२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६

तिमाङखोलाको बाढीले काठेपुल बगायो : बेंसीसहर–चामे सडक अवरुद्ध

आश गुरुङ

लमजुङ — मनाङको चामे गाउँपालिका १, तिमाङको तिमाङखोलामा ठूलो बाढी आउँदा काठेपुल बगाएको छ । मंगलबार राति पौने ८ बजेतिर पुल बगाएपछि सडक अवरुद्ध भएको मनाङ प्रशासनले जनाएको छ ।

तिमाङखोलाको बाढीले काठेपुल बगायो : बेंसीसहर–चामे सडक अवरुद्ध

मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार तिमाङखोलामा आएको ठूलो बाढीले काठेपुल बगाउँदा बेंसीसहर–चामे सडकको उक्त खण्ड अवरुद्ध बनेको छ । यस्तै, तिमाङकै तल्लो क्षेत्र तिमाङ छहराबाट गेग्रान थुप्रिँदा पक्की पुलसमेत धरापमा परेको यसअघि पनि काठे पुल बनाएर सवारी आवतजावत भइरहेको तिमाङ खोलामा ३ वर्षअघि बेलिब्रिज राखिएको थियो । २०७८ असारको भीषण बाढीले बेलिब्रिज बगाएपछि काठेपुल राखेर सवारी आवतजावत गरिएको थियो । उक्त पुल पनि अहिले बगाएपछि मनाङ सदरमुकाम चामेसहित माथिल्लो मनाङको ३ वटा स्थानीय तहसंग सडक सम्पर्क टुटेको जिल्ला समन्व्य समितिका प्रमुख चिनबहादुर घलेले बताए ।

वर्षा र बाढीपहिरो कम भएपछि तिमाङखोलामा अर्को विकल्प नहुञ्जेल पुनः काठेपुल राखिने मनाङ प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मनाङले वैकल्पिक वयवस्था नहुञ्जेल उक्त क्षेत्रमा आवतजावत नगर्न र नगराउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी लामिछानेले अहिले पनि पानी परिरहेको र थप क्षति हुन सक्ने भन्दै सतर्क अपनाउन आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय मनाङ र जिल्ला प्रशासन कार्यालय लमजुङले अविरल वर्षासँगै बाढीपहिरो भइरहेको र नदीनाला बढीरहेकाले तटीय तथा जोखिमयुक्त क्षेत्रमा नबस्न र सतर्क रहन नागरिकलाई अनुरोध गरेको छ ।

प्रकाशित : असार १८, २०८१ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×