खोटाङ — जिल्लाका अधिकांश सडक अवरुद्ध भएका छन् । लगातारको झरीले गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग, जिल्ला सडकहरूमा यातायात अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार जिल्लाका अधिकांश सडकहरू तथा सगरमाथा लोकमार्ग पनि अवरुद्ध भएको छ ।
यसबाहेक गोलन्जोर र फिक्कल गाउँपालिकामा यातायात अवरुद्ध हुँदा त्यसको प्रभाव खोटाङमा पनि परेको छ । यसका साथै उदयपुरको घुर्मीको चनौतीमा सडक अवरुद्ध हुँदा खोटाङबाट जाने र आउने यात्रु अलपत्र परेको डीएसपी खड्काले सुनाए ।
दिक्तेलको तालखर्कस्थित दिक्तेल–खार्मी, पाथेका सडकको अवरोध भने स्थानीय र प्रहरीले हटाएको डीएसपी खड्काको भनाइ छ ।
