पहिरोले शनिबार बिहानैदेखि राप्ती राजमार्ग अवरुद्ध 

असार २२, २०८१

विप्लव महर्जन

Landslide blocked Rapti highway since Saturday morning

सल्यान — अविरल वर्षाका कारण कपुरकोट बजार नजिकै चोरखोलामा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको छ । 

सडक अवरुद्ध हुँदा दर्जनौं गाडीसहित यात्रुहरू अलपत्र परेका छन् । कतिपय त हिँडेर आउजाउ गर्न बाध्य भएका छन् ।अहिले डोजर प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको र सुक्षाकर्मीको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए । 

सडकमा ठूलाठूला ढुंगा खसेकाले पहिरो हटाउन केही समय लाग्ने उनले जानकारी गराए । ‘बर्सातका कारण चोरखोलामा पहिरो जाँदा दैनिकजसो आधा घन्टादेखि एक घन्टासम्म राप्ती राजमार्ग अवरुद्ध हुँदै आएको छ । सडक निर्माणमा स्काभेटर, डोजर खटिएकाले तत्काल पहिरो हटाउने काम भइरहेको छ विगतमा जस्तो यात्रुले लामो समय सडकमै बस्नु पर्ने अवस्था भने छैन,’ उनले भने । राप्ती राजमार्ग मात्र नभइ जिल्लाका ग्रामीण सडक पनि अवरुद्ध भएका उनको भनाइ छ । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully