ने प्रयासमा हुनेछन् । रोमानिया आफैं पनि लेफ्टब्याक निकुसर बान्कुविना हुनेछ, किनभने उनी निलम्बनबाट गुज्रिइरहेका छन् ।

डच प्रशिक्षक रोनाल्ड कोमनलाई पनि आफ्नो टिमको मिडफिल्डमा गाह्रै परेको छ, किनभने यसले चाहिँदो अवसरको सिर्जना गर्न सकेको छैन । लिग चरणको अन्तिम खेलमा जोयी वर्मेनलाई ३५ मिनेटको खेलपछि बाहिर निकालिएको थियो । पछिल्लो विश्वकपमा नेदरल्यान्ड्स अन्तिम आठसम्म पुगेको थियो । टोलीको मनमा एउटा डर पनि हुनेछ, तीन वर्षअगाडिको युरोमा चेक गणतन्त्रसँग अहिलेकै स्थितिमा पराजित भएको थियो ।

प्रकाशित : असार १८, २०८१ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×