नारायणी किनारका बस्तीबाट ११२ जनालाई सुरक्षित स्थानमा सारियो

नारायणीको बाढीले नगरवनको झोलुङ्गे पुल बगायो

असार २३, २०८१

रमेशकुमार पौडेल

112 people have been shifted from Narayani Kinar slum to safe place

चितवन — नारायणी नदीमा आएको बाढीले गएराति नारायणगढ नगरवनको झोलुङ्गे पुल बगाएको छ । त्यसैगरी बाढी पस्ने खतरा भएका नदी किनारका बस्तीबाट  ११२ जनालाई सुरक्षित स्थानमा सारेको चितवन जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शनिबार साँझसम्म बढ्दो क्रममा रहेर खतराको तहभन्दा पनि एक दशमलव ४६ मिटरमाथि पुगेको नारायणीको जल सतह अहिले भने घट्दै गएको छ । 

भरतपुर महानगरपालिका-३ नगरवनको  नारायणीको भंगालोमा बनेको झन्डै सय मिटर लामो झोलुङ्गे पुल शनिबार राति साढे ११ बजेतिर ढलेको हो । घरहरू नै भत्के जसरी ठूलो आवाज सुनेर हेर्न आउँदा पुल ढलेको देखेको नगरवननजिक घर भएका रघु तिमिल्सिनाले बताए ।  बाढी बढ्न थालेसँगै  भरतपुर- ३ नगरवनमा नै  रहेको हाम्रो घर नामक संस्थामा रहेका १९ पुरूष, पाँच महिला र दुईजना महिला कामदार गरी २६ जनालाई नजिकै  रहेको सुरक्षित घरमा सारिएको चितवन जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

त्यसैगरी  भरतपुर महानगरपालिका-१ ७ गोब्रेनीका  १७ घरधुरीका ५४ जनालाई आफन्तका घरमा सारिएको छ ।  उक्त स्थानमा  डुङ्गाबाट उद्धार कार्य भएको थियो । भरतपुर- ३ नगरवन क्षेत्रबाटै थप  चार जनालाई पनि प्रशासनले आफन्तको घरमा सारेको छ । भरतपुर-१  देवघाट नारायणी नदी किनारमा रहेको कुटी र घरहरूबाट २८ जनालाई पनि सुरक्षित ठाउँमा सारिएको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । 

नारायणी नदीको नारायणगढनजिक बाढी मापन केन्द्ररमा शनिबार साँझ सवा सात बजेतिर जल सतह १० दशमलव ४६ मिटर पुगेको थियो । जल सतह ९ मिटरभन्दा माथि गए खतराको तह पार हुन्छ । आइतबार बिहान जल सतह घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार बिहान सवा सात बजे जल सतह  ८ दशमलव ७ मिटर रहेको छ । 

बाढीपहिरो

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully