वितृष्णाको अर्को शृंखला
नेपाली कांग्रेस र एमालेबीच सहमतिको सरकार बन्ने भएको छ । ठूला दल कांग्रेस र एमाले नै मिलिसकेपछि बहुमतको सरकार बन्न सहजै छ । तर, संविधान संशोधनका लागि दुई तिहाइ चाहिन्छ, त्यो चाहिँ कसरी ल्याउँछन् ? उनीहरू बोलेजस्तो सजिलो छैन । प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने भनिरहेका छन् भने रास्वपाले पनि सरकार नछाड्ने भनेको छ । विश्वासको मत लिन कांग्रेस या एमाले नमिली सम्भव छैन । हेरौं, प्रधानमन्त्रीले चाल कसरी चाल्छन् ।
राष्ट्रिय राजनीतिमा आफ्नो दबदबा बनाउन माहिर प्रचण्डको खेलमा ब्रेक लागेको छ । जनसमर्थन नपाउँदा, पार्टी संगठन कमजोर हुँदासमेत उनलाई प्रधानमन्त्रीको कुर्सी प्यारो भयो । कार्यकर्ताको आवाज पार्टी केन्द्रीय कमिटीका पदाधिकारीको आवाजसम्म सुनेका थिएनन् । हाम्रो पार्टीको उद्देश्य के हो भन्नेसम्म भुलेका प्रचण्डले अब केही सिक्छन् कि फेरि उही राजनीति फोहोरी खेलमै व्यस्त रहन्छन्, त्यो हेर्न बाँकी छ ।
एमाले र कांग्र्रेस मिलेर सरकार नबनेको होइन, अब बन्दा के के नै हुन्छ होला भनेर जनताले सोच्नु पर्दैन । सबै राजनीतिक दलको उद्देश्य एउटै हो, सत्ता प्राप्ति । राष्ट्रप्रति इमानदार नेता नभएकाले राजनीतिक संकट बढेको छ । पावर सेयरिङको राजनीति हाबी भएको छ । गणतन्त्र आएको १७ वर्ष भयो तर देशमा परिवर्तनको आभास जनताले गर्न पाएका छैनन् । उल्टो नेताप्रति वितृष्णा बढ्दो छ ।
पुरुषोत्तम घिमिरे
जोरपाटी, काठमाडौं