कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

जाति र भूगोलबाट खेलाडीको क्षमता पहिचान गरिँदै

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली खेलकुद  इतिहासमा एन्थ्रोपोमेट्रिक (मानवशास्त्रीय) अनुसन्धान सुरु गरेको छ ।

जाति र भूगोलबाट खेलाडीको क्षमता पहिचान गरिँदै

राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अवधारणाअनुरुप अन्य मुलकुमा झै नेपालमा पनि खेलकुद विज्ञानमा आधारित रहेर ग्रासरुटदेखि नै खेलाडीको पहिचान गरी राष्ट्रलाई योगदान दिने खेलाडीको पहिचान गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले पहिलो पटक एन्थ्रोपोमेट्रिक अनुसन्धान सुरुआत गरिएको राखेपले जनाएको छ ।

विभिन्न जातजाति र भौगोलिक अवस्थाअनुसार खेलाडीको क्षमता पहिचान गर्न तथा १३ देखि १५ वर्ष उमेर समूहका युवाको शारीरिक बनोटको पहिचान गरी उनीहरूलाई उपयुक्त हुने खेल छनोटका लागि सहजीकरण गर्ने उद्देश्यले एन्थ्रोपो मेट्रिक अनुसन्धान गरिएको हो ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशको विभिन्न जिल्लामा अनुसन्धान गरिएको थियो ।

राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक कृष्ण तिमिल्सिना, खेलविज्ञ कुमारी हीरा पन्त र सहायक प्रथम शिवराज भट्टको टोलीले स्थानीयसँग समन्वय गरी अनुसन्धान गरेको हो ।

सुदूरपश्चिमको कञ्चनपुर र डडेल्धुरा, कर्णालीको सुर्खेत र सल्यान, लुम्बिनीको दाङ र बाँके, गण्डकीको कास्की र बाग्लुङ, मधेशको धनुषा र सिरहा, कोशीको सुनसरी र सोलुखुम्बु तथा वाग्मतीको काठमाडौं र चितवनमा अनुसन्धान गरिएको थियो ।

अनुसन्धानमा थारु, मगर, ब्रहमण, क्षेत्री, थकाली, गुरुङ, तामाङ, दलित समुदायका १३ देखि १५ वर्ष उमेर समूहका ८ सय ५० बालबालिका समावेश थिए ।

सोही टोलीले सो अनुसन्धानका क्रममा सात प्रदेशका विभिन्न जिल्लामा परम्परागत खेलको अनुसन्धान पनि गरेको थियो । कुन स्थानमा कुन/कुन परम्परागत खेल खेलिँदै आएको छ भन्ने तथ्यांक संकलन गरी सो क्षेत्रमा उक्त खेलको विकास र विस्तार गर्दै खेलको जगेर्ना गर्ने उद्देश्यले परम्परागत खेलको पनि अनुसन्धान गरिएको निर्देशक तिमल्सिनाले बताए ।

यसका लागि २५ देखि ८५ वर्ष उमेर समूह, लामो समयसम्म खेलकुदमा सक्रिय, विश्वविद्यालयका प्राध्यापक तथा पदाधिकारीको समूहबाट परम्परागत खेलका विषयमा जानकारी लिइएको थियो ।

टोलीले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई बिहीबार प्रतिवेदन बुझाएको छ । सो अवसरमा सदस्य–सचिव घिसिङले यो अनुसन्धानले नेपाली खेलकुदमा एउटा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै राखेपले कार्य योजना तयार गरी अगाडि बढ्ने बताए ।

‘नेपाली खेलकुदमा यो एउटा विल्कुलै नयाँ अभ्यास हो । हाम्रो पहिलो प्रयासले नेपाली खेलकुदमा नयाँ आयाम थप्ने विश्वास छ । आशा छ क्षमता भएर पनि कसैको नजरमा नपरेका क्षमतावान खेलाडी अगाडि आउने छन् ।’

सदस्य–सचिवले नेपालमा खेलिने परम्परागत खेलको पनि तथ्यांक संकलन गर्नु महत्त्वपूर्ण भएको बताउँदै यसले नेपालमा खेलिने मौलिक खेलहरु के–के हुन्, कहाँ कहाँ खेलिन्छन् र कुन अवस्थामा छन् भन्ने जान्न र जगेर्ना गर्न जरुरी भएको बताए ।


प्रकाशित : असार २०, २०८१ २२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×