अपारदर्शी र अप्राकृतिक गठबन्धन सामना गर्छौं : सांसद सापकोटा

'डुंगा प्वाल पर्‍यो भनेर भागी हिँड्ने प्रवृतिलाई स्पष्ट पार्न चाहन्छौं कि संविधानमा जे व्यवस्था छ, संवैधानिक अधिकारलाई प्रधानमन्त्री र सरकारमा भाएका घटकहरूले सामना गर्छौं, लोकतन्त्रको अभ्यास गर्न चाहन्छौं '

असार २३, २०८१

कान्तिपुर संवाददाता

We face an opaque and unnatural coalition: MP Sapkota

काठमाडौँ — माओवादी केन्द्रका सांसद माधव सापकोटाले कांग्रेस र एमालेबीचमा सत्ता गठबन्धन गर्ने सहमति अपारदर्शी भएको बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको व्यवस्थाअनुसार अगाडि बढ्ने पनि बताए । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा माओवादी सांसद सापकोटाले कांग्रेस र एमाले गठबन्धन अपारदर्शी र अप्राकृतिक भएकाले राजनीतिक स्थिरता नदिने बताए ।

'यो गठबन्धन निर्माणका पछाडि स्थिरता दिने कुराको कुनै गुञ्जायस देखिँदैन । उहाँहरूले यति अपारदर्शी सहमति गर्नुभएको भन्ने हाम्रो निष्कर्ष छ, आज यतिबेला यो संसद्मा छलफल गरिरहँदा समेत दुईवटा दलकाबीचमा के कस्ता सम्झौता भए, त्यो आधिकारीक रूपमा बाहिर आएको छैन,' कांग्रेस-एमालेबीचको सम्झौताबारे सामाजिक संजालमा आएका कुरालाई पत्याउने हो भन्दै सापकोटाले प्रश्न गरे, 'मध्यरातमा अमूक व्यक्तिका घरमा गर्नुभएको सम्झौताभित्र के छ ? हामीले हेर्न पाएका छैनौं । यतिका दिनसम्म त्यसलाई गुपचुप राख्ने कुरा के भयले काम गरिराखेको छ ? सबैभन्दा अपारदर्शिता, अनैतिकता त्यहाँबाट सुरु भएको छ । दिनभरी प्रधानमन्त्रीसँग बसेर 'नर्क गएपनि स्वर्ग गएपनि सँगै जाउँला' भन्ने, ललितपुरमा ड्राफ्ट गर्नका लागि आफ्ना नेतालाई खटाउने यो कहाँको नैतिकता हो ? भर्खरै सत्तापक्षको कुर्सी छोडेर प्रतिपक्षको कुर्सीमा पुग्नुभएका प्रिय कमरेडहरू यहि हो नैतिकता ?' अमूक व्यक्तिहरूका घरमा रातारात सरकारविरुद्ध षडयन्त्र गरिएको उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले कानुन, संविधान र जनताको मागबाट पनि नयाँ गठबन्धन गर्ने प्राकृतिक नभएको सापकोटाले बताए । उनले भने, 'त्यो गठबन्धन कतैतिरबाट पनि प्राकृतिक देखिँदैन, यो अप्राकृतिक गठबन्धनको सामना गरेरै जाने हो ।'

प्रधानमन्त्री दाहाल भारत भ्रमणबाट फर्किएपछि राष्ट्रिय सहमतिको सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव राखेको एमालेको दाबीमा सत्यता नभएको सापकोटाले बताए । उनले विषयान्तर गर्नका लागि एमालेले उक्त कुरा भनिरहेको दाबी गरेका थिए ।

'प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा जानुभएको सबैलाई थाहा छ । प्रधानमन्त्री नेपाल फर्किएर कसैलाई केही प्रस्ताव गरिएको छैन, बुढानीलकण्ठलाई सोधे हुन्छ,' उनले भने, 'घटनाक्रमलाई विषयान्तर गर्ने, झन् बढी जटिलता सिर्जना गर्ने ?' 

एमाले र कांग्रेसबीचको गठबन्धनको सहमतिपत्रमा के रहेको छ भन्ने कुरा सार्वजनिक नगरिएकोमा सापकोटाले आपत्ति जनाए । आगामी गठबन्धनले राजनीतिक स्थिरता दिने कुरामा शंका रहेको पनि उनको भनाइ थियो । 'ठूलो दललाई सरकारको नेतृत्व गर्ने सहमति त उहाँहरूले गर्नुभएको छैन, चर्चा र मिडियामा आएका कुराहरूलाई नै मान्ने हो भने । दोस्रो पार्टीले नै नेतृत्व गर्ने कुरा गर्नुभएको छ । यसरी हेर्दा उहाँहरूले बाँकी रहेको सबै कार्यकाल एउटै पार्टीले नेतृत्व गर्ने पनि भन्नुभएको छैन । त्यसलाई फैरि आधा-आधा भन्नुभएको छ, यै हो स्थिरता ?,' सापकोटाले प्रश्न गरे ।

नक्कली भुटानी शरणार्थी प्रकरणका फाइल खोल्न थालेपछि सरकार ढाल्ने षडयन्त्र भएको सांसद सापकोटाको दाबी थियो । 'प्रधानमन्त्री गृहमन्त्रीसहित पारदर्शिता कायम गर्नका निमित्त भुटानी शरणार्थीसँग सम्बन्धित रहेको फाइल फेरि खोल्ने भनेर अगाडि बढ्नुभयो ? बेचन झाको गिरफ्तारी र त्यसबाट प्राप्त भएका तथ्य प्रमाणहरू बिस्तारै सार्वजनिक हुँदै गए । रोष्ट्रमबाटै गृहअमन्त्रीले पनि भन्नुभयो, सार्वजनिक रूपमा प्रधानमन्त्रीले बोल्नुभयो बेचन झाका प्रमाण आएपछि तपाईहरू बेचैन हुँदै डुंगा प्वाल परेको देख्नुभयो ?,' एमालेलाई सापकोटाको प्रश्न थियो, '५० को दशकमा तपाईंहरू नै भन्ने गर्नुहुन्थ्यो कमल थापाहरूलाई डुंगा प्वाल पारेर भाग्नेहरू मुसा प्रवृतिका हुन् भनेर । डुंगा प्वाल पर्ने बित्तिकै मुसा भाग्छ बहादुरहरूले त सामना गर्छन् साहसीहरूले समाना गर्ने हो ।'

एमाले सांसद योगेश भट्टराईले प्रधानमन्त्री दाहालले तत्काल नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने अभिव्यक्ति दिएपछि माओवादीका सांसद सापकोटाले जवाफ फर्काएका थिए । 'नैतिकताको पाठ सिकाएर गिरिबन्धुको कालो धब्बाले धपक्कै छोपिएर, बेचन झाले बेचैन बनाएर भागदौडमा चलेकाहरूले हामीलाई नैतिकताको पाठ सिकाउने ? गिरिबन्धु टी इस्टेटको कालोधब्बा कसरी पलाख्ने ? बेचन झाबाट बेचैन हुनुभएको चैन पहिला फर्काउनुस् न, त्यसपछि कुरा गरौंला ।'

संविधानको धारा १०० (२)ले राजीनामाको व्यवस्था नगरेको सापकोटाको दाबी थियो । प्रधानमन्त्रीको दल विभाजित भएमा वा सरकारमा सहभागी दलले विश्वासको मत फिर्ता लिएमा विश्वासको मतका लागि प्रतिनिधिसभामा प्रस्ताव राख्नुपर्ने सापकोटाको भनाइ थियो । 'संविधानको धारा १००(२) मा राजीनामा दिनुपर्ने लेखिएको छैन । डुंगा प्वाल पर्‍यो भनेर भागी हिँड्ने प्रवृतिलाई स्पष्ट पार्न चाहन्छौं कि संविधानमा जे व्यवस्था छ, संवैधानिक अधिकारलाई प्रधानमन्त्री र सरकारमा भाएका घटकहरूले सामना गर्छौं, लोकतन्त्रको अभ्यास गर्न चाहन्छौं ।'

संविधानको धारा ७६ (२)को प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछन् भन्ने व्यवस्था रहेको पनि सापकोटाले दाबी गरे । दुईवटा दल मिलेपछि जे पनि हुन्छ भन्ने भ्रम नपाल्न सापकोटाले कांग्रेस र एमालेलाई आग्रह गरेका थिए । 

कान्तिपुर

Link copied successfully