पहिरोमा बेपत्ता २ जना मृत भेटिए

असार २२, २०८१

प्रकाश बराल

2 people missing in the landslide were found dead

बागलुङ — घर माथिबाट आएको पहिरोले गोठ बगाउँदा बेपत्ता भएका यहाँका दुई जनाको शव भेटिएको छ । पर्वतको फलेवास नगरपालिका १  कार्कीनेटाको टिमुरबोटका कुलप्रसाद पाध्याको घर माथिबाट आएको पहिरोले उनकै गोठ बगाएको थियो ।

गोठका भैंसी, बाख्रा बचाउन गएको बेला पाध्याका छिमेकी स्थानीय ४० वर्षीय झलकप्रसाद शर्मा र स्याङ्जाको आँधीखोला ३ निवासी ३३ वर्षीय तुलसीप्रसाद शर्मा बेपत्ता भएका थिए । 

शनिबार दिउँसो साढे ३ बजेतिर बेपत्ता भएकोमा बेलुकी ७ बजे दुवैको शव भेटिएको पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । मृतक तुलसीप्रसादको घटनास्थलदेखि १ सय मिटर तल खोल्सामा शव भेटिएको हो । झलकको भने खोलाले बगाएर आँधीखोला पुर्‍याएको अवस्थामा शव भेटिएको हो । 

दिउँसो साढे ३ बजेतिर घरदेखि १ सय मिटर माथिबाट खसेको पहिरोले गोठ सहितको संरचना बगाएको थियो । सुरुमा स्थानीयले घटनास्थलमै खोजी गरेका थिए । पछि बगेको अनुमान गरेर विभिन्न स्थानमा प्रहरी र स्थानीय परिचालन भएपछि शव भेटिएको हो । शव खोज्न स्याङ्जासम्मका प्रहरी र स्थानीय खटिएका थिए । 

उक्त घटनामा पाध्याका घरमा पालेका २ भैंसी, १ पाडो र ४ बाख्रा पनि मरेका छन् । घर पनि पहिरोको जोखिममा परेको छ । पाध्याको परिवार छिमेकीको घरमा आश्रय लिन गएका छन् । 

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully