जगत नजिकै पहिरो जाँदा बेंसीसहर–चामे सडक अवरुद्ध

असार २२, २०८१

आश गुरुङ

Bensisahar-Chame road blocked due to landslide near Jagat

लमजुङ — बेंसीसहर–चामे सडकको लमजुङ खण्ड मर्स्याङ्दी गाउापालिका-४ जगत र हावाडाँडाबीचको खोल्सीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएपछि तल्लो मनाङतर्फ आवतजावत रोकिएको छ । तिमाङमा केही दिनअघि बाढीपहिरोले पुल बगाएपछि चामेसहित माथिल्लो मनाङमा सवारीसाधन आवतजावत हुन सकेको छैन ।

अविरल वर्षासँगै आएको पहिरोले बाटो अवरुद्ध बनाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईंले शनिबार बिहानपख पहिरो गएको र यसबारे जानकारी शनिबार बिहानमात्रै प्राप्त भएको बताए । माथिबाट आएको पहिरो खुलाउन प्रहरी टोली खटिएको उनले बताए ।

प्रहरीका अनुसार खोल्सीमा माथिको पहराबाट ढुंगासहितको पहिरो झरेको छ । राती करिब ३–४ बजेतिर पहिरो गएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । मर्स्याङ्दी गाउँपालिका-४ का वडाअध्यक्ष बलबहादुर गुरुङले हावाडाँडा र जगतबीचको सडकमा ढुंगासहितको पहिरो खसेर सडक अवरुद्ध भएको बताए । उनले तल्लो क्षेत्रबाट सवारी आवागमन समेत नभएको बताए । ‘रातिदेखि पानी परिरहेको छ । तल बेंसीसहरतिरबाट माथितिर गाडी आएको छैन । माथिबाट पनि तल गएको छैन । बाढीपहिरोको जोखिम छ,’ उनले भने ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully