पाल्पाका सिद्धार्थ राजमार्ग र तानसेन–रिडी सडक पहिरोले अवरुद्ध

मालमुलमा घर, मोटरसाइकल र कालीमाटीमा दुई जिपमा पहिरोले क्षति 

असार २२, २०८१

माधव अर्याल

Palpa's Siddharth highway and Tansen-Ridy road blocked by landslides

पाल्पा — शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा पाल्पाका सिद्धार्थ राजमार्ग र तानसेन–रिडी सडक अवरुद्ध भएको छ । यस्तै, कालीगण्डकी करिडोर, आर्यभन्ज्याङ–रामपुर सडक पनि बन्द भएको प्रहरीले जनाएको छ । 

सिद्धार्थ राजमार्गमा तानसेन–बुटवल खण्डको बर्तुङ र कालीमाटी क्षेत्रमा पहिरो खसेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत डुम्रे र चर्चरेको बिच कालीमाटीमा दुई वटा पिकअप जिप पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । वर्षा रोकिएपछि उद्दार गरिएको छ । यहाँ माथिल्लो भेगबाट कालोमाटोसहितको लेदो आउने गर्छ । हरेक वर्ष यही स्थानमा वर्षायाममा लेदो खसे पनि नियन्त्रण नहुँदा यात्रुले सास्ती खेप्नु परेको छ । राजमार्गकै अगाहाखोला र पिपलडाँडाको बीच सीता पहाडमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । राम्दी क्षेत्र पनि पनि पहिरोले सडक अवरुद्ध भएको छ । 

रिब्दीकोट गाउँपालिकाको खस्यौली मालमुलमा पहिरोसँगै खसेको ढुंगाले लाग्दा घरमा क्षति पुगेको छ । त्यस्तै पार्किङ गरी राखेको दुई वटा मोटरसाइकलमासमेत क्षति पुगेको प्रहरीले जनाएको छ । तानसेन–रिडी सडक खण्डको मालमुल, अर्गली, लघुवा, जोर्ते लगायतका स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । आर्यभन्ज्याङ रामपुर सडकको विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर अन्तर्गत सहदीखोला, भोअर लगायतका स्थानमा पहिरो खसेको छ । 

सडकमा खसेको हटाउने सडक विभाग र निजी क्षेत्रका डोजर परिचालन गरिएको प्रहरीले जनाएको छ । रातिदेखि नै सडक अवरुद्ध भएपछि पहाडी जिल्लाबाट बुटवल जाने र बुटवलबाट पाल्पा लगायत पहाडी जिल्ला आउने सवारीसाधन बिच बाटोमै अलपत्र परेको छ । 

वर्षा नरोकिएकाले पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । कालीमाटी, चर्चरे र राम्दी क्षेत्रका सडक एकतर्फी खुलाउने प्रयास भएको प्रहरीले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले पाल्पाको तानसेन लगायत आसपासका क्षेत्रमा ठूलो पानी परेसँगै तिनाउ, दोभान, झुम्सा, निस्दी, अरुणखोलामा जलसतह सतर्कता तह पारेको जनाएको छ । 

पाल्पा लगायतका आसपासका क्षेत्रमा शुक्रबार बेलुकीदेखि नै ठूलो पानी परेको छ । तिनाउ नदी बुटवल जलमापन केन्द्रले पनि शनिबार बिहान जलमापन गर्दा जलसतह पारेको र बढ्दो क्रम रहेकाले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको जनाएको हो । पाल्पा लगायत आसपासका क्षेत्रमा शनिबार बिहान पनि पानी परिरहेको छ । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully