घर भत्केर पुरिएकी महिलाको उद्धार, गुल्मीका मुख्य सडक अवरुद्ध

असार २२, २०८१

गगनशिला खड्का

Rescue of a woman whose house collapsed, the main road of Gulmi was blocked

गुल्मी — गुल्मीमा घर भत्किँदा पुरिएकी एक महिलाको उद्धार गरिएको छ । रुरुक्षेत्र गाउँपालिका-३ थोर्गामा शनिबार बिहान घरमाथिबाट आएको पहिरोका कारण घर भत्किँदा पुरिएकी उजेली बिकको छिमेकीहरूले उद्धार गरेका हुन् ।

समुदायको पहलमा उनको उद्धार गरी रिडी आधारभूत अस्पताल लागिएको वडाध्यक्ष शेषनारायण पौडेलले बताए । 'घर भत्केपनि भर्‍याङ मुनि रहेकोले ठूलो चोटपटक लागेको छैन,' उनले भने, 'आन्तरिक चोटपटक थाहा नभएकोले रिडी आधारभूत अस्पताल पठाउँदै छौं ।'

पहिरोले गुल्मीको सत्यवती गाउँपालिका-३ स्थित रेशम पुलामीको घर पुरिँदा उनको परिवार विस्थापित भएको वडाध्यक्ष जितु तरामुले बताए । 

बाढी पहिरोको कारण जिल्लाबाट बाहिरिने मुख्य सडकसहित अधिकांश सडक अवरुद्ध भएका छन् । पहिरोले रुरु-४ कालिका मोडस्थित रिडि-तम्घास पक्की सडकखण्ड अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा हुँदै बुटवल काठमाडौं जाने सडक बन्द छ । 

त्यस्तै मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास-सिमलटारी खण्डका खोलाहरूमा पानीको बहाव बढ्दा सडक पूर्ण रुपमा बन्द छ । उक्त सडकमा पर्ने रोदीखोला, घमिर खोला र फूलबारी खोला बढेपछि सडक पूर्ण रुपमा बन्द भएको छ । सडक बन्द भएपछि मदाने, मालिका तथा इश्मा गाउँपालिकाबाट सदरमुकाम आउजाउ गर्ने यात्रुलाई समस्या भएको छ । 

पहिरोले जिल्लाका अधिकांश ग्रामीण क्षेत्रका सडकहरू अवरुद्ध भएको स्थानीय तहहरूले बताएका छन् । 

गगनशिला खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully