कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

संविधान संशोधनमा सबै पार्टीले साथ दिनुपर्छ

पाठक पत्र

नयाँ सरकार गठनका लागि एमाले–कांग्रेसबीच भएको सहमतिमध्ये संविधान संशोधनलाई मुख्य बनाइएको समाचार आएका छन् । संविधानमा रहेको वर्तमान निर्वाचन प्रणालीले कुनै पनि एउटा पार्टीको एकल बहुमत नआउने र त्यसले देशलाई सधैं अस्थिर बनाइरहेको हुँदा सुधारका लागि संविधान संशोधनको कुरा उठाइएको दलील एमाले–कांग्रेसले दिएका छन् ।

यसमा विमति जनाउने ठाउँ छैन । तर माओवादीले यो कुराको तीव्र विरोध गरिसकेको छ । यो परिस्थितिमा संविधान संशोधन त्यति सहज भने छैन । त्यसमाथि राष्ट्रिय सभामा माओवादी र समाजवादीको सिट संख्या हेर्दा उनीहरूले नचाहेमा फलामको च्युरा खाए पनि राष्ट्रिय सभाबाट पारित हुन सक्दैन । नयाँ सरकार बनाउन लागेका ठूला दलले यसलाई कसरी हेरेका छन् ?

संविधान संशोधन गर्नु भनेको अहिलेको घडीमा पेन्डोरा बक्स खोल्नु जस्तै हो । सबै कुरा खुला गर्दा उही संविधान बनाउँदा ताकाको झैं माग पूरा गराउने नाममा आन्दोलन, धर्ना, जुलुसको सिलसिला सुरु हुन्छ, जसले मुलुकमा पुनः ठूलो अस्थिरता सिर्जना गर्न सक्छ । यस कुरालाई संशोधन प्रक्रियाअघि नै ख्याल गर्नुपर्छ । अन्यथा यही कुराले नयाँ सरकार विस्थापित हुन सक्छ । विषय स्पष्ट तोकेर यो–यो कुरामा मात्र संशोधनमा छलफल हुने, अरू कुरामा अहिले नहुने भन्न सकेमा मात्र जनता विश्वस्त हुन सक्छन् ।

हाम्रो संविधान परिवर्तन गर्नै नमिल्ने कठोर संविधान होइन । संविधानका प्रस्तावना र केही आधारभूत कुराबाहेक अरू विषयमा दुई तिहाइले परिवर्तन गर्न सकिनेछ भनेर संविधानमै लेखिएको छ । समानुपातिक सिटका कारण प्रतिनिधिसभामा एउटै पार्टीको एकल बहुमत आउन सकिरहेको छैन ।

उक्त सिटलाई शीर्ष नेताहरूले आफ्ना भाइ भारदार, आसेपासे, उद्योगी, व्यापारीलाई सांसद बनाउने काममा दुरुपयोग गरे । त्यसबाट पनि हामीले शिक्षा नलिने र ? यसर्थ देश र जनताको भलो हुने कुरामा सबै पार्टी एक ठाउँमा आउनुपर्छ । माओवादी र समाजवादीहरूले पनि संशोधनमा साथ दिनुपर्छ । अनि मात्र देश सफल हुन्छ, देशवासी सुखी हुन्छन् ।
गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

प्रकाशित : असार २०, २०८१ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×