पाल्पामा बाढीले बगाएर एक जनाको मृत्यु

वर्षाको चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु 

असार २३, २०८१

माधव अर्याल

पाल्पा — पाल्पामा अविरल वर्षासँगै आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । माथागढी गाउँपालिका–६, गोठादीको माहिलाचौरकी ६८ वर्षीय रीमासरा रानाको रहवासस्थित चिर्तुङखोलाले खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । 

कामको सिलसिलामा गोठादीको सातपोखरी गएर माहिलाचौर फर्कने क्रममा रानालाई खोलाले बगाएर बेपत्ता भएको र खोजतलास गर्ने क्रममा राति मात्र ५ सय मिटर टाढा मृत अवस्थामा भेटिएकी थिइन् ।  खोलाले बगाएको जानकारी पाएसँगै स्थानीयवासी र प्रहरीको खोजतलास गरेका थिए । 

वर्षासँगै चिसोले कठ्याङ्ग्रिएर तानसेन नगरपालिका–५, मा ४२ वर्षीय शेरबहादुर विकको मृत्यु भएको छ । मादकपदार्थ सेवन गरेर चिसोमै लडेका उनको कठ्याङ्ग्रिएर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ । तीन दिनदेखिको अविरल वर्षाले पाल्पाको बगनासकाली–६, यम्धघधाको टारीमा दुई घर पहिरोले पुरिएको वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए । सोही गाउँमा तीन घर पहिरोको जोखिममा रहेको छ । यम्घा टारीका उषा सुनार र रेशम सुनारको घर माथिबाट आएको पहिरोले पुरिएको हो । पहिरोले घर पुरिँदा घरभित्रका सामान, लत्ताकपडा, अन्नपात सबै नष्ट भएको वडाध्यक्ष अधिकारीले बताए । 

पाल्पाकै रिब्दीकोट–३, खस्यौलीका सूर्यप्रसाद नेपालको घर पहिरोका कारण जोखिममा परेको छ । तानसेन नगरपालिका–१४, अर्गलीमा मीनबहादुर कुंवरको घरछेउबाट पहिरो गएपछि जोखिममा परेको प्रहरीले जनाएको छ । अर्गलीकै मिलन थापाको घरआँगनबाट पहिरो खसेपछि जोखिममा परेको छ । पहिरोले रामपुर नगरपालिका–९, मधुकोटमा कमलबहादुर साठीघरेको गोठ पुरिँदा चार वटा पशुचौपायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।   

बाढीपहिरो

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully