कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

जादुगरलाई अरूले जादु देखाइदिएपछि

पाठक पत्र

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला सम्भवतः राजनीतिक जीवनकै कठिन मोडमा आइपुगेका छन् । आफूलाई राजनीतिको जादुगर ठान्ने प्रचण्ड यतिबेला आफैंलाई अरूले जादु देखाइदिएपछि रनभुल्लमा परेका छन् । आफू रहुन्जेल राजनीतिमा उथलपुथल भइरहने ठोकुवा गरेका प्रचण्डले पछिल्लो समयमा भएको राजनीतिक परिवर्तनलाई कुनै उथलपुथल पार्न सक्ने अवस्था देखिँदैन ।

कुनै अकल्पनीय परिवर्तन नआएसम्म उनले राजनीतिक माहोल आफ्नो पक्षमा पार्न सक्ने अवस्था देखिँदैन । कुनै न कुनै माध्यमबाट नेतृत्वमा आइरहनुपर्ने स्वभावका प्रचण्डलाई अब त्यो अवसर प्राप्त हुने कुनै संकेत देखिँदैन । आफ्नै कारण एकपछि अर्को खुड्किला ओरालो लाग्दै गरेको अवस्थामा पुगेका प्रचण्ड र माओवादी केन्द्रलाई अहिलेको राजनीतिक परिवर्तनले निकै गहिरो चोट दिएको छ ।

अबका दिनमा सायदै कुनै पनि राजनीतिक दलले उनलाई विश्वास गरेर सहयात्राको हात मिलाउने छैनन्, राजनीतिमा कुनै कुराको पनि ग्यारेन्टी गर्न भने सकिँदैन । विगतका घटनाक्रमले नै राजनीतिमा कोही पनि दीर्घ शत्रु र मित्र हुँदैनन् भन्ने पुष्टि गरिसकेका छन् ।

एमालेको समर्थनमा सरकारको नेतृत्व गरिरहेका प्रचण्ड एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि अल्पमतमा परिसकेका छन् । संसद्मा विश्वासको मत लिए पनि या प्रधानमन्त्रीको पदबाट राजीनामा दिए पनि उनले अब प्रधानमन्त्रीको पद छाड्नै पर्ने देखिन्छ । तर उनी अझै पनि आफैं प्रधानमन्त्रीको कुर्सीमा टिकिरहन सकिन्छ कि या त आफ्नो दल सरकारमा सहभागी हुने अवसरको चाँजोपाँजो मिलाउन सकिन्छ कि भन्ने ध्याउन्नमै लागिरहेका छन् ।

शान्ति प्रक्रियामार्फत संसदीय राजनीतिमा समाहित भएदेखि माओवादी पार्टीले भन्दा पनि प्रचण्डले निरन्तर सत्ताको लाभ लिइरहे, अझै पनि उनको त्यो आस जीवितै छ । तर राजनीतिमा होस् या व्यक्तिगत जीवनमा होस्, एकाध पटक छलेर सफल हुन सकिएला तर निरन्तरको झूटको खेतीले बारम्बार सफलता मिल्दैन भन्ने प्रमाण स्वयं प्रचण्ड नै बनेका छन् ।

पार्टीको नेतृत्वमा होस् या सत्ताको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा होस्, प्रचण्ड निरन्तर आफैं अग्रस्थानमा देखा पर्ने गरेका छन् । अब पार्टीको नेतृत्व गर्ने अवसर त उनले सक्रिय राजनीति नछाड्दासम्म नै जुटिरहने देखिन्छ, सत्ताको नेतृत्व भने उनका लागि यो नै अन्तिम हुन सक्छ ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

प्रकाशित : असार २१, २०८१ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×