कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

खोटाङमा प्रदेशस्तरीय महिला फुटबल

डम्बरसिं राई

खोटाङ — बुइपास्थित यलम्बर रंगशालामा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता बिहीबार सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा सुरु खेलको पहिलो दिन भएका चार खेलमा खोटाङ, ओखलढुंगा, ताप्लेजुङ र इलामले जितेका छन् । 

खोटाङमा प्रदेशस्तरीय महिला फुटबल

पहिलो खेलमा सोलुखुम्बुलाई ०-१ गोलले हराउँदै ओखलढुंगाले विजयी यात्रा सुरु गरेको छ । खेलको पहिलो हाफको पाँचौं मिनेटमा ओखलढुंगाकी सम्झना राईले गरेको गोल नै निर्णायक भयो । उक्त खेल अवधिभरको म्यान अफ दि म्याच ओखलढुंगाकी सम्झना राई घोषित भइन् । उनले नगद दुई हजारको साथमा मेडल र प्रमाणपत्र पाइन् ।

त्यस्तै इलाम र उदयपुरबीच भएको दोस्रो खेलमा ट्राइब्रेकरमा इलाम विजयी भयो । पहिलो हाफको ३२ औं मिनेटमा इलामकी मनिता तामाङले गोल गर्दै अग्रता दिलाएको खेलमा दोस्रो हाफको ३ मिनेटमै उदयपुरकी अनिशा राईले गोल फर्काएपछि बराबरी भयो । निर्धारित समयमा दुवैतर्फको १/१ गोल भएपछि खेल ट्राइब्रेकरमा इलामले २ गोल गर्दा उदयपुरका खेलाडीले कुनै पनि गोल गर्न नसकेपछि इलामले जित हात पारेको हो । ट्राइब्रेकरमा उदयपुरका खेलाडीका सबै गोल इलामकी गोलरक्षक समीक्षा राईले रोकेपछि इलाम विजयी भएको हो । इलाम र उदयपुरबीचको खेलमा इलामकी गोलरक्षक समीक्षा राई म्यान अफ दि म्याच घोषित भइन् ।

धनकुटा र ताप्लेजुङबीच भएको तेस्रो खेलमा ताप्लेजुङ विजयी भएको छ । पहिलो हाफमा दुवैतर्फ कुनै पनि गोल नभएको खेलको दोस्रो हाफको आठौं मिनेटमा ताप्लेजुङकी सुजता लिम्बुले गोल गरेकी थिइन् । उक्त खेल अवधिभरको म्यान अफ दि म्याच ताप्लेजुङकी सुजता लिम्बु घोषित भइन् ।


चौथो खेलमा खोटाङ ट्राइब्रेकरमा विजयी भएको छ । सुनसरी र खोटाङबीच भएको खेलको निर्धारित समयमा दुवैतर्फका १/१ गोलको बराबरी भएपछि ट्राइब्रेकर भएको थियो । पहिलो हाफमा खोटाङकी सजना राई गोल गर्दै टिमलाई अग्रता दिलाए पनि दोस्रो हाफमा सुनसरीकी योगिता निरौलाले १ गोल फर्काएपछि बराबरी भएको थियो । ५/५ जना खेलाडीले प्रहार गरेको ट्राइब्रेकरमा खोटाङ ४–३ गोल अन्तरले विजयी भएको हो । सुनसरी र खोटाङबीच भएको खेल अवधिभरको म्यान अफ दि म्याच खोटाङकी सजना राई घोषित भइन् ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको २० लाख रुपैयाँ सहयोगमा सञ्चालन भएको प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने जिल्ला खेलकुल विकास समिति खोटाङका अध्यक्ष रमेश राईले बताए । प्रतियोगितामा वेस्ट गोलकिपर, वेस्ट डिफेन्डर, वेस्ट मिडफिल्डर, वेस्ट फरवार्ड, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही तीन हजार र वेस्ट प्लेयर अफ द टुर्नामेन्ट र हाई स्कोररलाई जनही पाँच हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई जनही दुई हजारसहित मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न ४२ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको राईले बताए । रकम अपुग हुने भएपछि जिल्लास्थित स्थानीय तहलाई समेत सहयोग मागिएको उनले सुनाए ।

यही असार २५ गतेसम्म हुने खेल उद्घाटन कोशी प्रदेश सामाजिक विकासमन्त्री पाँचकर्ण राईले गरेका हुन् । प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका खेलाडी सहभागी भएको आयोजकले जनाएको छ ।

प्रकाशित : असार २०, २०८१ २२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×