काठमाडौँ — पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीबाट पहाडी भेग जोड्ने हुप्सेकोट गाउँपालिका-५ को पांग्रेमा गएको पहिरो एक हप्तासम्म पनि नहट्दा आवातजावतमा समस्या भएको छ । पूर्व-पश्चिम राजमार्गको कावासोती कुमसोत–पोखरी खण्डको पांग्रेमा एक हप्ता अगाडि झरेको पहिरो अझै हटेको छैन् ।
पहिरो हटाउने प्रयसा भएको भएपनि लगातारको वर्षाको कारण पहिरो खसिरहेको प्रहरीले जनाएको छ ।
यो सडक खण्ड भएर पहाडी भेगको बौदीकाली, बुलिङटार गाउँपालिकामा खाद्यान्न तथा अन्य अत्यावश्क सामग्री ढुवानी हुने गर्दछ । एक हप्तासम्म पनि पहिरो नहटेपछि स्थानीयले कालिगण्डकी करिडोर हुँदै गैंडाकोट आउनुपर्ने बाध्यता छ । बिरामी तथा अत्यावश्यक काम परेका व्यक्ति बढी प्रभावित भएको फलफूल चोक–बालुवाडाँडा–पोखरी सडकका अध्यक्ष लालचन श्रेष्ठले बताए ।
स्थानीयले पहिरो पन्छाउनका लागि सडक विभाग, निमार्ण कम्पनी र सरोकारवालालाई आग्रह गरेको भएपनि वर्षाको कारण पहिरो हटाउन नसकिएको बताउने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी बेदबहादुर पौडेलका अनुसार वर्षाको कारण पहिरो हटाउने अवस्था नरहेको र वर्षा रोकिनासाथ पहिरो हटाउन सम्बन्धित निकायसँग समन्वय गरिएको छ । यो सडक खण्ड अहिले बिस्तारको क्रममा छ । २०७४ मा सम्झौता भएर बहुवर्षे योजनाको रुपमा अगाडि बढेको यो सडकको अहिलेसम्म ९० प्रतिशत काम भएको छ । पहिरो हटाउन र मर्मतका लागि ठेकेदार कम्पनीलाई पटक पटक सम्पर्क गर्दा बेवास्ता गरेको स्थानीयले गुनासो गरेका छन् ।
