काठमाडौँ — प्रतिनिधि सभा सदस्यहरुले अविरल वर्षाका कारण देशभर ठूलो जनधनको क्षति भएको भन्दै तत्काल राहत र उद्धार गर्न सरकारलाई आग्रह गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै प्रतिनिधिसभा सदस्यहरुले देशभर अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको भन्दै अविलम्व राहत र उद्धारमा ध्यान पुर्याउन सरकारको आग्रह गरेका हुन् । प्रतिनिधिसभा सदस्यहरूले विपद् व्यवस्थापनमा सरकारको काम प्रभावकारी हुन नसकेको बताए ।
प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले देशको ७७ वटै जिल्लामा हुने दुर्घटनालाई मध्यनजर गर्दै उद्धार कार्यलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए ।
‘वर्षा जारी भएकोले अब पनि क्षति हुने सम्भावना छ । म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, विपद् व्यवस्थापनको तयारी हुन सकेका छैनन् । त्यसकारण ७७ वटै जिल्लामा सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै सरकारले उद्धारको कार्यलाई पहिलो प्राथमिकतामा राखेर नागरिकको जिउ, धनको रक्षा गर्ने काममा सरकारको गम्भीर भूमिका रहोस्,’ उनले भने ।
प्रतिनिधिसभा सदस्य हितराज पाण्डेले बाढी, पहिरो पीडितलाई सुरक्षित आवास र राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराए । उनले पूर्वतयारीको कामलाई व्यवस्थित गर्न माग गरे । ‘बाढी र पहिरोमा परि यातायातहरु अवरुद्ध भएका छन् । कृषि कार्यहरुमा अवरोध आएको छ । विभिन्न कामहरुमा अवरोध आइपरेर जनताले दुःख पाइरहेका छन् । जनतामा त्रास परिरहेको छ । बाढी पहिरो पीडितलाई सुरक्षित आवास र राहत प्रदान गर्न म सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । पूर्वतयारीलाई व्यवस्थित गरेर जनताको दुःखमा मल्हम, पट्टी लगाउनको लागि लागिरहनका लागि म विशेष आग्रह गर्दछु,’ उनले भने ।
प्रतिनिधिसभा सदस्य डा. चन्दा कार्कीले विपद् प्रतिकार्य योजना बनाउने र अत्याधुनिक पूर्वचेतना प्रणाली स्थापना गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले उद्धार र राहतको काम तुरुन्तै चाल्न र दूरगामी योजना बनाउन बनाउन पनि सरकारसँग माग गरिन् । ‘जोखिमयुक्त राजमार्गहरुलाई सुरक्षित बनाउन र विपद् जोखिमहरुको नियन्त्रण तथा व्यवस्थापन गर्न जोखिम क्षेत्रहरुको पहिचान गरी प्रतिकार्य योजना बनाउने र अत्याधुनिक पूर्वचेतना प्रणाली स्थापना गर्नेतर्फ म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । उद्धार र राहतको काम तुरुन्तै चालोस् । दूरगामी योजना बनाउनु आवश्यक छ,’ उनको भनाइ छ ।
प्रतिनिधिसभा सदस्य छिरिङल्हामु लामा तामाङले कर्णाली राजमार्ग अवरुद्ध हुँदा बिरामीहरुलाई असर पारेको भन्दै वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरिन् । ‘कर्णाली राजमार्ग अवरुद्ध हुँदा कर्णालीका जनता पीडादायी अवस्थामा छन् । राजमार्ग र हवाईमार्ग दुवैमा समस्या आएकोले प्रत्यक्ष असर कर्णालीका बिरामीहरुलाई परिरहेको छ । रिफर गर्नुुपर्ने बिरामीलाई नेपालगञ्ज, सुर्खेतसम्म पनि ल्याउन सकिरहेको अवस्था छैन । तत्काल बिरामीहरुको जिवनरक्षाको लागि वैकल्पिक उपायहरु खोजी गर्न साथै मौसम अनुकुल हुनासाथ रेडी टु मुभको अवस्थामा रहेर आफ्नो संयन्त्र परिचालन गर्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन् ।
प्रतिनिधिसभा सदस्य अब्दुल खानले विकासका कार्यहरु दैवीप्रकोपमैत्री नहुँदा समस्या परिरहेको भन्दै विकासका कामहरु दैवीप्रकोपमैत्री बनाउनुपर्ने बताए । ‘विकासका कार्य दैवीप्रकोपमैत्री नभएको कारणले गर्दा मानव जिवनमा अत्याधिक समस्या परेका हुन्छन् । विकासका कार्यहरु गर्दा कम्तीमा दैवीप्रकोपमैत्री बनाउनुपर्छ भन्नेकुरा म राख्न चाहन्छु,’ उनले भने ।
प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँले प्रधानमन्त्री सत्ता टिकाउने ध्यानमा लागेकाले दैवीप्रकोपको काममा ध्यान पुर्याउन नसकेको बताए । ‘प्रधानमन्त्री दबाबमा हुनुहुन्छ । सरकारले दैवी प्रकोपमा गर्नुपर्ने कामहरुमा त्यति ध्यान दिन सकिरहेको छैन । सक्ने पनि छैन । यो सरकार कतै टिकिहाल्छ कि भन्ने ध्यानमा उहाँ केन्द्रित हुनुहुन्छ,’ उनले भने ।
प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले सरकारले जनतालाई राहत तथा सेवा, सुविधा दिन नसकेको बताए । उद्लेद सरकारले प्रकोपको पीडा महशुस गर्न नसकेको बताए । उनले भने, ‘सरकारलाई आफ्नो संख्यामा, बहुमतमा दैवीप्रकोप परेभन्दा बढ्ता पीडाको अनुभुति भएको छ । ऊ दैवीप्रकोपको कुनै खालको जनतालाई राहत, सेवा, सुविधा पुर्याउने कुरामा, अवरुद्ध भएको बाटो खोल्ने कुरामा, घाइतेको उपचारमा ध्यान दिन सकिरहेको छैन ।’
प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद ढकालले सरकार अल्पमतमा परेकाले छिटोभन्दा छिटो राजीनामा दिन माग गरे ।
